अमेरिकी राष्ट्रपतीय चुनावअघि आरोप प्रत्यारोपले भरिएको ह्यारिस-ट्रम्पको पहिलो प्रत्यक्ष बहस

ट्रम्प-ह्यारिस

तस्बिर स्रोत, Reuters

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवारहरू वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पहिलो पटक आमनेसामने बहस गर्दै मुख्य मुद्दामा चर्को रूपमा भिडेका छन्।

संयमित रूपमा सुरु भएर नीतिगत विषयमा बहस अगाडि बढे पनि तत्कालै उनीहरू राजनीतिक विगतमा पुग्दै व्यक्तिगत आरोप प्रत्यारोपमा मोडिएका थिए। त्यस क्रममा ट्रम्प बढ्ता आक्रोशित देखिएका थिए।

अमेरिकी टेलिभिजन च्यानल एबीसी न्यूजमा प्रत्यक्ष प्रसारण गरिएको उक्त बहसको पहिलो आधा घण्टामा दुवै उम्मेदवारले बारम्बार एक अर्कालाई झुटो बोल्ने व्यक्ति भनेका थिए।

प्रस्तोताहरूले ट्रम्पका अभिव्यक्तिको तथ्य जाँच गरिरहँदा उनले आफ्नो बचाउमा निकै समय खर्चिएका थिए।

ह्यारिसले ट्रम्पलाई उक्साउने गरी उनका र्‍यालीहरूमा भिडको प्रकृति अर्थात् कार्यक्रम नसकिँदै भिड बाहिरिने गरेको कुरा उठाइन् भने ट्रम्पले ह्यारिसको डेमोक्र्याटिक पार्टीले अमेरिकालाई भेनेजुएला बनाउन खोजेको आरोप लगाए।

ट्रम्पका र्‍यालीबाट मानिसहरू निराश भएर छिट्टै बाहिरिने गरेको भन्दै ह्यारिसले आलोचना गरेकी थिइन् भने बाइडन प्रशासनको अफगानिस्तानबाट बाहिरिने निर्णयलाई लिएर ट्रम्पले उनीमाथि हमला गरेका थिए।

मुख्य मुद्दामा कसले के भने?

भिडिओ क्याप्शन सुरु हुँदैछ, नोभेम्बरको अमेरिकी निर्वाचनअघि कमला ह्यारिस र डोनल्ड ट्रम्प पहिलो पटक आमनेसामने

राष्ट्रपतीय उम्मेदवारहरूले अमेरिकी अर्थतन्त्रबाट बहस सुरु गरेका थिए जस क्रममा पूर्वराष्ट्रपति ट्रम्पले अन्य देशहरूमाथि कर लगाउने कुरामा जोड दिए भने उपराष्ट्रपति ह्यारिसले लघु उद्यमहरूबारे कुरा गरिन्।

गर्भपतन अधिकारका विषयमा ट्रम्पले यस मुद्दालाई पुनः राज्यहरूसम्म ल्याउन सहयोग गरेको बताए भने ह्यारिसले गर्भपतनसम्बन्धी प्रतिबन्धहरूले महिलाको महत्त्वपूर्ण स्याहारको विषयलाई नकार्ने बताइन्।

ट्रम्पले बारम्बार आप्रवासन सङ्कटको कुरा उठाइरहँदा ह्यारिसले दर्शकहरूलाई पूर्वराष्ट्रपतिमाथि अदालतमा चलिरहेका कैयौँ मुद्दाबारे स्मरण गराइरहिन्।

ट्रम्पले ह्यारिसलाई "इतिहासकै सबैभन्दा खराब उपराष्ट्रपति" भन्दै युक्रेनमा रुसी अतिक्रमण हुनुअघि वार्ता गर्न गएको तर युद्ध रोक्न असफल भएको आरोप लगाए।

युक्रेनले रुसमाथि जित हासिल गरेको हेर्न चाहनुहुन्छ भनेर ट्रम्पलाई सोधिएको प्रश्नमा उनले आफूले "युद्धको अन्त्य चाहेको" जबाफ दिए।

इजरेलका विषयमा ट्रम्पले यदि आफू राष्ट्रपति भएका भए र ह्यारिसले ''दुई राज्यको समाधान'' र युद्ध अन्त्य गर्न आह्वान गरेको भए युद्ध नै हुँदैनथ्यो भने।

अमेरिकी संसद् भवनमा भएको ६ ज्यानुअरीको दङ्गाका बारेमा सोधिँदा ट्रम्पले त्यसबारे आत्मालोचना गर्न अस्वीकार गरे भने ह्यारिसले उक्त दिनको अव्यवस्थालाई सम्झँदै अमेरिकालाई ''पाना पल्टाउन'' आह्वान गरिन्।

९० मिनेटको बहसमा अरू के भए?

ट्रम्प-ह्यारिस

तस्बिर स्रोत, Reuters

ह्यारिसले टेलिभिजन हेरिरहेका करोडौँ मानिसहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै अमेरिकीहरूबारे आफूले विशेष ध्यान दिने तर्क बारम्बार प्रस्तुत गरिन्। त्यसक्रममा उनले ट्रम्पले धनीहरूलाई मात्र हेरिरहेको आरोप लगाइन्।

ट्रम्पले बारम्बार नीतिगत प्रश्नलाई आप्रवासनसँग जोड्दै अमेरिका ओइरिने आप्रवासीहरूले अमेरिकाका कुकुरको मासु खाने गरेका कथा जोडेका थिए।

विदेश नीतिका विषयमा ह्यारिसले विश्व नेताहरूले ट्रम्पलाई हास्य पात्र बनाएको र ट्रम्पले तानाशाहीहरूलाई मात्र प्रभावित पार्न खोजेको आरोप लगाइन्।

ट्रम्पले भने पछिल्ला केही वर्षका भूराजनीतिक सङ्कट आफू नेतृत्वमा भएको भए नहुने थियो भने।

ट्रम्प-ह्यारिस

तस्बिर स्रोत, Reuters

ह्यारिसले इजरेलको प्रतिरक्षाको अधिकारलाई आफूले जहिल्यै समर्थन गर्ने तर प्यालेस्टिनीहरूसँग सुरक्षित भएर आत्मसम्मानसाथ बाँच्ने हक रहेको बताइन्।

ट्रम्पले भने ह्यारिसलाई इजरेललाई घृणा गर्ने गरेको आरोप लगाए।

९० मिनेट चलेको बहस अन्त्य गर्ने बेला ह्यारिसले आफू भविष्यप्रति केन्द्रित रहेको बताइन्।

त्यसको जबाफ दिने क्रममा ट्रम्पले यदि उनीसँग योजना भएको भए उनले उपराष्ट्रपतिकै रूपमा फत्ते गर्नुपर्ने बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।