सुनिता विलियम्स: अन्तरिक्षमा बिताएको नौ महिनाले पृथ्वीबारे मलाई के सिकायो

अन्तरिक्षयात्री सुनिता विलियम्स विभिन्न तार र स्क्रीन वरिपरि अन्तरिक्षमा तैरिरहेकी छन्

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, सुनिता विलियम्सले उनको नासाको २७ वर्ष लामो क रिअरमा ६२ घण्टा ६ मिनेट स्पेशवाक गरिन् जुन अहिलेसम्मको महिला अन्तरिक्षयात्रीले गरेको स्पेशवाकमा सबभन्दा धेरै हो
    • Author, दिव्या उपाल
    • Role, बीबीसी न्यूज इन्डिया
  • पढ्ने समय: ५ मिनेट

"जब तपाईँ माथि अन्तरिक्षबाट तल पृथ्वीतिर हेर्नुहुन्छ वादविवाद र लडाइँ झगडा जस्ता कार्य विचित्र लाग्छ।"

नासाको करिअरमा तीन दशकजति बिताएकी अन्तरिक्षयात्री सुनिता "सुनि" विलियम्समा अन्तरिक्षबाट देखिने दृश्यले गहिरो छाप पारेको छ। त्यसैका आधारमा उनले मानवता, प्रविधि र आफ्नो घरबारे विशेष दृष्टिकोण बनाएकी छन्।

अहिले ६० वर्षकी सुनिताले इन्टरन्याश्नल स्पेस स्टेशनमा विभिन्न मिसनमा ६०० दिनभन्दा बढी समय बिताएकी छन् र सबभन्दा बढी 'स्पेशवाक' गर्ने महिलाको कीर्तिमान बनाएकी छन्।

उनी भन्छिन्, "अन्तरिक्षबाट हेर्दा देशदेशबीचका सीमा र द्वन्द्वहरू महत्त्वहीन लाग्छन्।"

"जब माथिबाट हाम्रो ग्रह पृथ्वीतर्फ हेर्छौँ तब महसुस हुन्छ कि हामी सबजना एउटै जमिनमा एक साथ छौँ," उनले भनिन् । "पानी उही, हावा उही र उही जमिन।"

त्यसले समानुभुतिको महत्वलाई बलियो बनाउने विलियम्स बताउँछिन्।

"शायद हामीले एक क्षण लिएर कुनै प्राकृतिक स्थानमा जानुपर्छ र एक अर्काको कुरा सुन्नुपर्छ किनभने शायद हरेक व्यक्तिको कुनै न कुनै असल दृष्टिकोण हुन्छ जस्तो मलाई लाग्छ।"

लम्बिएको अन्तरिक्ष मिसन

अन्तर्राष्ट्रिय स्पेश स्टेशनको हार्मोनी मोड्युल र बोइङको स्टारलाइनर यानबीचको भेस्टिब्युल भित्र फोटो खिच्नका लागि पोज दिएका बुच विल्मोर र सुनि विलियम्स

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, विलियम्सले अप्रत्यासित रूपमा अन्तरिक्षमा आफ्ना सहकर्मी बुच विलमोरसित नौ महिना बिताउनु परेको थियो

नासामा २७ वर्ष काम गरेपछि गत डिसेम्बरमा अवकाश लिएकी उनले आफूलाई अन्तरिक्ष मिसनहरू मात्र नभएर आफ्ना अद्भुत सहकर्मीको पनि विशेष याद आउने गरेको बताइन्।

"म ती अद्भुत मानिसहरूबारे सोच्ने गर्छु जसले मलाई मार्गदर्शन गरेका छन्, मेन्टरशिप गरेका छन् र मलाई त्यो स्थितिसम्म पुर्‍याएका छन्," उनी भन्छिन्।

उनको अन्तिम अन्तरिक्ष उडान केही दिनका लागि तय गरिएको थियो तर बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आएको प्राविधिक समस्याका कारण नौ महिनाभन्दा बढी समयसम्म उनी आईएसएसमा बस्नु पर्‍यो।

उनले त्यसलाई सहजतासाथ लिइन् र भनिन् उनलाई अन्तरिक्षमा बस्न मन पर्छ।

"मलाई त्यहाँ आफूलाई असाध्यै मन पर्ने धेरै कुरा गर्ने मौका मिल्यो, झ्यालबाट बाहिर हेरेर जर्नल लेख्ने, विभिन्न वैज्ञानिक परीक्षणहरू गर्ने। यो एउटा असाध्यै राम्रो प्रयोगशाला हो ।"

उनको दिन वैज्ञानिक प्रयोग रोबोटिक आर्म तालिम उपकरण मरम्मत र ग्राउन्ड टीमसँग दैनिक कन्फरेन्स र दैनिक व्यायामले भरिएको हुन्थ्यो।

"हरेक दिन फरक हुन्छ र त्यसले असाध्यै रमाइलो पनि बनाउँछ," उनी भन्छिन्।

तर भावनात्मक रूपमा लामो समय त्यहाँ बस्नु सजिलो थिएन। उनले आफ्नो परिवार र आफ्नी ८० वर्षकी आमासँग फर्केपछि गर्ने विभिन्न योजना बनाएकी थिइन्।

"मलाई समय नष्ट भइरहेको जस्तो पनि लागेको थियो किनभने म उनीहरूसँग थिइनँ र म खासगरी आफ्ना भतिज भतिजीसँग धेरै काम गर्न पाइरहेकी थिइनँ," उनले भनिन्।

तर उनले परिवारको समर्थनले उनलाई बलियो बनाइरहेको बताइन्।

"उनीहरूले मलाई भने, 'जाऊ माथि, रमाइलो गर हामीलाई पनि आफ्नो साथमा लैजाऊ र कुनै समय सुरक्षित अन्तरिक्ष यानबाट फर्केर आऊ।' त्यसले मलाई निकै आश्वस्त बनायो।

अन्तरिक्ष यात्री सुनिता विलियम्सले रातो स्वेटर लगाएकी छन् र दुवै हातमा उपकरण लिएकी उनी एक यानभित्र बसेकी हुन्

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, नासाका प्रमुख ज्यारेड आइज्याकमनले विलियम्सको अन्तरिक्ष अन्वेषणका प्रतिको समर्पणका लागि धन्यवाद दिए र उनलाई मानव अन्तरिक्ष उडानमा "एक मार्गदशक" भने।

परिवर्तन भइरहेको भारतमा 'घर फर्किनु'

भारतको सडकबीचमा राखिएको अन्तरिक्षयात्री नीलो अन्तरिक्ष पोशाकसहितको सुनिता विलियम्सको भित्ते चित्र

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकाको ओहायोमा विलियम्स भारतीय बुवा र स्लोभेनिअन आमाबाटजन्मिएकी हुन् र उनले आफ्नो भारतीय विरासतलाई गहिरो महत्त्व दिन्छिन्

भारत साइनो रहेकी विलियम्स हालै भारत भ्रमणमा आएकी थिइन्। उनी भारत नआएको एक दशकभन्दा लामो समय भइसकेको थियो। यस पटक उनी केरला लिटरेचर फेस्टिभल कोझीकोडेमा सहभागी हुन आएकी थिइन्।

दिल्ली र केरला भ्रमणका बेला उनले विद्यार्थी वैज्ञानिकहरू तथा फेस्टिभलका स्रोताहरूलाई भेटिन् र उनको करिअरमा आइलागेको अप्रत्यासित अन्तिम मोडबारे कुराकानी गरिन्।

भारतको हरेक यात्रा पहिलेको यात्रा भन्दा निकै भिन्न महसुस हुने गरेको उनले बताइन्।

यो पटक भारतको विज्ञान र अन्वेषणबारे बढ्दो महत्त्वाकाङ्क्षाले प्रभावित गरेको पनि उनले बताइन्।

उनी भन्छिन्, "मानिसहरू प्रविधिको क्षेत्रमा सबै प्रकारको चुनौतीको सामना गर्न तयार छन् र त्यसमा अन्तरिक्ष क्षेत्र पनि सामेल छ।"

भारतसँग उनको सम्बन्ध अत्यन्त व्यक्तिगत हो- उनको पैतृक गाउँ झुलासन, गुजरातका स्थानीय बासिन्दाले सुनिताको उपलब्धिलाई आफ्नै जस्तो गरी मनाउँदै आएका छन्।

उनले भनिन्, " यसले मलाई निकै भावुक बनाउँछ। म मेरा पिता र परिवारका साथ गाउँ गएकी छु। जसले गर्दा यो गाउँ मेरो हृदयको नजिक छ। मैले त्यहाँका मानिस चिनेकी छु।"

एआई, अन्वेषण र भारतको क्षमता

अन्तरिक्षयात्री सुनिता विलियम्सले हेडसेट लगाएर एउटा पारदर्शी प्लास्टिक ट्यूब समातेकी छन् र ताल र स्क्रीनले घेरिएर अन्तरिक्षयानमा छन्

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, मार्च २०२५ मा सुनिता पृथ्वीमा फिर्ता भएकी हुन्

विलियम्स एआईलाई विज्ञान र अन्तरिक्ष मिसनमा एक शक्तिशाली तर सीमा सहितको औजारका रूपमा लिन्छिन् ।

"एआईले तथ्याङ्कलाई निकै द्रुत गतिमा केलाउन र सूचना पत्ता लगाउन सक्छ" उनी भन्छिन्, "रोबोटले दोहोर्‍याइरहनुपर्ने काम गर्न सक्छन् र मानिसहरू निर्णय गर्ने कार्यमा केन्द्रित हुन सक्छन्।"

"यो नै सम्पूर्ण कुरा होइन। यो त हामीलाई थप अन्वेषण गर्न सघाउने औजार मात्र हो।"

उनी भन्छिन् - "भारतका लागि कल्पना नै सीमा हो। भारतमा मानव शक्ति छ र यहाँ धेरै मस्तिष्क छन् जसले अदभूत काम गर्न सक्छन्।"

उनी भन्छिन्, "अन्तरिक्षमा जाने जागिर गर्ने सोचेकै थिइनँ।" र उनको जीवनको अबको चरणमा यात्रा. परिवार र नयाँ चुनौतीहरू छन्।

उनी भारतका अन्य भाग पनि घुम्न चाहन्छिन्, केरलाका समुन्द्र तटदेखि लद्दाखको पहाडसम्म।

उनले भनिन्, "म हिमाल मन पराउने व्यक्ति हुँ कुनै न कुनै समय मिलाएर मलाई त्यहाँ जानु छ ।"

अन्तरिक्षले उनलाई के सिकायो भन्नेबारे सोच्दै उनले भनिन्, "धैर्य राख। र एक अर्कालाई सुन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।