ओपन एआईबाट निकालिएका अल्टम्यान माइक्रोसफ्टमा

प्रविधि कम्पनी ओपन एआईबाट बर्खास्त भएका स्याम अल्टम्यान माइक्रोसफ्ट कम्पनीमा आबद्ध हुने भएका छन्।

उनी फेरि च्याट जीपीटी निर्माता कम्पनीमै फर्कने अनुमानबीच माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्य नडेलाले अल्टम्यानबारे नयाँ घोषणा गरेका हुन्।

माइक्रोसफ्टले अल्टम्यान र ग्रेग ब्रोकम्यानले उक्त कम्पनीको नयाँ आधुनिक आर्टिफिसल इन्टेलिजन्स टोली हाँक्ने जनाएको छ।

स्याम अल्टम्यानलाई खुलस्त नभएको आरोपमा ओपन एआईको बोर्डले हटाइदिएपछि उनी र ब्रोकम्यान ओपन एआईबाट छुट्टिएका थिए।

च्याट जीपीटीको प्रवर्द्धन गरेर ३८ वर्षीय स्याम अल्टम्यानले ओपन एआईलाई आर्टिफिसल इन्टेलिजन्सको दुनियाँमा अग्रणी कम्पनी बनाएका थिए।

उनी तीव्र गतिमा विस्तार भइरहेको आर्टिफिसल इन्टेलिजेन्सको क्षेत्रमा सबैभन्दा प्रभावकारी व्यक्ति बनेका थिए।

ओपन एआईमा नयाँ हाकिम

अल्टम्यानलाई हटाएको ओपन एआईले ट्विचमा यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका एमिट शेअरलाई अन्तरिम प्रमुख बनाउने भएको छ।

यसअघि ट्विटर भनिने सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नयाँ जिम्मेवारीलाई “जीवनमै एक पटक मात्रै अनुभव गर्न पाइने अवसर” भनेका छन्।

उनी यसअघि भिडिओ स्ट्रिमिङका लागि प्रयोग हुने ट्विचका सह संस्थापक थिए। ओपन एआईका कर्मचारीहरूलाई पठाइएको आन्तरिक जानकारीमा उनी धेरै सीपका धनी भएको र उनको विशेषज्ञताले ओपन एआईलाई अगाडि बढाउन सहयोग पुग्ने दाबी गरिएको छ।

उनले कम्पनीको उत्पादन बजारीकरणका लागि सञ्चालक समितिले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

अल्टम्यान हटे पछिको चिन्ता

यसअघि ओपन एआईले उनीप्रति कम्पनीको विश्वास गुमेको भन्दै अल्टम्यानलाई शुक्रवार जिम्मेवारीबाट हटाएको थियो। तर उनलाई हटाइनुको कारण प्रस्ट छैन।

तर सिलिकन भ्यालीका कैयौँले उनलाई फेरि जागिरमा पुनर्स्थापित गर्न सकिने आकलन गरिरहेका थिए।

माइक्रोसफ्टमा जाने टुङ्गो लागेपछि अल्टम्यानले माइक्रोसफ्टका प्रमुख नडेलाको पोस्टमा प्रतिक्रिया दिँदै भनेका छन्, “अभियान जारी छ।”

अल्टम्यानको बर्खासीपछि ओपन एआईका वर्तमान र पूर्व कर्मचारीहरू असन्तुष्ट भएको बताइएको छ। उनीहरूले यसले कम्पनीको पूर्व निर्धारित ८६ अर्ब डलरको शेअर बिक्रीमा असर पर्ने चिन्ता व्यक्त गरेका छन्।

उक्त कम्पनीका कतिपय वरिष्ठ अधिकारीहरूले यस्तै सन्देश दिने पोस्टहरू एक्समा गरेका छन्।

उनीहरूको पोस्टमा “यसका मानिसहरू बिनाको ओपन एआई केही पनि नभएको” भनिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।