तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फ्लोरिडामा बलियो विपक्षीलाई दबावमा पार्ने योजनामा छ नेपाली क्रिकेट टोली
- Author, निरञ्जन राजवंशी
- Role, फ्लोरिडा, संयुक्त राज्य अमेरिका
‘कमसल क्रिकेट पिच’ मा धेरै रन नबनेपछि जारी विश्वकपमा सह आयोजक अमेरिकाले आलोचना खेप्नु परिरहेको छ।
ड्यालस र न्यु योर्कपछि फ्लोरिडाको 'पिच'को अवस्था पनि त्यस्तै हुने हो की भन्ने आशङ्का कतिपयमा छ।
फ्लोरिडाको रङ्गशाला ‘सेन्ट्रल ब्रोवार्ड काउन्टी’ को यही मैदानमा नेपाल र श्रीलङ्काबीच पहिलो खेल मंगलवार राती (नेपालमा बुधवार बिहान) हुँदैछ।
त्यसैले कम्तीमा यो मैदानमा खेल्ने बाँकी राष्ट्रले मङ्गलवार रातीको खेल ध्यान दिएर हेर्नेछन्।
“बल्ल सबैले अनुभव गर्न थाले की अमेरिकाको पिच कस्तो रहेछ?,” दक्षिण अफ्रिकासँग ७७ रनको न्यून अङ्कमा समेटिएपछि आलोचना खेप्न पुगेका श्रीलङ्काका बलिङ प्रशिक्षक अकिव जावेदले कम अङ्क हासिल गर्नमा 'पिच' दोषी रहेको भन्दै आफ्नो बचाउ गर्न खोजेका थिए।
नेपाली कप्तान रोहित पौडेलले पनि 'पिच'को व्यवहार अनुमान गर्न नसकिने भएकोले ‘जे पनि हुन सक्ने’ तर्क अगाडि सारेका छन्।
पिच र वर्षाको अनुमान
पिचको अवस्था मात्र होइन, खेलको दिन फ्लोरिडामा वर्षा हुने मौसम पूर्वानुमान छ।
रातीको समयमा पिचमा शीत पर्छ नै। पानीले बिथोलिएमा उक्त मैदान बलर मैत्री हुने सम्भावना रहन्छ। ब्याटिङ कठिन हुनेछ।
त्यसै पनि हरेक दिन जसो नियमित पानी परिरहेको कारण नेपाली खेलाडीले फ्लोरिडा आए यता ब्रोवार्ड काउन्टी रङ्गशालामा राम्ररी अभ्यास गर्न पाएका छैनन्।
सोमवार साँझ पनि नेपालको अभ्यास सोही रङ्गशालामा हुने भनिए पनि टोली प्रशिक्षणमा सहभागी भएन।
प्रशिक्षणमा सहभागी श्रीलङ्काली टोलीले पनि मैदानभित्र अभ्यास गर्न पाएनन्।
यद्यपि टोलीले 'पिच'मा धेरै बेर बिताएर त्यसको अवस्था बुझ्न प्रयास गरेको देखिएको थियो।
श्रीलङ्काका विश्वकप विजेता पूर्व खेलाडी सनथ जयसुर्या पनि पिचमा पुगेर खेलाडीहरूलाई त्यसबारे बुझाइरहेका थिए।
यद्यपि क्षमता अनुसारको अवस्थामा खेल नहुँदा त्यसको फाइदा तुलनात्मक रूपमा कमजोर टिमलाई पुग्ने गर्दछ।
नेपालले यस्तो अवस्थाको फाइदा उठाउन सक्नेछ।
के श्रीलङ्का कमजोर छ?
लिगमा लगातार दुई खेल हारेपछि श्रीलङ्का दबाबमा रहेको अनुमान गरिएको छ।
नेपाल विरुद्धको खेल पनि गुमाएमा टोली समूह चरणबाटै घर फर्किनेछ।
नेपाल भने दबाबमा देखिएको छैन। बरु कप्तान रोहित पौडेलको भनाइमा आत्मविश्वास थप बढेको देखिएको छ।
उनी भन्छन्, “यो विश्वकपमा सबै टोली अप्रत्याशित हुनसक्छन्। तर मलाई लाग्छ, मंगलवार हामीभन्दा श्रीलङ्का नै वढी दबाबमा हुनेछ।”
ठिक विपरीत दुई खेल गुमाइसकेको श्रीलङ्काले नेपाल विरुद्धको जितको लागि प्रयास गर्नेछ। प्रतियोगितामा कायम रहन टोलीसँग अर्को विकल्प छैन।
यद्यपि पूर्व विश्व विजेता श्रीलङ्का कुनै पनि हालतमा कमजोर टोली होइन।
नेपाली टोलीमा परिवर्तन होला?
द नेदरल्यान्डस् विरुद्धको पहिलो खेलमा नेपालले चार जना 'मिडियम पेस' बलर राखेर खेलेको थियो भने मुख्य स्पिनरको रूपमा युवा खेलाडी सागर ढकाललाई राखिएको थियो।
अनुभवी स्पिनर ललित नारायण राजवंशी र मध्यक्रमको भरपर्दा खेलाडी ठानिएका सन्दीप जोरालाई बेन्चमा राखिएको थियो।
ललित अनुभवी खेलाडी भएको हुनाले बुधवारको खेलको लागि टोलीमा फर्किने अनुमान गर्न सकिन्छ। त्यसो भएमा सागर ढकालले आराम पाउन सक्नेछन्।
फेरि टोलीमा सहयोगी स्पिनरका रूपमा दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल मल्ल जस्ता खेलाडीहरू पनि छन्।
मध्यक्रममा सन्दीप जोरालाई फर्काउने हो भने अनिल शाहले टिममा मौका पाउनेछैनन्।
नेपाल कति बलियो ?
श्रीलङ्काका प्रशिक्षक अकिव जावेद विश्वकप सम्म पुग्ने कुनै पनि टोली कमजोर नहुने बताउँछन्।
प्रि म्याच प्रेस कन्फ्रेन्समा उनले भने, “यो विश्वकपमा एसोसियट राष्ट्रले टेस्ट राष्ट्रहरूलाई हराएको मलाई थाहा छ। त्यसैले कुनै पनि टिम कमजोर छैन।”
यसअघि युएईका प्रशिक्षक रहेर नेपाल भ्रमण गरिसकेकाले उनलाई नेपाली खेलाडीहरूको बलियो र कमजोर पक्ष राम्ररी थाहा छ।
उनले भने, “मेरा खेलाडीहरूले आधारभूत खेल मात्र पस्के पनि राम्रो नतिजा आउनेछ। यो पिचमा अरू नयाँ प्रयोग गर्न जरूरी छैन।”
नेपाली टोली स्वतन्त्र भएर दबाबविहीन तरिकाले खेलेमा त्यो बलियो पक्ष हुने देखिन्छ।
शानदार फिल्डिङ गर्ने मेहनती टोलीको रूपमा छवि बनाउँदै आएको नेपालले नेदरल्यान्डस्सँगको पहिलो खेलमा स्तरीय फिल्डिङ गर्न चुकेको देखिएको थियो।
टेस्ट टोलीलाई हराउनेछौँ
कप्तान रोहित दुई खेल हारेर ‘गर या मर’ को स्थितिमा रहेको श्रीलङ्का दबाबमा रहने हुनाले त्यसको फाइदा उठाउने रणनीतिमा छन्।
श्रीलङ्काको जारी विश्वकपमा सोचेजस्तो प्रदर्शन नभएको र ब्याटिङ युनिट पनि बलियो नदेखिएको कमजोरी कोट्याउँदै उनले भने, "टेस्ट राष्ट्रलाई हराउने मौका छ। भोली(बुधवार)को खेल जितेर हामी नयाँ इतिहास बनाउन चाहन्छौँ।’
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।