‘अखाद्य’ दूध भारतबाट कसरी नेपाल भित्रिरहेको छ

भारतबाट अवैध रूपमा दूध नेपाल भित्रिने गरेको भन्ने गुनासो किसान र व्यवसायीहरूबाट आएपछि त्यसको अनुगमनका लागि उच्चस्तरीय अध्ययन टोलीहरू केन्द्रबाट सीमा क्षेत्रमा पठाइएको नेपाल दुग्ध विकास बोर्डले जनाएको छ।

नेपालमा भन्दा भारतमा दूधको मूल्य सस्तो भएपछि उताबाट अवैध रूपमा दूध नेपाल भित्रिने र त्यसले गर्दा आफूहरूलाई दूध विक्री गर्न गाह्रो हुने गरेको नेपाली किसान र व्यवसायीहरूको गुनासो रहँदै आएको छ।

“गुनासोहरू आएपछि कृषि मन्त्रालयको नेतृत्वमा दुईवटा टोली अध्ययनका लागि भारतसँगको विभिन्न सीमा नाकामा गएको छ,” बोर्डका कार्यकारी निर्देशक डाक्टर राजेन्द्रप्रसाद यादवले बीबीसीसँग भने।

“ती टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि त्यसै अनुसार हामी थप निर्देशन दिनेछौँ।”

किसान र व्यवसायीको चिन्ता

नेपालगन्ज र आसपासका बजारमा भारतबाट बिना रोकटोक दूध आएपछि नेपाली दूधको बजारमा असर गरेको जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारी बताउँछन्।

उनका अनुसार बाँकेमा छिमेकी जिल्ला बर्दियाबाट पनि दूध आउँदा करिब ३८ हजार लिटर दूध दैनिक जम्मा हुन्छ। अन्य जिल्लामा पठाएर बाँकेमा खपत गर्दा पनि करिब ८ हजार लिटर दूध बढी हुने गरेको भण्डारी बताउँछन्।

“यसरी बढी भएको दूधलाई व्यवस्थापन गर्न समस्या परिरहँदा हामीले सङ्घको तर्फबाट केही दिनअघि सीमा क्षेत्रका भित्री नाकामा स्थलगत अनुगमन गर्‍यौँ,” उनले भने।

“बाँकेको बेतहनी क्षेत्रबाट मोटरसाइकलमा दूध तस्करी गर्नेलाई नै फेला पारेपछि थाहा पायौँ बुझ्दा यसको ठूलो सञ्जाल रहेछ।”

त्यसरी भारतीय नम्बर प्लेटको मोटरसाइकलमा एक पटकमा १३० लिटर दूध ल्याउने गरिएको उनले बताए।

दूध ल्याइदिएबापत उनीहरूले पारिश्रमिक र मोटरसाइकलमा पेट्रोल पाउने गरेको पाइएको भण्डारी बताउँछन्।

“त्यसरी भित्रिएको दूध नेपाली विक्रेताले नै नेपालमै उत्पादित दूधसँग मिसाउँछन्। अनि त्यो दूध बजारसम्म आइपुग्छ,” उनले भने।

“कतिपय मोटरसाइकल त सिधै मिठाइ पसलदेखि व्यक्तिका घरसम्म पनि जाने गरेको पाइन्छ। तर तस्करीको सञ्जालबारे सरकारले आवश्यक अनुगमन गरेको छैन।”

भारतबाट भित्रिने दूधबारे सूचना माग गर्दा स्थानीय सरकार, पशु क्वारेनटाइन कार्यालय, भन्सार कार्यालयबाट कुनै आधिकारिक तथ्याङ्क नपाइएको अध्यक्ष भण्डारीले बताए।

उपभोक्ता अधिकारकर्मी प्रभात ठकुरी पनि भारतबाट कम गुणस्तरको दूध नेपाल ल्याएर विक्री वितरण भइरहेको बताउँछन्।

“भारतबाट बिहान ६ बजे ल्याइएको दूध नेपालगन्जमा ९/१० बजे आइपुग्दा पनि फाटेको हुँदैन,” उनले भने।

“क्वारेन्टिनमा जाँच भएर आउने दूध भए पो गुणस्तरीय दूध खान पाइन्छ।”

दूध लामो समयसम्म नफाट्नुको अर्थ के?

विभागले कुनै पनि दूध ४ देखि १० डिग्रीको तापक्रममा राख्नुपर्छ। भारतबाट मोटरसाइकलमा क्यानमा राखेर ल्याउँदा त्यो तापक्रममा ल्याउन सम्भव नहुने बताइन्छ।

खाद्य तथा गुणस्तर विभागकी पूर्व महानिर्देशक जीवन प्रभा लामाले लामो समय दूध नफाटोस् भन्नका लागि विगतमा सोडा, न्युट्रलाइजरलगायतका विभिन्न रासायनिक पदार्थ मिसाइने बताइन्।

“भारतबाट भित्रिएको दूधमा के मिसाइएको छ भन्ने त परीक्षण नै गर्नुपर्छ तर केही नमिसाइएको दूध लामो समय नफाटिरहन भन्ने सम्भव छैन,” उनले भनिन्।

त्यति लामो समयसम्म नफाट्ने र मिठाई बनाउन मिल्नु भनेको त्यो दूधमा अखाद्य वस्तु मिसाइएको छ भन्ने सहजै अनुमान गर्न सकिने लामा बताउँछिन्।

बिहान ९/१० बजेको समयमा मात्रै नभई दिउँसोको समयमा पनि नेपालगन्जका विभिन्न मिठाई पसलहरूमा भारतीय नम्बर प्लेटका मोटरसाइकलहरूमा क्यानमा दूध ल्याएर बेचिरहेको देख्न सकिने नेपालगन्जस्थित हाम्री संवाददाता विमला चौधरीले बताइन्।

बिहीबार दिउँसो दुई बजे उनी पुग्दा नेपालगन्जस्थित एउटा मिठाइ पसलमा भारतीय नम्बर प्लेटमा आएका मोटरसाइकलहरूले दूध बिक्री गर्दै थिए।

“कुनै पनि खानेकुरा पकाएपछि केमिकलहरू नष्ट हुन्छ भन्ने हाम्रो मान्यता छ तर अखाद्य वस्तु मिसाइएको दूध पकाएपछि त्यो खान योग्य हुन्छ भन्ने हुँदैन,” अहिले काठमाण्डू महानगरपालिकामा खाद्यबारे विज्ञ सल्लाहकार रहेकी लामाले भनिन्।

“दूधमा मिसाइने केमिकलहरूले हाइपर टेन्सन हुनेहरूलाई असर गर्छ। सुगर, प्रेसर, मुटुको बिरामीहरूलाई थप असर गर्छ।”

दूधको मूल्य

भारतबाट अवैध रूपमा भित्रिने दूध किन्दा ७/८ रुपैयाँ सस्तो पर्ने उपभोक्ताहरू बताउँछन्।

जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेका अनुसार साढे चार प्रतिशत फ्याट र एसएनएफ(सलिड नट फ्याट)को मात्रा ८ प्रतिशत रहेको होलफ्याट दूधको मूल्य प्रति लिटर १०० रुपैयाँ तोकिएको छ। त्यसै गरी ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ रहेको दूधको मूल्य ९६ रुपैयाँ तोकिएको छ।

भारतबाट अवैध रूपमा दूधसँगै खुवा र पनिर पनि भित्रिने गरेको उनको दाबी छ।

बाँकेका दुग्ध व्यवसायीहरूले भारतबाट अवैध रूपमा भित्रिने दूध नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयलाई विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएका थिए।

“प्रहरीले पहिला पनि अनुगमन गर्दै नै आएको छ। तर पछिल्लो पटक ज्ञापन पत्र पाएपछि हामीले थप चनाखो भएर हेरिरहेका छौँ,” आचार्यले भने।

“तर अरू खाद्य सामाग्रीजस्तो दूध फेला परेर नष्ट गर्नुपरेको अवस्था भने छैन।”

नेपालमा दूधको उत्पादन, माग र खपतको अवस्था कस्तो छ?

सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षमा २५ लाख ७० हजार मेट्रिक टन दूध उत्पादन हुन्छ।

दैनिक रूपमा ६५/७० लाख लिटर दूध उत्पादन हुने र त्यसको १७ प्रतिशत औपचारिक क्षेत्रमा, ३३ प्रतिशत अनौपचारिक क्षेत्र र बाँकी ५० प्रतिशत घरेलु प्रयोजनका लागि प्रयोग हुने गरेको दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर यादव बताउँछन्।

तर पछिल्लो समय दूधको खपत १० देखि १२ प्रतिशतले घटेको उनी बताउँछन्।

“आर्थिक मन्दीका कारण दूधको खपत पछिल्ला दिनमा घटेको छ। कतिपय मानिसमा लम्पीस्किन लागेका वस्तुको दूध खान हुँदैन भन्ने गलत सोचका कारण पनि खपत कम भएको छ,” उनले भने।

अबको दुई वर्षमा नेपाललाई दूधमा पूर्ण रूपमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य रहेको यादवले बताए।