बारामा तीर्थयात्री चढेको बस पल्टिँदा सात जनाको मृत्यु

- Author, माधुरी महतो
- Role, वीरगन्ज
बारा जिल्लाको चुरियामाई क्षेत्रमा बुधवार मध्यरातपछि भएको एउटा बस दुर्घटनामा हुँदा कम्तीमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अरू डेढ दर्जन यात्रु घाइते भएका छन्।
मृतकहरूमध्ये छ जना भारतीय र एक जना नेपाली रहेको बताइएको छ।
बसमा सवार अधिकांश मानिस पशुपतिनाथ दर्शन गरेर जनकपुरतिर जाँदै गरेका भारतीय तीर्थयात्रु भएको प्रहरीले जनाएको छ।
बस मूल सडकबाट झन्डै ५० मिटर तल खसेको छ।
बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार मृत्यु हुनेमा चार महिला र तीन पुरुष छन्।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएको उनले बताए।
अधिकांश घाइतेको मकवानपुरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। केहीलाई चितवनको भरतपुर पठाइएको छ।
चौबीस घण्टाको अन्तरालमा नेपालमा भएको यो दोस्रो ठूलो सडक दुर्घटना हो।
बुधवार बिहान एउटा यात्रुवाहक बस धादिङको गजुरीनजिक त्रिशूली नदीमा खस्दा आठ जनाले ज्यान गुमाएका थिए।
गाडीमा को थिए

दुर्घटनाग्रस्त गाडीमा सवार सबै जना भारतको राजस्थानस्थित गङ्गापुर गाउँका बासिन्दा भएको बुझिएको प्रहरीले बताएको छ। अधिकांश यात्रुहरू ६० देखि ७० वर्षका हुन्।
उक्त बस नेपालमै दर्ता भएको हो।
दुर्घटनामा मृत्यु भएका एक नेपालीले बीच बाटोबाट गाडी चढेको देखिएको प्रहरीले जनाएको छ।
“भारतीय राजदूतावाससँग समन्वय गरेर घाइते तथा मृतकका परिवारलाई सम्पर्क र समन्वय गर्ने कार्य भइरहेको छ,” प्रहरी उपरीक्षक बोगटीले बीबीसीलाई भने।
चालकले ब्रेक फेल भएर दुर्घटना भएको बताए तापनि प्रहरीले केही जाँचको रिपोर्ट आएपछि मात्र त्यसबारे धारणा बनाउने प्रहरी उपरीक्षक बोगटीले बताएका छन्।
दुर्घटनालगत्तै चालक र सहचालक दुवै जना भागेका थिए।
“उनीहरूको मोबाइललाई ट्र्याक गरेर दुवै जनालाई धनुषाबाट नियन्त्रणमा लिइएको थियो।”
नेपालमा सडक दुर्घटना
जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण - २०२२ ले नेपालमा प्रत्येक एक लाख जनसङ्ख्यामा १४ जनाको सडक दुर्घटनामा मृत्यु हुने देखाएको छ।
गत वर्ष मात्र नेपालमा झन्डै ३,००० जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको विवरण छ।
नेपालमा हुने अधिकांश सडक दुर्घटनाको मुख्य कारणका रूपमा चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटि देखिने गरेको अधिकारी तथा विज्ञले बताउने गरेका छन्।
नेपालका खराब र राम्ररी डिजाइन नगरी बनाइएका सडक समेत दुर्घटनाका लागि जिम्मेवार देखिने गरेको विज्ञहरू बताउँछन्।








