मलेशियामा पहिरो जाँदा बिदा मनाउन गएका कम्तीमा २१ जनाको मृत्यु

    • Author, फ्रान्सेस माओ
    • Role, बीबीसी न्यूज

मलेशियाको सेलाङ्गोर राज्यस्थित एउटा पर्वतीय क्षेत्रमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। उनीहरू त्यहाँ बिदा मनाउन गएका थिए।

बताङ काली नगरअन्तर्गत पर्ने उक्त स्थलमा स्थानीय समयानुसार शुक्रवार बिहान ३ बजे पहिरो गएको थियो। त्यतिबेला छुट्टी मनाउन गएका मानिसहरू पालभित्र सुतिरहेका थिए।

सयौँ उद्धारकर्मीहरूले माटो खोतल्दै जीवित व्यक्ति खोज्ने र उद्धार गर्ने प्रयास गरिरहेका छन्। उक्त मनोरञ्जनस्थलमा पहिरो जाँदा ९० जनाभन्दा बढी मानिस रहेको बताइएको छ।

शिविर सञ्चालकले स्थानीय सञ्चारमाध्यमहरूलाई बताएअनुसार त्यहाँ कम्तीमा ३० बालबालिका र ५१ जना वयस्कको नाम बास बस्नेगरी दर्ता भएको थियो।

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार अझै १४ जना मानिस बेपत्ता छन्। त्यहाँ खोजी र उद्धार कार्यमा ७०० जना खटेका छन्।

उक्त शिविरभन्दा करिब ३० मिटर माथिको भीरबाट खसेको पहिरो एक एकड क्षेत्रमा फैलिएको थियो।

मलेशियाका उद्धार गर्ने संस्थाहरूले अनलाइनमा सार्वजनिक गरेका तस्बिरहरूमा हेल्मेट लगाएका उद्धारकर्मीहरू क्षतविक्षत भएको भुइँ, उखेलिएका रूख र अन्य अवरोध पन्छाउँदै काममा खटेको देख्न सकिन्छ।

शुक्रवार मध्याह्नसम्ममा ६० जनाभन्दा बढी व्यक्तिको उद्धार भइसकेको छ।

यद्यपि कैयौँ मानिस अझै बेपत्ता रहेको जानकारी अधिकारीहरूले दिएका छन्। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार मृतकमध्ये एक पाँचवर्षीय बालक रहेको पुष्टि भएको छ।

शिविरमा बसेकी टे लिन सुआनले आफू र आफ्नी आमा बाँचे पनि आफ्ना एक भाइले ज्यान गुमाएको र अर्को भाइ घाइते भएर अस्पताल लगिएको बताइन्।

“हामीले पाल हल्लिएको महसुस गर्‍यौँ र हाम्रो वरिपरि माटो खस्न थाल्यो,” उनले स्थानीय पत्रिका बेरिटा हारिआनसँग भनिन्।

“मेरी आमा र म घस्रिएर बाहिर निस्कियौँ र ज्यान जोगायौँ।"

उनी त्यहाँ ४० जनाभन्दा बढी मानिसठूलो समूहमा बसेकी थिइन्।

घटनामा परेर जोगिएका लिओङ जिम मेङले आफूले जमिन सर्नुअघि ठूलो विस्फोटको आवाज सुनेको बताए। त्यो आवाजले आफ्नो परिवारलाई बिउँझिएको तर पालबाट सकुशल निस्कनुअघि आफूहरू केही बेर पहिरोमै फसेको उनले बताए।

“निकै अँध्यारो थियो र त्यतिबेला के भइरहेको थियो भन्ने खुट्ट्याउन निकै गाह्रो थियो।”

प्रधानमन्त्री अन्वर इब्राहिम शुक्रवार अबेर पहिरो गएको स्थान अवलोकन गर्न जाने कार्यक्रम छ। उनीलगत्तै अन्य मन्त्रीहरू पनि त्यहाँ पुग्ने भएका छन्।

प्रधानमन्त्रीले आफ्नो फेसबुक पेजमार्फत् मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् तथा हराएका मानिसहरू सकुशल फेला परून् भनेर प्रार्थना गरेका छन्।

पहिरोको कारण अझै स्पष्ट छैन।

स्थानीयवासीहरूले बताएअनुसार त्यहाँ हल्का वर्षा भएको थियो तर पहिरो नै जानेगरी भीषण वर्षा वा भूकम्प गएको थिएन।

शुक्रवार दिउँसो अधिकारीहरूले नदीतट र अन्य जोखिमयुक्त स्थानमा भएका शिविरहरू आगामी सात दिनसम्म खाली राख्न निर्देशन दिएका छन्।