भारतीय नौसेनाका आठ पूर्वअधिकारीलाई कतारमा मृत्युदण्ड सुनाइयो, भारतले कानुनी विकल्प खोज्ने

भारतले कतारमा पक्राउ परेका आठ जना भारतीय नागरिकलाई दिएको मृत्युदण्डको सजाय दुःखद भएको बताउँदै यस विषयमा सबै कानुनी विकल्प खोज्ने जनाएको छ ।

उनीहरू सबै भारतीय नौसेनाका सेवानिवृत्त अधिकारी हुन् र गत वर्षको अगस्टदेखि कतारको जेलमा छन्।

कतारले भने उनीमाथि लागेको आरोप सार्वजनिक गरेको छैन ।

भारतीय प्रतिक्रिया

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, "अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित मुद्दामा कतारको अदालतले आफ्नो फैसला सुनाएको प्रारम्भिक जानकारी हामीसँग छ।"

विज्ञप्तिमा थप भनिएको छ, "हामी फाँसी दिने निर्णयबाट स्तब्ध भएका छौँ र विस्तृत फैसलाको पर्खाइमा छौँ। हामी उनीहरूका परिवारका सदस्य र कानुनी टोलीसँग सम्पर्कमा छौँ। हामी यो विषयलाई उच्च प्राथमिकताका साथ हेरिरहेका छौँ र कतारी अधिकारीहरूसँग यो विषय उठाउनेछौँ।"

मन्त्रालयले यस विषयमा अहिले थप टिप्पणी गर्न नसक्ने बताएको छ।

कांग्रेस नेता जयराम रमेशले सामाजिक सञ्जालमा लेखेका छन्, "भारतीय राष्ट्रिय कांग्रेसले कतारमा आठ जना पूर्वभारतीय नौसेनाका अधिकारीहरूसँग सम्बन्धित अत्यन्तै दुखद घटनाक्रमलाई अत्यन्तै दुःख, पीडा र खेदका साथ बुझेको छ।"

"हामी अपेक्षा गर्दछौँ कि भारत सरकारले कतार सरकारसँग आफ्नो कूटनीतिक र राजनीतिक प्रभावको अधिकतम प्रयोग गर्न सकोस् जसले गर्दा अधिकारीहरूलाई उनीहरूको अपीलमा पूर्ण रूपमा समर्थन गर्न सहयोग पुगोस्। र छिटोभन्दा छिटो रिहा गर्न हरसम्भव प्रयासहरू होऊन्।"

पछिल्ला केही महिनादेखि यी पूर्वअधिकारीहरूलाई रिहा गर्न भारत सरकारमाथि निकै दबाब परेको थियो। र भारतीय विदेश मन्त्रालयले यो विषय आफ्नो 'उच्च प्राथमिकता' भएको जनाएको थियो।

गत जुनमा गिरफ्तार गरिएका एक पूर्व अधिकारीकी बहिनी मितु भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन सरकारसँग सहयोग मागेकी थिइन्।

मितु भार्गवले (यसअघि ट्विटर भनिने) सामाजिक सञ्जाल एक्समा लेखेकी थिइन्, "यी पूर्व नौसेना अधिकारीहरू देशको गौरव हुन्। र म फेरि माननीय प्रधानमन्त्रीलाई हात जोडेर अपील गर्दछु कि यिनीहरूलाई कुनै ढिलाइ नगरी तुरुन्तै भारत फिर्ता ल्याइयोस्।"

घटना के हो ?

सन् २०२२ को सेप्टेम्बरमा कतार सरकारले आठ पूर्व भारतीय नौसेनालाई पक्राउ गरेको थियो। 

यस वर्षको मार्च महिनामा उनीहरूविरुद्ध जासुसीको आरोप लगाइएको थियो।

उनीहरू कतारको जाहिरा अल अलामी नामक कम्पनीमा काम गर्थे।

यो कम्पनीले कतार नौसेनाका लागि एक पनडुब्बीसम्बन्धी कार्यक्रममा काम गरिरहेको थियो। 

यस कार्यक्रमको उद्देश्य रेडारबच्न सक्ने उच्च प्रविधियुक्त इटलियन प्रविधिमा आधारित पनडुब्बीहरू निर्माण गर्नु थियो।

कम्पनीमा ७५ भारतीय नागरिक कर्मचारी थिए। तीमध्ये अधिकांश भारतीय नौसेनाका पूर्व अधिकारी थिए। 

सन् २०२२ को ३१ मेबाट कम्पनी बन्द गरिएको बताएको थियो।

सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार कम्पनी प्रमुख खामिस अल अजमी र पक्राउ परेका आठ भारतीयहरूविरुद्धका केही आरोपहरू सामान्य खालका छन् भने केही विशेष प्रकृतिका छन्।

जासुसीको आरोपमा पक्राउ परेका आठ कर्मचारीलाई यसअघि नै बर्खास्त गरिसकेको छ र उनीहरूको तलबसमेत मिलान गरिसकिएको छ।

मे महिनामा कतारले उक्त कम्पनी बन्द गर्ने आदेश दिएपछि उसका झन्डै ७० जना कर्मचारीलाई उक्त महिनाको अन्त्यसम्ममा देश छाड्न निर्देशन दिएको थियो।

जासुसी आरोप?

भारतीय र विश्वव्यापी सञ्चारमाध्यममा आएका रिपोर्टहरूका अनुसार उनीहरूमाथि उन्नत इटलियन पनडुब्बीहरू खरिद गर्ने सम्बन्धमा कतारको गुप्तचर कार्यक्रमबारे इजरेललाई जानकारी उपलब्ध गराएको आरोप लगाइएको छ। 

कतारको गुप्तचर निकायले यो सन्दिग्ध जासुसीको बारेमा विद्युतीय प्रमाण रहेको दाबी गरेको छ।

कतारको निजी सुरक्षा कम्पनीमा काम गर्ने यी पूर्व भारतीय नौसेना अधिकारीहरूले कतारको नौसेनालाई विभिन्न प्रकारका तालिम दिन्थे।

उनीहरूलाई भारत र कतारबीच भएको सम्झौताअनुसार नियुक्त गरिएको हो।

अल दाहरा कम्पनीको काम के थियो?

कम्पनीको वेबसाइटमा त्यसलाई कतारको रक्षा मन्त्रालय, सुरक्षा र अन्य सरकारी निकायहरूको स्थानीय व्यापार साझेदारको रूपमा उल्लेख गरिएको छ।

यो निजी कम्पनीले कतारको सेनालाई तालिम र सेवा दिने गर्दथ्यो।

कम्पनीले आफूलाई रक्षा उपकरण सञ्चालन र मर्मतसम्भारमा विशेषज्ञको रूपमा उल्लेख गरेको छ।

कम्पनीका वरिष्ठ अधिकारीहरू र उनीहरूका पदबारे पूर्ण जानकारी सो वेबसाइटमा दिइएको छ।तीमध्ये धेरै भारतीय पनि छन्।

"यो रक्षा उपकरणहरू सञ्चालन गर्न र मानिसहरूलाई तालिम दिन कतारमा अग्रणी छ," कम्पनीको लिङ्क्डइन पृष्ठमा उल्लेख छ।

यसमा थप लेखिएको छ, "सुरक्षा र एरोस्पेसको विषयमा अल जाहिरा कम्पनी कतारमा विशेष हैसियतमा छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।