मैदानमा ओर्लिँदै कप्तान रोहित, यस्तो छ वेस्ट इन्डिजसँग विगतमा उनको बलियो प्रदर्शन

तस्बिर स्रोत, Rohit Poudel/Facebook
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Reporting from, मुम्बई, भारत
- पढ्ने समय: ३ मिनेट
इटलीको खेलपछि नेपाली कप्तान रोहित पौडेल बिरामी परे। उनलाई ज्वरो आयो र पेटमा पनि समस्या देखियो। कतिपयले अनुमान गरे कि इटलीसँगको अनपेक्षित पराजयका कारण उनलाई ज्वरो आएको होला।
इङ्ग्ल्यान्डविरुद्ध अन्तिम बलसम्म जितका लागि प्रयास गरेको खेलपछि उनले सामाजिक सञ्जालमा समर्थकहरूलाई लेखे, "तपाईँहरूको माया र समर्थनको लागि धन्यवाद। हामीले हिजो आफ्नो तर्फबाट उत्कृष्ट गर्यौँ। हामी यस्तो प्रदर्शन निरन्तरता दिने वाचा गर्छौँ।"
तर इटलीसँगको विश्वकप इतिहासकै खराब हार बेहोरेपछि उनी दु:खी बनेका थिए र आफूलाई नराम्रो खेल खेलेको भन्न कुनै लाज नलागेको प्रतिक्रिया दिँदै आफ्नो स्पष्ट धारणा राखेका थिए।
नेपाली प्रशिक्षक स्टुअर्ट ल ले रोहित वेस्ट इन्डिजको खेलका लागि उपलब्ध हुने स्पष्ट पारेसँगै रोहितकै नेतृत्वमा नेपाली टोलीले डारेन सामीको टोलीविरुद्ध खेल्ने छ।
रोहित वेस्ट इन्डिजसँगको खेलमा किन पनि आवश्यक देखिन्छ भने उनी मात्र एक यस्ता खेलाडी हुन्, जसले वेस्ट इन्डिज 'ए' विरुद्ध नेपालमा खेलिएको टी-२० शृङ्खलामा लगातार शानदार प्रदर्शन गरेका थिए।
भलै त्यो वेस्ट इन्डिजको पूर्ण टोली थिएन। तर काठमान्डूमा खेलेका तीनजना खेलाडीहरू अहिले वेस्ट इन्डिजको टोलीमा छन्।
रोहितको 'एकल शो'
दुई वर्षअगाडि कीर्तिपुर रङ्गशालामा खेलिएको उक्त शृङ्खलाको पहिलो खेलमा रोहितले शानदार शतक प्रहार गरेका थिए।
उनले ५४ बलमा ११२ रन बनाउँदा १० चौका र ६ छक्का प्रहार गरेका थिए, जसका कारण नेपालले कुल २०६ रन जोड्न सकेको थियो।
दोस्रो खेलमा पनि उनले आफ्नो लय कायम राख्दै ४८ बलमा ७१ रन बनाए।
तेस्रो खेलमा भने उनलाई आराम गर्न दिई दीपेन्द्र सिंह ऐरीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो।
चौथो खेलमा उनी पुनः टोलीमा फर्किए र ४७ बलमा ८२ रन जोडे। जसमा ७ चौका र ५ छक्का सामेल थियो।
अन्तिम खेलमा भने उनी छैटौँ नम्बरको खेलाडीको रूपमा आए। उनले उक्त खेलमा १ बल पनि सामना गर्न परेन।

काठमान्डूमा भएको उक्त शृङ्खलामा रोहित पौडेलको 'एकल शो' जस्तै देखिएको थियो।
त्यस्तै युएईको शारजहामा वेस्ट इन्डिजसँग खेलेको तीन वटा टी २० शृङ्खला रोहितकै कप्तानीमा नेपालले जितेको थियो।
यद्यपि उक्त प्रतियोगितामा रोहितको प्रदर्शन नेपालमा जसरी शानदार बन्न सकेन।
पहिलो खेलमा उनले ३५ बलमा ३८ रन बनाए, जुन नेपाली ब्याटरका तर्फबाट सर्वाधिक रन थियो। उक्त खेल नेपालले १९ रनले जितेको थियो।
दोस्रो खेलमा उनले १० बलमा ३ रन मात्र जोडे भने तेस्रो खेलमा १९ बलमा १७ रन बनाएका थिए।
नेतृत्व क्षमता देखाउने अवसर

रोहितका लागि वेस्ट इन्डिजसँगको खेलको धेरै अर्थ देखिन्छ।
दुई वर्षअगाडिको अमेरिका/वेस्ट इन्डिज विश्वकप र जारी विश्वकपमा कप्तानीको भूमिकामा रहेका रोहितले विश्वकप खेलहरूमा एक खेल पनि जित्न सकेका छैनन्।
उनको कप्तानीमा आइतवार ६३ खेल खेलिरहँदा ३६ मा जित र २२ खेलमा नेपालले हार बेहोरेको छ। त्यसमा ३ वटा बराबरी भएका थिए भने २ खेल नतिजाविहीन भएका थिए।
यद्यपि अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँगको १ रनको हार र यसपटक इङ्ग्ल्यान्डसँग भोगेको ४ रनको हार नेपाली समर्थकहरूले बिर्सिन नसकिने प्रतिस्पर्धामा पर्छन्।
आइतवार वेस्ट इन्डिजविरुद्धको खेल सहज छैन। तर रोहितलाई यही खेल आफ्नो र देशको छवि उकास्ने अवसर बन्न पनि सक्नेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















