वेस्ट इन्डिजसँग 'खेल देखाउने' मौका पर्खिरहेको नेपाल

विश्वकपमा वेस्ट इन्डिजसँगको खेल अघि नेपाली क्रिकेट टोली अभ्यास खेल खेल्दै
    • Author, निरञ्जन राजवंशी
    • Role, मुम्बई भारत
  • पढ्ने समय: ५ मिनेट

के नेपाली टोलीका खेलाडीहरू इटलीसँगको हारको चोटबाट मुक्त भइसके?

शनिवार प्री म्याच प्रेस कन्फ्रेन्समा नेपालका अस्ट्रेलियाली प्रशिक्षक स्टुअर्ट लले भने, "इटलीसँग हामीले खराब खेल्यौँ। त्यसलाई बिर्सिसक्यौँ। अब हामी केबल वेस्ट इन्डिजसँगको खेलबारे सोचिरहेका छौँ।"

नेपालले टी-२० विश्वकपमा लीग चरणको तेस्रो खेलमा आइतवार वेस्ट इन्डिजको सामना गर्दै छ।

इङ्ग्ल्यान्डविरुद्धको साहसिक खेलपछि अति आत्मविश्वासी देखिएको ठानिएका नेपाली खेलाडीहरूको मनोबलमा इटलीसँगको फितलो प्रदर्शनले असर पुर्‍याएको हुनसक्ने कतिपयको आकलन छ।

पत्रकार सम्मेलनमा प्रशिक्षक लले सामाजिक सञ्जालको असर पनि खेलाडीहरूमा परेको हुन सक्ने बताए।

उनले भने, "मलाई थाहा छैन सामाजिक सञ्जालको फाइदा के हो, बेफाइदाहरू भने धेरै छन्। अब भोलीको खेलमा अरू होइन, जिम्बाब्वेले अस्ट्रेलियालाई हराएको खेल सम्झेर ऊर्जा लिने हो।"

नेपाल र वेस्ट इन्डिजबीच विश्वकपमा हुन लागेको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

'सजिलो प्रतिद्वन्द्वी ठान्दैनौँ'

विश्वकपमा वेस्ट इन्डिजसँगको खेल अघि नेपाली क्रिकेट टोली अभ्यास खेल खेल्दै

जारी विश्वकपमा दुई खेल जितेर उपाधि दाबेदार बनिरहेको वेस्ट इन्डिजसँगको खेल नेपालको लागि सहज नहुने खेल पण्डितहरूको विश्लेषण छ।

प्री म्याच प्रेस कन्फ्रेन्समा उपस्थित वेस्ट इन्डिजका खेलाडी अकिल हुसेनले नेपाललाई सजिलो प्रतिद्वन्दीको रूपमा नहेर्ने स्पष्ट पारे।

उनले भने, "यो विश्वकप हो। यहाँ देशको नाम हेरेर क्रिकेट खेलिँदैन। हामी नेपाललाई सजिलो प्रतिद्वन्द्वी ठान्ने छैनौँ।"

यद्यपि वेस्ट इन्डिजका खेलाडीहरू नेपालविरुद्ध ठूलो स्कोर बनाएर ब्याटिङ धार तिखार्ने मुडमा हुनसक्ने कतिपय विश्लेषकका आकलन छन्।

नेपालको लागि भने यो खेल विश्वकपको सहभागितालाई पुष्टि गर्ने अर्को अवसर हुनेछ।

जहाँ हारले नेपालको यात्रामा पूर्ण विराम लाग्नेछ, तर जित वा प्रभावकारी प्रदर्शनले इटलीविरुद्धको खेलमा बिग्रिएको छवि सुधार्ने मौका बन्नेछ।

अर्को तर्फ नेपाललाई वेस्ट इन्डिजसँग गुमाउनु पर्ने केही छैन। प्रशिक्षक लले थपे, "वेस्ट इन्डिजसँग नतिजामा ध्यान दिने होइन, आफ्नो खेल देखाउने हो।"

सुमधुर सम्बन्धमा दुई टोलीको भिडन्त

वेस्ट इन्डिज र नेपाली क्रिकेट टोलीका कप्तानहरू

तस्बिर स्रोत, CAN

अन्तर्राष्ट्रिय क्रिकेटको कुरा गर्ने हो भने वेस्ट इन्डिज नेपाली क्रिकेटलाई माया गर्ने नजिकको राष्ट्रमा पर्छ।

अन्य राष्ट्रले नेपाली टोलीलाई सामाजिक सञ्जालमा प्रशंसाको पुल बाँधिरहेको बेला वेस्ट इन्डिज यस्तो टोली बनेर आएको थियो, जसले नेपाललाई मैदानमा प्रत्यक्ष सहयोग गर्‍यो।

दुई वर्ष अगाडि वेस्ट इन्डिजका महान् खेलाडीको रूपमा परिचित ब्रायन लारालाई नेपाल प्रिमिअर लीग (एनपीएल)को पहिलो संस्करणका बेला नेपाल निम्त्याएर नेपाल क्रिकेट सङ्घले गरेको 'स्पोर्टस् डिप्लोमेसी' ले सम्बन्ध विस्तारमा भूमिका खेलेको ठानिन्छ।

दुई वर्ष अगाडि वेस्ट इन्डिजले आफ्नो 'ए' टोली काठमाण्डू पठाएर पाँच टी-२० शृङ्खला खेलेको थियो।

ब्रायन लाराको भ्रमण पछि यी दुई टोलीबीच यूएईमा तीनवटा टी-२० द्विपक्षीय शृङ्खला भए।

नेपालले टेस्ट राष्ट्रसँग खेलेको त्यो पहिलो शृङ्खला थियो। भलै त्यसमा वेस्ट इन्डिजको पूर्ण टोलीका सदस्यहरू उपस्थित भएनन्।

सम्बन्धका थप आयामहरू पनि छन्।

स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजको फ्रेञ्चाइज क्रिकेट क्यारेबिअन प्रिमिअर लीग (सीपीएल) खेल्ने नेपाली खेलाडी हुन्। त्यस्तै एनपीएल सिजन-२ मा चर्चित खेलाडी शिवनारायण चन्दरपाउलले जनकपुर बोल्ट्सका प्रशिक्षकका रूपमा काम गरेका थिए।

यहाँनिर उल्लेख गर्नुपर्ने अर्को कुरा के छ भने वेस्ट इन्डिजका प्रशिक्षक डारेन सामीले टेस्ट राष्ट्रहरूले नेपाल जस्तो असोसिएट टोलीलाई साथ सहयोग गर्नुपर्ने विषय उठान गरिदिएका थिए।

वेस्ट इन्डिज कस्तो?

द्विपक्षीय टी-२० क्रिकेट शृङ्खलामा वेस्ट इन्डिजसँग खेल्दै नेपाली क्रिकेट टोली

तस्बिर स्रोत, CAN

वेस्ट इन्डिजले मुख्य प्रतियोगिताको मैदानमा भने नेपाललाई माया गर्ने छैन।

जारी विश्वकपमा ३०० रन पनि बन्न सक्छ भन्ने कप्तानहरूले विश्वकपको पूर्वसन्ध्यामा छेडिएको बहसलाई वास्तविकतामा उतार्ने ल्याकत राख्ने टोलीमा वेस्ट इन्डिज पनि पर्छ।

यो टोली साई होप, रोभम्यान पावेल, सिमरन हेटमायर जस्ता लामो छक्का हान्न माहिर खेलाडीहरूले भरिएको छ।

इङ्ग्ल्यान्डसँगको जितपछि प्रशिक्षक सामीले भनेका थिए, "हामी इन्टरटेनर (खेल मनोरञ्जन दिलाउन सक्ने) टोली पनि हौँ।"

समूह 'सी' मा इङ्ग्ल्यान्ड र स्कटल्यान्डलाई पराजित गरिसकेको उक्त टोलीले नेपाललाई हराएमा सुपर-८ मा स्थान पक्का गर्नेछ।

फेरि टोलीका अधिकांश खेलाडीहरू भारतीय फ्रेञ्चाइज लीग आइपीएलमा खेल्ने हुनाले भारतीय पिचमा उनीहरू अभ्यस्त छन्।

नेपालको अर्को परीक्षा

विश्वकपमा वेस्ट इन्डिजसँग खेल्नु अघि नेपाली क्रिकेट टोलीको अभ्यास

चार दिनको बीचमा दुई फरक खेल खेलेर प्रशंसा र आलोचनाको मिश्रित स्वाद चाखेका नेपाली खेलाडीका लागि वेस्ट इन्डिजविरुद्धको खेल आलो घाउ बिर्साउने अवसर हुनेछ।

स्तरीय क्रिकेट पस्केर टोलीले नेपाली क्रिकेटको सकारात्मक अन्तर्राष्ट्रिय छविलाई तुरुन्त सुधार्न सक्छ।

नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले टोलीमाथि विश्वास गर्दै "सुपर ८ मा पुग्न नसक्ने के छ र" भन्दै खेलाडीहरूलाई बाँकी दुई खेलमा केन्द्रित हुन सुझाव दिइसकेका छन्।

शनिवार नेपाली टोलीले वानखेडे रङ्गशालामा ३ घण्टा अभ्यास गरेको थियो। त्यसमा खेलाडीहरूको 'बडी ल्याङ्ग्वेज' राम्रै देखिएको थियो।

कप्तान रोहित पौडेल भने ज्वरो र पेटको समस्याका कारण अभ्यासमा देखिएनन्। तर उनी वेस्ट इन्डिज विरुद्धको खेलमा भने उपस्थित हुनेछन्।

विश्वकपको मञ्चमा नेपाली टोलीको प्रदर्शनको अर्थ पनि धेरै नै महत्त्वपूर्ण हुनेछ।

सचिव खड्का विशेष गरी नेपालले अहिले विश्व क्रिकेटको केन्द्र ठानिएको मुम्बईमा खेलिरहेकोले प्रत्येक खेलले ठूलो सन्देश जाने बताउँछन्।

बीसीसीआईको केन्द्रीय कार्यालय रहेको वानखेडे रङ्गशालामा बाँकी दुई खेलमा राम्रो गर्ने मौका नचुकाइने उनले बताए।

वेस्ट इन्डिजको टोलीमा पाँच जना खेलाडीहरू यस्ता छन्, जो सँग नेपाली खेलाडीहरूले यूएई र कीर्तिपुरमा भेटिसकेका छन्।

विश्वकप छनोट खेल्नु अगाडि वेस्ट इन्डिजसँगको शृङ्खला जितेर नेपाली टोलीले ठूलो मनोबल बटुलेको थियो।

हाल विश्वकप टोलीमा रहेका जोन्सन चार्ल्स, रोस्टन चेज र गुदाकेस मोटिई काठमाण्डू आएर खेलेका थिए। जेशन होल्डर र अकिल हुसेन यूएईमा नेपालसँगको खेलमा थिए।

यूएईको शृङ्खला र अहिले विश्वकप खेल्दाको नेपालको टोलीमा के भिन्नता छ भनी सोधिएको प्रश्नमा अकिलले भने, "मलाई थाहा छ, नेपाली टोलीमा एक आपसको बन्धन बलियो छ। लामो समय देखि सँगै छन्। यूएईमा हाम्रो पूर्ण टोली थिएन। तर पनि नेपाललाई हामी कमजोर आँक्दैनौँ र उनीहरूको क्षमताको सम्मान गर्दै खेल्छौँ।"

खेल स्थानीय समय अनुसार बिहान ११ बजे सुरु हुनेछ। उक्त खेल हेर्न थुप्रै देशका नयाँ पुराना खेलाडीहरू पनि उपस्थित हुने अपेक्षा गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।