नुनमा आयोडिन बढी हुँदा नेपाली भान्सा र जनस्वास्थ्यमा परेको असर

तस्बिर स्रोत, Getty Images
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
पचपन्न सालमै बनेको ऐनलाई कार्यान्वयन हुने मिति नतोकिँदा झन्डै २७ वर्षसम्म नेपाली भान्सामा अधिक आयोडिन भएको नुन निर्बाध प्रयोग भइरहेको थियो।
यो अवधिमा उच्च मात्रामा आयोडिन सेवन गर्दा मानिसहरूमा 'थाइरोइड' ग्रन्थिसम्बन्धी अनेक समस्या बढ्न थालेको विज्ञहरूले बताएका छन्।
तर अब उक्त ऐन साउन १ गतेदेखि कडाइपूर्वक लागु गरिने र नुनमा आयोडिनको मात्रालाई उचित स्तरमा राख्ने गरी कदम चालिने स्वास्थ्यमन्त्रीले बीबीसीलाई बताएका छन्। गत साता राजपत्रमा उक्त ऐन कार्यान्वयनको मिति तोकिएको सूचना छापिएको छ।
किन भयो ढिलाइ?

तस्बिर स्रोत, Getty Images
"हामीकहाँ नुनमा आयोडिनको मात्रा बढी भएकाले पनि क्यान्सरसहित विभिन्न स्वास्थ्य समस्या बढिरहेको भन्ने विषय आइरहेको छ। त्यसलाई सम्बोधन गर्ने प्रयास गर्दा यो ऐन लागु नभइरहेको भन्ने देखियो र तत्काल लागु गर्ने गरी हामी अघि बढेका हौँ," स्वास्थ्य तथा जनस्वास्थ्यमन्त्री प्रदीप पौडेलले भने।
"अब हामी तत्कालै नुनको परीक्षण गराएर उचित मात्रामा मिश्रण गराउन (साल्ट ट्रेडिङमार्फत्) प्रक्रिया अघि बढाइहाल्छौँ," उनले भने।
यत्रो वर्षसम्म उक्त ऐन लागु नगरिएको कारणबारे सोध्दा मन्त्री पौडेलले भने, "त्यसलाई प्राथमिकतामा राखिएन र त्यसको ख्याल गरिएको स्थिति नबनेको रहेछ। हामीले थाहा पाउनेबित्तिकै यसको समाधान खोजेका हौँ।"
ढिलै भए पनि समाधान खोजिएकोमा अग्रणी विज्ञ तथा वरिष्ठ इन्डोक्राइनोलजिस्ट डा ज्योति भट्टराईले सन्तोष व्यक्त गरिन्।
"आजभन्दा ५० वर्ष पहिले आयोडिनको कमीका कारण मानसिक सुस्तता र गलगाँडको हामीकहाँ जुन प्रकोप थियो त्यसलाई आयोडिनयुक्त नुनको व्यापक प्रयोगले जोगायो। तर अहिले चाहिँ नुनमा अलि बढी नै आयोडिन मिसिएका कारण नेपालमा थाइरोइडसम्बन्धी रोग धेरै नै देखा पर्न थालेको," डा भट्टराईले भनिन्।
पछिल्लो समस्या समाधान गर्न नयाँ कानुन प्रभावकारी हुन सक्ने उनले अपेक्षा व्यक्त गरिन्।
उनका अनुसार नेपालमा धेरै मानिसमा हाइपोथाइरोडिजम (थाइरोइड ग्रन्थिको निष्क्रियता) र हाइपरथाइरोइडिज्म (थाइरोइड ग्रन्थिको अतिसक्रियता) देखिन थाल्नुमा आयोडिनको मात्रा तलमाथि हुनु पनि एउटा मुख्य कारक तत्त्व हो।
"यी रोग जीवनको हरेक पाटोमा जोडिएका हुन्छन्। उदाहरणका लागि, भर्खर जन्मिएको बच्चाको वृद्धिविकासदेखि लिएर महिलाहरूको प्रजनन स्वास्थ्य तथा महिनावारीमा यसले असर गर्छ। पुरुषहरूमा दैनिक जीवनलाई फुर्तिलो बनाउन थाइरोइडको स्वास्थ्य महत्त्वपूर्ण हुन्छ," डा भट्टराईले भनिन्।
विभिन्न स्वास्थ्य शिविरहरूमा गरिएका अध्ययनमा थाइरोइड रोग पहिलेभन्दा धेरै नै पाइएको उनले बताइन्।

तस्बिर स्रोत, Getty Images
दशकौँ पहिला आयोडिनको कमीले थाइरोइड हुने गरेकोमा अचेल गाउँघरदेखि सहरी भेगसम्म बस्ने मानिसहरूमा आयोडिनको मात्रा बढी भएका कारण हुने थाइरोइड रोग धेरै देखिएको उनले बताइन्।
सार्वजनिक स्वास्थ्य अभियानकै रूपमा सरकारले नुनमा ठिक्क मात्राको आयोडिन सुनिश्चित गर्न सके यस्तो रोगमा मानिसलाई पर्ने शारीरिक, मानसिक तथा आर्थिक समस्याबाट जोगाउन सकिने चिकित्सकहरूले बताएका छन्।
त्यसका साथै सर्वसाधारण मानिसहरूलाई दैनिक नुन प्रयोग कम गर्न प्रोत्साहन गर्नुपर्ने पनि डा भट्टराईले बताइन्। "म त मानिसहरूलाई दिनको आधा चिया चम्चाजति मात्र नुन प्रयोग गर्न सल्लाह दिन्छु," उनले भनिन्।
नेपाली भान्सामा आयोडिन कति बढी

तस्बिर स्रोत, Getty Images
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नै खाने नुनमा आयोडिनको मात्रा तोकिदिएको छ।
उसका अनुसार नुनमा आयोडिनको मात्रा १५-४० पीपीएम हुनुपर्छ। त्यो भनेको प्रति १० लाख नुनका कणमा १५ देखि ४० कण मात्र आयोडिनको हुनुपर्छ।
आयोडिनको कमीले हुने स्वास्थ्य समस्यालाई रोक्न सबै खाने नुनमा आयोडिन मिसाउन नेपाल सरकारले सन् १९७३ मै सुरु गरेको हो।
उसले साल्ट ट्रेडिङ कर्पोरेशनलाई आयोडिनयुक्त नुन आयात तथा बिक्रीवितरण गर्न अनुमति दिएको छ।
सरकारले प्रशोधनस्थलमा नुनमा कम्तीमा ५० पीपीएम आयोडिन मिश्रण गर्न भनेको छ। त्यति मात्रा हुँदा भान्सासम्म पुग्दा नुनमा कम्तीमा १५ पीपीएम आयोडिन बाँकी रहन्छ भन्ने अपेक्षा गरिन्छ।
तर कतिपय अध्ययनहरूले नेपालीहरूले खाने नुनमा ४० पीपीएमभन्दा धेरै आयोडिन रहेको देखाएका छन्। साथै नेपालीहरूको भान्सामा नुनकै प्रयोग पनि उचित मात्राभन्दा बढी हुने गरेको बताइन्छ।
सरकारले सन् २०१६ मा गरेको न्याश्नल माइक्रो-न्यूट्रिअन्ट स्ट्याटस सर्भेमा करिब ६८ प्रतिशत नमुनामा आयोडिनको स्तर ४० पीपीएमभन्दा धेरै पाइएको थियो।
त्यस्तै सन् २०२२ मा न्यूयोर्क अक्याडमी अफ साइन्सेसको जर्नलमा प्रकाशित एउटा शोधपत्रमा पनि नेपालका सात जिल्लाका करिब २,१०० परिवारबाट नुनको नमुना सङ्कलन गर्दा तीमध्ये ६७.२% मा आयोडिनको मात्रा ४५ देखि ७५ पीपीएमसम्म पाइएको उल्लेख छ।
नुनमा आयोडिनको मात्रा मिलाउन किन जरुरी
आयोडिन मानव शरीरलाई थोरै मात्रा अत्यावश्यक तत्त्व हो जसले थाइरोइड ग्रन्थिको स्वाभाविक कार्यमा सहयोग गर्छ।
शरीरमा आयोडिन कम वा बढी भएमा हाइपोथाइरोइडिज्म, हाइपरथाइरोइडिज्म, थाइरोइडाइटिस, थाइरोइड पपिलरी क्यान्सरजस्ता समस्या आइपर्ने विज्ञहरूले बताउँछन्।
तिनै समस्याबाट जोगिन विश्वभरि नै 'यूनिभर्सल साल्ट आयोडाइजेशन' कार्यक्रम लागु गरिएको थियो।
नुनमा आयोडिन मिसाउँदा सबैलाई उक्त तत्त्व पुग्ने विश्वासमा नेपालमा पनि सो कार्यक्रम लागु भएको हो। उक्त कार्यक्रमपश्चात् आयोडिन कमीका कारण हुने मानसिक सुस्तता तथा गलगाँडजस्ता समस्यामा उल्लेखनीय कमी आएको जानकारहरूले बताएका छन्।
तर नुनको प्याकेजिङ, मिश्रणको स्तर, ढुवानी तथा भण्डारणका कारण आयोडिनको स्तरमा तलमाथि हुन सक्ने देखिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








