टेलिकमले थाल्यो दुई सहरमा 'फाइभ जी' सेवाको प्रक्रिया, अन्यत्रको विस्तारमा अन्योल किन

फाइभ जी जनाउने साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Reuters

    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली

काठमाण्डू र पोखरामा 'फाइभ जी' सेवा थाल्ने गर्ने गरी प्रक्रिया अघि बढाइएको नेपाल टेलिकमका अधिकारीहरूले बताएका छन्।

"हामी सकेसम्म चाँडो उक्त सेवा थाल्नेमा छौँ तर फ्रिक्वेन्सी पाइसकेका छैनौँ," टेलिकमकी कार्यवाहक प्रबन्ध निर्देशक सविना मास्के प्रधानले बीबीसीसँग भनिन्, "नेपाल दूरसञ्चार प्राधिकरणसँग केही दिनअघि फ्रिक्वेन्सीका निम्ति अनुरोध गरेका छौँ। फ्रिक्वेन्सी पाएपछि उपकरण खरिदको प्रक्रिया हुन्छ।"

"उपकरण आएपछि केही नभए पनि (सेवा सुरु हुन) तीनचार महिना त लाग्छ नै।"

दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता प्रदीप पौड्यालले टेलिकमले माग गरेका फ्रिक्वेन्सीसहितका कतिपय विषयलाई उपलब्ध नीतिहरूमार्फत् सम्बोधन गर्न नमिल्ने भएकाले नीतिगत निर्णयका निम्ति प्रक्रिया अघि बढाइएको बताए।

"यसअघि फाइभ जीको परीक्षण गरिसकेको टेलिकमले त्यो सफल भएको बताएको थियो। अहिले फेरि 'प्रूफ अफ कन्सेप्ट' (व्यवहारिक जाँच) का निम्ति भनेर नि:शुल्क फ्रिक्वेन्सी उपलब्ध गराउन माग गर्नुभएको रहेछ। उपलब्ध नीतिमा त्यस किसिमको व्यवस्था छैन," उनले भने, "तर त्यसो भन्दैमा नदिने भन्ने भएन। मन्त्रालयबाट पनि ताकेता भइरहेकाले टेलिकमले फ्रिक्वेन्सी प्राप्त गर्ने तरिकाले नीतिगत निर्णयको प्रक्रिया अघि बढाएका छौँ।"

प्राधिकरणले 'बोलकबोल'का निम्ति कार्यविधि बनाइसकेको तर कतिपय फ्रिक्वेन्सीको मूल्य तय हुनै बाँकी रहेको पौड्यालले बताए।

फ्रिक्वेन्सीको मूल्यसम्बन्धी निर्णय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको 'फ्रिक्वेन्सी नीति निर्धारण समिति'ले गर्छ। सञ्चारमन्त्री त्यसको अध्यक्ष हुन्छन्।

"समितिको बैठक बस्ने तयारी हुँदैछ। मन्त्रीज्यूको समय हेरेर छिट्टै बस्छौँ। केके निर्णय गर्ने भन्नेचाहिँ समितिको कुरा भयो," उक्त समितिको सदस्यसमेत रहेकी मन्त्रालयकी सचिव राधिका अर्यालले बीबीसीसँग भनिन्।

हालैका सरकारहरूले टेलिकममाथि यथाशीघ्र फाइभजी सेवा थाल्न ताकेता गर्दै आएका छन्। सेवा प्रदायकहरूले भने 'लगानीअनुरूपको प्रतिफल नदेखिएको' भन्दै ठूलो लगानी गर्न हच्किइरहेका विवरणहरू आउने गरेका छन्।

टेलिकमको फाइभ जी 'प्लान'

फाइभ जी जनाउने साङ्केतिक तस्बिर

तस्बिर स्रोत, EPA

अहिले काठ्माण्डू र पोखरामा मात्रै सेवा अघि बढाउन खोजिएको टेलिकमकी मास्केले बताइन्।

"यो अहिले सीमित स्थानका लागि मात्रै हुने हामीले पहिलेदेखि नै बताउँदै आएका हौँ," उनले भनिन्, "यसमार्फत् हामीले प्राविधिक अनुभव हासिल गर्न खोजेका हौँ, अहिले सबैतिर जान्नौँ।"

उक्त दूरसञ्चार सेवाप्रदायकले विसं २०७९ मा काठमाण्डूका तीन ठाउँ, पोखरा र वीरगन्जमा फाइभ जीको परीक्षण गरेको थियो।

टेलिकमले लामो समयसम्म फाइभ जीका निम्ति कुन प्रविधि अपनाउने भन्ने निर्णय गर्न सकेको थिएन।

दूरसञ्चार विज्ञहरूका अनुसार प्राविधिक हिसाबले फाइभ जी नेटवर्कमा जाने दुईवटा तरिका हुन्छन्। एउटामा फोर-जीकै कतिपय प्रविधिलाई स्तरोन्नति गरिन्छ भने अर्कोमा 'स्ट्यान्ड अलोन' भनिने पूरै अत्याधुनिक प्रविधि अपनाइन्छ। उक्त छनौटले लगानीमा पनि व्यापक प्रभाव पार्ने बताइन्छ।

"हामीले 'एसए' (स्ट्यान्ड अलोन) मा जाने कि 'एनएसए' (नन स्ट्यान्ड अलोन) तरिकामा जाने भनेर छुट्याउनु पर्ने थियो। धेरै देश सुरुमा सिक्नका लागि 'एनएसए मोड' मा जान्छन्। तर त्यो अब अलि पुरानो भएको र फाइभ जीको अनुभव पनि खासै नदिने भएकाले हामी 'एसए'मा जाने भनेर अगाडि बढेका छौँ," मास्केले भनिन्।

अहिले काठ्माण्डू र पोखराका पनि सीमित स्थानमा मात्रै सेवा थाल्ने तयारी रहेको उनले बताइन्। "जुनजुन ठाउँमा आवश्यकता देखिन्छ, अहिले त्यही अनुसार जान्छौँ। उदाहरणका निम्ति काठमाण्डूको वसन्तपुर जस्तो भिडभाडयुक्त ठाउँलाई लिन सकिन्छ जहाँ फोर जी चलाउँदा कहिलेकाँही 'च्यानल' नपाएर सेवा रोकिन्छ। पोखरामा पनि त्यस्तै ठाउँ हेर्छौँ।"

फाइभ जी सेवाको मूल्य भने तय भइनसकेको मास्केले बताइन्। "सुरुमा हामी प्रविधि भित्र्याउनेतर्फ लाग्छौँ, त्यसपछि मात्रै 'ट्यारिफ' निर्धारण गर्छौँ। पहिलो चरणमा प्राविधिक सफलता चाहियो र त्यसबाट के सिक्छौँ भन्ने पनि हुन्छ। त्यसपछि विस्तारको कुरा हुन्छ।"

विस्तारमा अन्योल

मोबाइल सेवाप्रदायकको टावर
तस्बिरको क्याप्शन, फाइभ जीको व्यापक विस्तारका निम्ति ठूलो लगानीको खाँचो पर्ने जानकारहरू बताउँछन्

प्रतिफल प्राप्त हुने स्थिति हेरेरै एकैचोटि धेरैतिर सेवा विस्तार गर्न नखोजिएको मास्के स्वीकार्छिन्।

"फाइभ जी भनेको हातहातमा भएको मोबाइलमा 'डेटा' चलाउने भन्दा पनि 'इन्टरनेट अफ थिङ्स' (इन्टरनेटमार्फत् विभिन्न भौतिक उपकरणहरू एकआपसमा जोडिएर सूचना आदानप्रदान गर्न सक्ने प्रणाली) हो। हामी सुरुमा त्यो 'मशिन टु मशिन'को अनुभव हेर्छौँ। 'मशिन' लाई गति अधिक र 'लेटेन्सी' (डेटा आदानप्रदानमा लाग्ने समय) कम चाहिन्छ, नत्र त व्यक्तिले गर्ने खपतका निम्ति अहिलेकै फोर जीले पुगेकै छ नि।"

"नयाँ प्रविधिमा नजाने भन्नेचाहिँ हुँदैन तर कतिसम्म गर्न सकिन्छ हेर्छौँ," उनले भनिन्।

दूरसञ्चार प्राधिकरणका अधिकारीहरूका अनुसार अर्को सेवाप्रदायक 'एनसेल'ले भने फाइभ जीमा जानेतर्फ पछिल्ला दिनहरूमा कुनै चासो दिएको छैन।

जानकारहरूका अनुसार टेलिकम सेवाको 'जेनेरेसन' बढ्दै जाँदा उच्चस्तरीय उपकरणहरूको खाँचो पर्नुका साथै 'बीटीएस' टावरहरू अझ नजिकनजिक स्थापना गर्न आवश्यक हुन्छ। त्यसका लागि ठूलो लगानी आवश्यक हुन्छ।

दूरसञ्चार क्षेत्रका कतिपय विज्ञ फाइभ जीमा जान ढिला भइसकेको बताउने गर्छन्।

टेलिकमको प्रबन्ध निर्देशक रहिसकेका बुद्धिप्रसाद आचार्य फाइभ जीको 'प्ल्याटफर्म' नराखिकन त्यसमा व्यापारको आधार बन्दैन होला भनेर अनुमान गर्नु गलत हुने बताउँछन्।

"बरु अहिले त्यसमा कुन आकारको लगानी गरेर अघि बढ्ने भन्ने निर्णय उनीहरूले गर्न सक्छन् तर त्यता नगइ उपाय नै छैन। जबसम्म नेटवर्क आउँदैन तबसम्म व्यापारको सम्भावना खुल्दैन नि," उनी भन्छन्, "त्यसका साथै आज फाइभ जीको आधार तयार गर्दा भोलि सीक्स जीमा जान मद्दत पुग्छ भन्ने टेलिकम कम्पनीहरूले बुझिरहेका छैनन्।"

"अचेल मान्छेको विभिन्न 'बिजनेश पोइन्ट' हुन्छ र त्यसबाट 'मशिन'सँग काम भइरहेको हुन्छ। त्यसैले यसमा व्यक्तिको पनि कुरा आउँछ, व्यवसाय र 'मशिन टु मशिन'को पनि कुरा आउँछ। कति ठूलो नेटवर्कमा हामी पुग्दैछौँ भन्ने कुराको वास्तवमा हामीले कल्पना समेत गर्न सकिरहेका छैनौँ।"

तर त्यतातिरको आधार बनाउनेतर्फ सेवाप्रदायकहरू लागेको नदेखिएको आचार्य बताउँछन्।

"झ्यापझुप सबै एकैचोटि गर्ने भनेको होइन तर फाइभ जी र सीक्स जीका लागि चाहिने 'अप्टिकल फाइबर'जस्ता मेरुदण्डको नेटवर्क बनाउँदै त्यसको आधारलाई बलियो बनाउन जरुरी छ, अन्यथा भोलि एकैचोटि ठूलो लगानीको खाँचो पर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।