तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'गर्भमै बुक', ५०० पाउन्डमा बिक्री : इन्डोनेशियाबाट बच्चा तस्करी गर्ने गिरोह पक्राउ
- Author, क्विनावती पासारिबु र गेभिन बट्लर
- Role, बीबीसी न्यूज
- Reporting from, जकार्ता र सिङ्गापुर
इन्डोनेशिया प्रहरीले बच्चा तस्करी गर्ने एउटा अन्तर्राष्ट्रिय गिरोह पत्ता लगाएको छ जुन गिरोहले सन् २०२३ देखि यता सिङ्गापुरमा कम्तीमा २५ जना शिशुहरू विक्रि वितरण गरिसकेको बताइएको छ।
अधिकारीहरूले यो साता उक्त गिरोहसँग सम्बन्ध भएका १३ जनालाई इन्डोनेशियाका पोन्टियानाक र टाङ्गेराङ्ग सहरबाट पक्राउ गरेका छन् भने तस्करी गर्न लागिएका छ बच्चाको उद्धार गरेका छन्। उद्धार गरिएका सबै बच्चाको उमेर एक वर्षजति छ।
"ती बच्चाहरूलाई पहिला पोन्टियानाकमा राखिन्थ्यो र सिङ्गापुर पठाउनुअघि अध्यागमनका लागि आवश्यक कागजपत्र तयार पारिन्थ्यो," वेस्ट जाभा प्रहरीको अपराध अनुसन्धान विभागका महानिर्देशक सुरुवानले बीबीसी न्यूज इन्डोनेशियासँग भने।
बीबीसी न्यूजले सिङ्गापुर प्रहरी र सिङ्गापुरको गृह मन्त्रालयलाई प्रतिक्रियाका लागि सम्पर्क गरेको छ। तर अहिलेसम्म प्रतिक्रिया प्राप्त भएको छैन।
प्रहरीका अनुसार उक्त गिरोहले बच्चा हुर्काउन नचाहने आमाबुवा वा गर्भवती महिलालाई सम्पर्क गर्ने गरेको थियो। केही घटनाहरूमा उक्त गिरोहले फेसबुकमा कुराकानी थाल्ने र पछि गोप्यता कायम गर्न सकिने ह्वाट्स्यापजस्ता माध्यम प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।
"केही बच्चाहरू त गर्भमा हुँदा नै बुक गरिएका थिए," सुरुवानले भने। "बच्चा जन्मिएपछि सुत्केरी हुँदा लागेको खर्च बेहोरिन्थ्यो अनि क्षतिपूर्तिको पैसा दिइन्थ्यो र बच्चा लिइन्थ्यो।"
सुरुवानका अनुसार उक्त गिरोहका सदस्यमा तस्करी गर्न सकिने बच्चा खोज्न सक्ने व्यक्तिहरू, हासिल गरिएका बच्चाहरू स्याहारसुसार गर्ने र आफूसँग राख्ने व्यक्तिहरू अनि फर्जी 'फ्यामिली कार्ड' र पासपोर्टजस्ता कागजपत्र बनाउने व्यक्तिहरू थिए।
आमासँग अलग्ग्याएर बच्चाहरू लगेपछि तिनलाई दुईदेखि तीन महिनाका लागि स्याहारसुसार गर्ने मानिसहरूको जिम्मा लगाउने गरिएको अनि त्यसपछि जकार्ता र अन्ततः पोन्टिनियाक पठाउने गरिएको प्रहरीले बताएको छ। पोन्टेनियाकमा ती बच्चाको जन्मदर्ताको प्रमाणपत्र, पासपोर्ट र अन्य कागजपत्र बनाइन्थ्यो।
प्रत्येक बच्चा १.१ करोड इन्डोनेशियाली रुपिया (झन्डै ६७३ अमेरिकी डलर, ५०० पाउन्ड, ९२,००० नेपाली रुपैयाँ) देखि १.६ इन्डोनेशियाली रुपियामा बेचिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ गरेका केही सन्दिग्धहरूका अनुसार उक्त गिरोहले इन्डोनेशिया र विदेशमा गरी कम्तीमा १२ बालक र १३ बालिका बेचेको थियो। बेचिएका अधिकांश बच्चाहरूलाई इन्डोनेशियाको वेस्ट जाभा प्रान्तका विभिन्न जिल्ला र सहरबाट ल्याइएको थियो।
इन्डोनेशिया प्रहरीले बिहीवार "तत्कालको कार्य" भनेको सिङ्गापुरमा ती बच्चा लिने मानिसहरू पत्ता लगाउनु रहेको बताएको छ।
"हामी विदेश गएका बच्चाहरूको डेटा जाँच्छौँ। त्यसो गर्दा को-को बाहिरिए, उनीहरूसँग को-को थिए, उनीहरू कहिले बाहिरिए अनि त्यहाँ ती बच्चा लिनेहरू को हुन् भन्ने हामी ठ्याक्कै पत्ता लगाउन सक्छौँ," सुरुवानले सञ्चारकर्मीहरूसँग भने।
प्रहरीले सङ्कलन गरेको अधिकांश सूचनाले ती बच्चाहरूको राष्ट्रियता फेरिएको सङ्केत गरेको उनले बताए। उनका अनुसार अधिकारीहरूले अझै तिनका पासपोर्टहरूको खोजी गर्दै छन्।
यसअघि सुरुवानले बीबीसी न्यूज इन्डोनेशियालाई बताएअनुसार तस्करहरूले बच्चाका आमाबुवासँग सहमति गरेर बच्चाहरू हासिल गरेका थिए र अहिलेसम्म कुनै पनि बच्चालाई अपहरण गरेर प्राप्त गरिएको थिएन। आफ्ना बच्चाहरूको अपहरण भएको उजुरी गर्ने आमाबुवाले दलालबाट पैसा नपाएपछि त्यसो गरेको उनले बताए।
केही आमाबुवा आर्थिक बोझका कारण आफ्ना बच्चा बेच्न सहमत भएको आशङ्का गरिएको छ। उनीहरूलाई आर्थिक अपराध गरेको अभियोग लगाउन सकिने सुरुवानले बताए।
"यदि आमाबुवा र दोषीहरूबीच कुनै सहमति गरिएको प्रमाणित भयो भने उनीहरूलाई बाल सुरक्षासम्बन्धी अपराध र मानव तस्करीको अपराध गरेको अभियोग लगाउन सकिन्छ," उनले भने।
इन्डोनेशिया प्रहरीले इन्टरपोल र सिङ्गापुर प्रहरीलाई अझै विदेशमा रहेका उक्त गिरोहका सदस्यहरू तथा बच्चा किन्ने मानिसहरू पक्राउ गर्न सहयोगका लागि अनुरोध गरेको छ।
"हामी ती दोषीहरूलाई खोजी गरिएका मानिसहरूको सूचीमा राख्छौँ," सुरुवानले भने। "त्यसबाहेक हामी 'रेड नोटिस' जारी गर्छौँ वा ती देशका कानुन कार्यान्वयनकारी निकायलाई उनीहरूलाई पक्राउ गर्न अनुरोध गर्छौँ।"
बच्चा तस्करी गर्ने गिरोहहरूले प्रायजसो अप्ठ्यारो अवस्थामा रहेका महिलाहरूलाई लक्षित गर्ने गरेको इन्डोनेशियन चाइल्ड प्रोटेक्शन कमिशन (केपीएआई)की आयुक्त आई रहमयन्तीले बताइन्।
"उदाहरणका लागि, महिलाहरू यौनहिंसाका कारण गर्भवती भएका हुन सक्छन्, पतिले परित्याग गरेका हुन सक्छन् वा विवाह नगरी सहवासबाट अनिच्छित गर्भ बसेको हुन सक्छ," उनले बीबीसी न्यूज इन्डोनेशियासँग भनिन्।
इन्डोनेशियामा चिकित्सकीय कारणले गर्नैपर्ने भए र बलात्कारबाट बसेको गर्भजस्ता केही अवस्थामा बाहेक गर्भपतन अवैध छ।
रहमयन्तीका अनुसार शिशु वा बच्चा तस्करी गर्ने गिरोहहरू प्रायजसो जोखिममा पर्न सक्ने महिला र बालबालिकालाई सेवा प्रदान गर्ने जस्तो देखिने गरी प्रसूति क्लिनिक, अनाथालय वा सामाजिक आश्रयस्थल सञ्चालन गर्छन्।
"ती क्लिनिक वा आश्रयस्थलहरूले सुरुमा सहानुभूति भएको भाषा प्रयोग गर्छन् - जस्तै 'तपाईँ बच्चा जन्माएर पछि आफूसँगै लैजान पाउनुहुन्छ'। तर यथार्थमा उनीहरू पैसाको लोभ देखाउँछन् र बच्चाको अभिभावकत्व गैरकानुनी रूपमा सार्छन्," उनले भनिन्।
इन्डोनेशियामा बेचिने बच्चाहरूबारे आधिकारिक तथ्याङ्क छैन। तर मानव तस्करीसम्बन्धी अपराधबारे केपीएआईले सङ्कलन गरेको तथ्याङ्कले बच्चा तस्करी गर्ने क्रम निरन्तर बढिरहेको देखाउँछ।
सन् २०२० मा केपीएआईले गैरकानुनी रूपमा धर्मसन्तान ग्रहण गरिएका ११ वटा घटनामा बच्चाहरू पीडित भएको अभिलेख राखेको थियो। सन् २०२३ मा अवैध किसिमले धर्मसन्तान ग्रहण गर्न बच्चाहरूको अपहरण र तस्करी गरिएका ५९ वटा घटनाको विवरण केपीएआईले सङ्कलन गर्यो।
केपीएआईले उठाएकामध्ये एउटा पछिल्लो घटना सन् २०२४ को हो। त्यस बेला डिपोक, वेस्ट जाभा र बालीजस्ता ठाउँमा बच्चाहरू बेचिँदै गर्दा फेला परेका थिए।
उनका अनुसार ती बच्चाहरूलाई विभिन्न मूल्यमा बेचिएको थियो।
"जाभामा [मूल्य] १.१ करोडदेखि १.५ करोड इन्डोनेशियाली रुपिया थियो। बालीमा भने त्यो २ करोडदेखि २.६ इन्डोनेशियाली रुपियासम्म पुग्न सक्छ," उनले भनिन्। "मूल्य विभिन्न कुराले तय गर्न सक्छ। त्यसमध्ये एउटा बच्चाको शारीरिक रूप पनि हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।