अमेरिकी हमलापछि परिवर्तन भएको द्वन्द्वको अवस्था र तेहरानले चाल्न सक्ने कदम

    • Author, जो फ्लोटो
    • Role, मध्यपूर्व ब्यूरो चिफ, जेरुसलेम

आइतवार बिहान आफ्नो कार्यालयबाट सम्बोधन गर्दै गर्दा इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू हिब्रु भाषाको साटो अङ्ग्रेजीमा बोल्न थाले। उनी आफ्ना नागरिकहरूलाई सम्बोधन गर्दै इजरेल-इरान द्वन्द्वसँग सम्बन्धित पछिल्लो जानकारी दिइरहेका थिए।

यस क्रममा उनले इरानका परमाणु स्थलहरूमा बम प्रहार गरेकोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशंसा गरे।

नेतन्याहूको स्वर विजेताको जस्तो रहेको त्यस बेला अनुहारमा मुस्कान देखिएको थियो भने त्यो अचम्मको कुरा होइन।

आफ्नो राजनीतिक यात्राको अधिकांश समय उनले इरान इजरेलका लागि खतरा हो भन्ने विश्वास गरेका छन् र उनले यो दाबी धेरै पटक दोहोर्‍याएका छन्।

नेतन्याहूले पछिल्ला १५ वर्षमा अमेरिका र यसका सहयोगीहरूलाई सैन्य कारबाही (र केवल अमेरिकी अस्त्रका साथमा मात्र)ले इरानको परमाणु अस्त्र कार्यक्रमलाई नष्ट गर्न सक्छ भन्ने विश्वस्त पार्न धेरै समय खर्चेका छन्।

"इतिहास बदल्ने" साहसिक निर्णयको लागि ट्रम्पलाई बधाई दिएका नेतन्याहूले चाहे भने आफैँलाई पनि बधाई दिन सक्छन् किनभने वैदेशिक सैन्य कारबाहीविरुद्ध अभियान चलाएका र इरानविरुद्ध इजरेलको युद्धमा सामेल नहुन समर्थकहरूको व्यापक दबावमा रहेका ट्रम्पको मन फर्काउन उनी सफल भएका छन्।

त्यसलाई हामीले ट्रम्पको आफ्नै गुप्तचर संयन्त्र पनि 'तत्कालै इरानले परमाणु अस्त्र बनाउँदैछ' भन्ने इजरेली मूल्याङ्कनमा सहमत थिएन भन्ने पृष्ठभूमिमा राखेर हेर्नुपर्छ। उनीहरूले वास्तवमा इरानले त्यस्तो निर्णय गरेको छ भन्ने पनि ठानेका थिएनन्।

यद्यपि मात्र १० दिनअघि द्वन्द्व सुरु भएसँगै इजरेली सरकार र सेनाले आफैँसँग इरानी खतरासँग जुध्ने क्षमता भएकोमा जोड दिएका थिए।

तर अमेरिकासँग मात्र फोर्दोजस्ता जमिनमुनि निकै गहिराइमा रहेका परमाणु केन्द्रहरूलाई नष्ट गर्न सक्ने "बङ्कर बस्टर" रहेको कुरा गोप्य थिएन।

त्यो अमेरिकी बमलाई जीबीयू-५७ 'म्यासिभ ओर्डनेन्स पेनिट्रेटर' (एमओपी) भनिन्छ।

यदि अहिले बम खसालिएका पारमाणविक केन्द्रहरू अहिले वास्तवमा निस्क्रिय भइसकेका हुन् भने इजरेली प्रधानमन्त्रीले उनको युद्धको मुख्य लक्ष्य पूरा भएको घोषणा गर्न सक्नेछन् र सम्भवत त्यसले यो द्वन्द्वलाई अन्त्यतर्फ लैजानेछ।

तर इरानले त्यहाँबाट परमाणुसम्बन्धी सामग्रीहरू पहिले नै अन्यत्र सारेको जनाएको छ।

तर शनिवार राति बम प्रहार नगरिएको भए इजरेल आफ्नो हवाई सेनाले वर्षौँदेखि रेखाङ्कन गरेका लक्ष्यहरूमा काम गरिराखेको हुन्थ्यो।

इजरेलले इरानी सेना, यसका कमान्डरहरू, परमाणु वैज्ञानिकहरू, सरकारी पूर्वाधार र इजेरली बमको पहुँचमा भएका परमाणु केन्द्रका भागहरूमा क्षति पुर्‍याइरहन्थ्यो।

तर नेतन्याहूलाई अहिले यस्तो स्पष्ट अवस्था प्राप्त भएको छ जहाँ इरानको परमाणु खतरालाई निश्चित रूपमा तटस्थ गरिएको भनेर उनले भन्न सक्छन्। सायद उनलाई इरानमा सत्ता परिवर्तनपछि मात्र त्यो मौका मिल्न सक्थ्यो।

बीटू बमवर्षक विमानहरूले निस्सन्देह युद्धको मार्ग परिवर्तन गरिदिएका छन्। यो अझ बढ्छ कि बढ्दैन भन्ने कुरा इरान र यसका सहयोगीहरूले कसरी प्रतिक्रिया दिन्छन् भन्नेमा निर्भर गर्छ।

यद्यपि अमेरिकी आक्रमणपछि बोल्दै इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले "भोली आफू मस्को जाने" र पछिल्लो अवस्थाबारे रुससँग छलफल हुने बताएका छन्।

त्यसको अर्थ के हो भने त्यहाँ युद्धको सम्भावना बढ्न सक्छ।

गत साता मात्र इरानका सर्वोच्च नेताले अमेरिका युद्धमा प्रवेश गरेमा जबाफी प्रहार गर्ने वाचा गरेका थिए।

"अमेरिकीहरूलाई थाहा हुनुपर्छ कि कुनै पनि अमेरिकी सैन्य हस्तक्षेपले निस्सन्देह अपूरणीय क्षति तय गर्ने छ," अयातोल्लाह अली खामेनेईले भनेका थिए।

शनिवार मात्र यमनमा रहेको इरानको समर्थन पाएको हुथी समूहले अमेरिका युद्धमा प्रवेश गरे रेड सी हुँदै जाने अमेरिकी जहाजहरूमा आक्रमण गर्ने धम्की दिएको थियो।

अमेरिकी सैनिकहरू, व्यवसाय र यस क्षेत्रका नागरिकहरू अब सम्भावित लक्ष्य हुन सक्छन्।

इरानले चाहेमा धेरै तरिकाले जवाफी हमला गर्न सक्छ। उसले खाडीमा रहेका अमेरिकी युद्धपोत वा सैन्य अखडाहरूमा आक्रमण गर्न सक्छ र सम्भावित रूपमा खाडीबाट तेलको प्रवाहमा बाधा पुर्‍याउन सक्छ अनि पेट्रोलको मूल्य बढ्न सक्छ।

अमेरिकाले अहिलेको लागि आफ्नो सैन्य कारबाही सकिएको र तेहरानमा सत्ता परिवर्तन गर्ने आफ्नो चासो नरहेको सङ्केत गरेको छ।

त्यसले इरानलाई आफ्नो प्रतिक्रियालाई सीमित गर्न प्रोत्साहित गर्न सक्छ। त्यो भनेको धेरै व्यापक हताहत नहुने गरी अमेरिकी लक्ष्यहरूमा आक्रमण गर्न वा त्यसका लागि आफ्ना 'प्रोक्सी'हरूलाई प्रयोग गर्न सक्छ।

ट्रम्पले सन् २०२० मा इरानी रिभोलुसनरी गार्डसका जेनेरल कासिम सुलेमानीको हत्याको आदेश दिएपछि इरानले सोही मार्ग छनोट गरेको थियो।

अमेरिकी राष्ट्रपतिले शनिवार इरानलक्षित चेतावनी दोहोर्‍याउँदै कुनै पनि प्रतिशोधको सामना गर्न अत्यधिक बल प्रयोग गर्न सक्ने बताएका थिए।

अहिले सम्पूर्ण मध्यपूर्व आफ्नो सास थामेर बसेको छ र यो द्वन्द्व अन्त्य हुने सुरुवात हो वा अझ घातक चरणको युद्धको सुरुवात हो भनेर पर्खिरहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।