गाजामा भोकमरी : आकाशबाट खानेकुरा खसाल्ने योजनामा ब्रिटेन पनि

सहयोग लिन प्रतीक्षारत गाजाका बासिन्दा

तस्बिर स्रोत, Reuters

ब्रिटिश सैन्य योजनाविद्हरूको एउटा सानो टोलीले गाजामा सहायता सामग्री आकाशबाट खसाल्ने योजनामा जोर्डनलाई सघाउन लागेको बुझिएको छ। तिनलाई आगामी दुई दिनभित्र परिचालन गर्न सकिने बताइएको छ।

प्रधानमन्त्री केअर स्टार्मरले शनिवार मिरर पत्रिकामा लेख्दै ब्रिटिश सरकारले 'ब्रिटिश सहायतालाई विमानमा राखेर गाजामा पुर्‍याउन जोर्डनी अधिकारीहरूसँग तत्काल कार्य थालिसकेको' उल्लेख गरेका छन्।

विगतमा पनि यूकेले गाजामा जोर्डनी नेतृत्वमा आयोजित अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत ११० टन राहत सामग्री आकाशबाट खसालेको थियो।

गाजामा गम्भीर बिरामी परेका बालबालिकालाई यूकेमा औषधोपचारमा पहुँच दिलाउने नयाँ योजना पनि थालिने बताइएको छ।

कति बालबालिकालाई कसरी सहयोग गरिन्छ भनेर प्रस्ट पारिएको छैन। तर गत एप्रिलमा प्रोजेक्ट प्योर होप अभियानअन्तर्गत दुई बालबालिकालाई यूके ल्याएर उपचार गरिएको कामलाई नै विस्तार गरिने ठानिएको छ।

के भएको छ पछिल्लो २४ घण्टामा?

इजरेलले आगामी दिनहरूमा अन्य देशहरूले गाजामा आकाशबाट खसालेर सहायता सामग्री त्यहाँ पुर्‍याउन सक्ने बताएको छ। जोर्डन र संयुक्त अरब इमिरेट्सले उक्त कार्य गर्ने ठानिएको छ – तर कहिले र कसरी राहत खसालिन्छन् भनेर विवरण खुलाइएको छैन।

यूकेका प्रधानमन्त्री स्टार्मरले गाजामा हवाई सहायता पुर्‍याउन सक्दो सहयोग गर्ने बताएका छन्।

तर संयुक्त राष्ट्रसङ्घले यस किसिमका वितरण 'खर्चिलो र कम प्रभावकारी' हुने भनेको छ।

अन्तर्राष्ट्रिय सहयोग संस्था मेडिसाँ साँ फ्रन्तिए (एमएसएफ)ले आकाशबाट खसालिएका सामग्रीमा पहुँच पाउन जोखिममा परेका मानिसहरूलाई कठिन हुने र त्यसले थप अस्तव्यस्तता निम्त्याउन सक्ने चेतावनी दिएको छ।

विश्व खाद्य कार्यक्रमका अनुसार गाजामा प्रत्येक तीनमध्ये एक मानिसले कैयन् दिनदेखि खान पाएका छैनन्। त्यहाँ ९० हजार महिला तथा बालबालिकालाई कुपोषणको 'तत्काल उपचार'को खाँचो परेको उसले बताएको छ।

फ्रान्स, यूके र जर्मनीका नेताहरूले इजरेलले 'सहायताको प्रवाहमाथि लगाइएको व्यवधान तत्काल हटाउन पर्नेमा' सहमति जनाएका छन्।

तीमध्ये हालसम्म केवल फ्रान्सले प्यालेस्टीनी राज्यलाई मान्यता दिने भनेको छ। तर इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले फ्रान्सको कदमले "आतङ्कवादलाई पुरस्कृत गर्ने" प्रतिक्रिया व्यक्त गरेका छन्। फ्रान्सको निर्णयलाई अमेरिकाले पनि आलोचना गरेको छ।

यूकेमा २०० जनाभन्दा धेरै सांसदहरूले यूकेले पनि त्यस्तै मान्यता दिन अनुरोध गरे पनि स्टार्मरले त्यसमा सहमति जनाएका छैनन्।

प्यालेस्टीनी राज्यलाई मान्यता दिने विषय उक्त क्षेत्रको समग्र योजनाअन्तर्गत पर्ने स्टार्मरले बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको सदस्य बनेका १९३ राष्ट्रमध्ये अहिलेसम्म १४० वटाभन्दा बढीले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएका छन्। तीमध्ये स्पेन र आयरल्यान्डसहितका केही ईयू सदस्यराष्ट्र छन्।

इजरेल के भन्छ?

गाजाका बासिन्दा खाद्य सहायतामा निर्भर छन्

तस्बिर स्रोत, Reuters

गाजामा भोकको सङ्कट गहिरिएपश्चात् इजरेलमाथि सहायता वितरणको दबाव बढेपनि उसको रुचि सङ्कट सम्बोधनमा भन्दा पनि आलोचना अस्वीकार गर्नमा ज्यादा देखिएको बीबीसीका मध्यपूर्व संवाददाता ह्युगो बचेगाले जनाएका छन्।

इजरेलले उसले र अमेरिकाले समर्थन गरेको गाजा ह्युमेनिटेरियन फाउन्डेशन (जीएचएफ)ले 'दशौँ लाख खाना' बाँडेको भन्दै हमाससँग मिलेर संयुक्त राष्ट्रसङ्घले सहायता वितरणमा रोकावट गरेको आरोप लगाएको छ।

राष्ट्रसङ्घीय अधिकारीहरूले खानेकुरालाई अस्त्रका रूपमा उपयोग गरिएको भनेका छन् जुन युद्ध अपराध मानिन्छ।

इजरेलले त्यस्ता आरोपको खण्डन गरेको छ।

मध्येपूर्व संवाददाता ह्युगो बचेगा भन्छन् इजरेलले बीबीसीसहित अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूलाई गाजामा जानबाट रोकिदिएको छ। जसको अर्थ हुन्छ ती संस्थाले गाजाभित्रबाट रिपोर्टिङ् गर्न सक्दैनन् र उनीहरू प्यालेस्टीनी पत्रकारहरूमा निर्भर रहन्छन् जो स्वयं भोकको चपेटामा परेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।