नेपालमा जलन उपचारको दयनीय स्थिति, ‘पैसा भए पनि उपचार कठिन’

सांसद चन्द्र भण्डारीलाई उपचारको क्रममा लगिँदै
तस्बिरको क्याप्शन, सांसद चन्द्र भण्डारीलाई उपचारको क्रममा लगिँदै

बुधवार राति काठमाण्डूको बुद्धनगरस्थित आफ्नै घरमा आगोले पोलेर गम्भीर घाइते भएकी हरिकला भण्डारीको निधन भयो। उनका छोरा, नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी शरीरमा ३० प्रतिशत जलनसहित घाइते छन्। उपचारका लागि उनलाई आज बिहीवार भारतको मुम्बई लगिएको छ।

कारण - उनको श्वास नलीमा तातो हावा र धुवाँको कारण जलन भएको हुनसक्ने सम्भावना भएको बताइएको छ।

काठमाण्डू उपत्यकाभित्र र बाहिरका अधिकांश जलनका बिरामीहरू सोझै या रेफर भएर पुग्ने अस्पतालहरूमध्ये एक हो कीर्तिपुर अस्पताल।

उक्त अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ,''हालको श्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ।''

अनुहारको भाग जल्दा श्वास नलीमा पर्नसक्ने गम्भीर असरको जोखिम कम गर्न अन्यत्र रेफर गरिएको बताउँछन् अस्पतालका जलन उपचार विभाग प्रमुख किरण नकर्मी।

त्यसरी बन्द कोठामा आगलागी हुँदा त्यहाँ कार्बन मोनोअक्साइड ग्यास उत्पादन हुन्छ। कार्बन मोनोअक्साइड ग्यास र तातो धुवाँमा सास फेर्दा तिनको उच्च तापक्रमले मानिसको मुखदेखि श्वास प्रश्वास र फोक्सोसम्मै जलाउन सक्ने विज्ञहरू बताउँछन्।

“त्यसरी भएको घाउ देखिँदैन। जो जलनमा पर्छन् उनीहरूको श्वास नली सुनिँदै गएर बन्द हुन्छ र मानिसको ज्यानसमेत जान सक्छ,” विज्ञ डा. नकर्मीले बताए।

"भण्डारीजीको श्वास नलीमा पनि त्यस्तै भित्री असर परेको छ भने तत्काल थाहा हुँदैन। त्यस्तो असरको सम्भावना ध्यानमा राखेर उपचारका लागि विदेश जान सुझाव दिएका हौँ। नेपालमा जटिल जलन उपचार गर्न पर्याप्त स्रोत साधन छैन,” उनले भने।

उनका अनुसार अधिकांश जलनका घाइतेलाई फोक्सोमा न्युमोनिया देखिने र कृत्रिम श्वास दिनुपर्ने स्थिति आउन सक्छ।

छैनन् सरकारी अस्पताल

नेपालमा जलनका घाइतेहरूलाई उपचार गर्न भनेर बनाइएका सरकारी अस्पताल छैनन्। यद्यपि, पछिल्लो समय सबै खाले रोगको उपचार हुने सङ्घीय अस्पतालहरूमा ४ देखि ६ वटा शय्यासहित जलन विभाग छुट्याइएको अधिकारीहरू बताउँछन्।

“हामीले बिरामीलाई सरकारी अस्पतालका 'बर्न युनिट'बाटै औषधोपचार गराउँदै आएका छौँ। त्यहाँ उपचार नहुने धेरै जलन भएका बिरामी छन् भने मात्र अन्यत्र पठाउने हो,” स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले बीबीसीसँग भने।

उनले सङ्केत गरेको ‘अन्यत्र’ काठमाण्डूमा अवस्थित कीर्तिपुर अस्पताल र सुषमा कोइराला मेमोरियल अस्पताल हुन्।

“हामीले गैरनाफामुखी र सामुदायिक अस्पतालहरूसँगको समन्वयनमा आम मानिसलाई जलनको उपचार सेवा दिइराखेका छौँ। हामीले ती अस्पतालहरूलाई वार्षिक रूपमा अनुदान वा अन्य सेवाहरू उपलब्ध गराइरहेका छौँ,” उनले जिकिर गरे।

जलनका बिरामीहरूको शरीरका विभिन्न अङ्गहरूमा फरक फरक किसिमको जटिलता देखिने भएकाले “जनलकै लागि मात्र भनेर अस्पताल निर्माण नभएको” उनको तर्क छ।

उनले भने,”बनाइयो भने पनि 'इन्टिग्रेटेड' अस्पताल बनाउनु पर्छ। किनकि 'बर्न' बिरामीको स्वास्थ्यमा अन्य जटिलता पनि देखिने रहेछ। त्यसैले एउटा मात्र सेवाको बनाउनु हुँदैन रहेछ।''

प्रतीकात्मक तस्बिर

तस्बिर स्रोत, Getty Images

‘राज्यबाट पर्याप्त सहयोग छैन’

सरकारले आफूले आवश्यक समन्वयन र सहयोग गरेको बताए पनि जलन उपचार विशेष अस्पतालहरू भने फरक मत राख्छन्।

राज्य स्तरबाट जलनका बिरामीहरूलाई दिइनु पर्ने सेवा नदिइएको कीर्तिपुर अस्पतालका जलन विभाग प्रमुख डा. किरण नकर्मी गुनासो गर्छन्।

उनी भन्छन्,”अस्पताल स्थापनामा नेपाल सरकारको सहयोग भएको थियो। विभिन्न तालिमहरू आयोजना गर्न पनि सहयोग प्राप्त भएको छ। सरकारकै पहलमा एसिड परेका कारण समस्या भएका बिरामीको नि:शुल्क उपचार हुँदै आएको छ। तर बिरामीको प्रकृति र सङ्ख्याको हिसाबमा यो पर्याप्त छैन।“

नेपाल सरकारले उक्त अस्पतालको लागि वर्षको ३० लाख रुपैयाँ बजेट तोकिदिएको भए पनि हालसम्म उक्त रकम चलाउन नपाएको नकर्मीले सुनाए।

हालसम्म विदेशी दाताहरूको सहयोगमा विपन्न नेपालीहरूलाई सहुलियत वा नि:शुल्क उपचार सेवा प्रदान गर्दै आएको उनले बताए।

''जति बिरामी आउँछन् त्यस अनुरूप संरचना नै छैन। जनशक्तिको पनि उस्तै अभाव छ। कहिलेकाहीँ हामीले हाम्रो जनशक्तिलाई विदेश पठाएर तालिम गर्नुपर्ने हुनसक्छ। त्यसमा पनि राज्यको भूमिका हुनसक्छ,'' उनले भने।

सुषमा कोइराला मेमोरियल अस्पतालले भने विभिन्न प्रस्तावहरू पेस गरी हालसम्म सरकारमार्फत् एक पटक ६० लाख रुपैयाँ र अर्को पटक ५० लाख रुपैयाँ प्राप्त गरेको त्यहाँकी शल्य चिकित्सक डा. रोजिना शिल्पकारले बीबीसीलाई जानकारी दिइन्।

''त्यसलाई हामीले १८ वर्षमुनिका बालबालिकाहरूको नि:शुल्क उपचार गर्न प्रयोग गरेका छौँ,'' उनले भनिन्।

redline
यो पनि पढ्नुहोस्
redline

समग्र समस्या कस्ता?

विज्ञ डा. नकर्मी काठमाण्डू बाहिरका प्राय अस्पताल वा स्वास्थ्य संस्थाहरूमा जलनको प्राथमिक उपचारसमेत नहुनुलाई प्राथमिक समस्या ठान्छन्।

''जलेका मानिस टाढा टाढाबाट काठमाण्डू नै आउनु पर्दा उनीहरूले तत्काल पाउनुपर्ने उपचार र औषधि पाउँदैनन्। झन् सघन उपचारको लागि त यहीँ पनि विज्ञ जनशक्ति नै अभाव छ,” उनले भने।

त्यस्तै सरकारी अस्पतालहरूमा स्थापित जलन विभागहरूमा यथेष्ट शय्या र “नर्स, फिजिओथेरापिस्ट, पोषणविद्, मनोविद्जस्ता विशेषज्ञ जनशक्ति पर्याप्त नहुनु”लाई अर्को ठूलो समस्याको रूपमा उनले व्याख्या गरे। जसका कारण १५ प्रतिशतभन्दा बढी जलेका बिरामीहरूलाई प्राय कीर्तिपुर वा सुषमा कोइराला अस्पतालमा नै पठाइन्छ।

डा. रोजिना शिल्पकारका अनुसार जलनका घाइतेको स्थिति प्राय करिब पाँच/छ दिनपछि मात्र जटिल बन्दै जान्छ। चौबिस घण्टाभित्र उचित प्राथमिक उपचार गरेपछि उनीहरू हिँड्न वा डुल्न समेत सक्लान्। तर, जलेको अङ्गहरू समयसँगै पाक्दै जाने र त्यहाँ सङ्क्रमण सुरु हुने उनी बताउँछिन्।

''त्यसरी बिग्रिएको घाउ काटेर फाल्नु पर्छ। विकल्पको रूपमा घाइते स्वयंको अन्य अङ्गको छाला वा दान गरिएको छाला खोजेर जलेर फालेको भागमा राख्नुपर्छ,'' उनले भनिन्।

सांसद चन्द्र भण्डारीलाई उपचारको क्रममा लगिँदै

तर, अधिकांश अङ्ग जलेका बिरामीहरूको हकमा दान गरिएको छाला खोजिन्छ। नेपालभर कीर्तिपुर अस्पतालमा मात्र छाला ब्याङ्क हुनुलाई अर्को चुनौतीका रूपमा उनी प्रस्तुत गर्छिन्।

“कृत्रिम छाला अर्को उपाय हो। तर, त्यो निकै महँगो हुन्छ। करिब १०/१० सेन्टिमिटरको कृत्रिम छाला करिब ४० देखि ६० हजार नेपाली रुपैयाँ पर्न जान्छ,” उनले भनिन्।

त्यस्तै नेपालमा जलन विशेष आइसीयू नहुनु पनि जोखिमपूर्ण भएको उनको विचार छ।

“नियमित सघन उपचार कक्षमै बिरामीको उपचार गर्छौँ। त्यसैमा बिरामीहरू बचाइरहेका छौँ। तर एकदम गहिरो जलन भएको छ भने हाम्रो स्रोत पर्याप्त नहुन पनि सक्छ,” डा. शिल्पकारले बताइन्।

विशिष्टीकृत आइसीयू वा हप्ता दिन खोल्न नपर्ने 'ड्रेसिङ'हरू देशमै उपलब्ध नहुँदा “जति पनि खर्च गर्न सक्ने बिरामीहरूको पनि उपचार कठिन हुने” उनको बुझाई छ।

“नेपालका 'बर्न' अस्पतालहरू थोरै पैसा र सीमित स्रोतसाधनबाट कसरी बिरामीलाई बचाउने भन्ने कुरामा केन्द्रित छौँ।''

के हुन् समाधानका उपाय?

नेपाल सरकारको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी ६० हजार मानिसहरू जलनबाट बिरामी पर्छन्। प्राय हिउँद महिनामा अस्पतालहरूलाई जलनका घाइतेको चाप धान्न गाह्रो हुने अधिकारीहरू बताउँछन्। तीमध्ये प्राय बालबालिका तथा महिलाहरू हुने देखिन्छ।

अस्पतालहरूको तथ्याङ्क अनुसार कीर्तिपुर अस्पताल र सुषमा कोइराला दुवै अस्पतालमा हरेक एक वर्षमा ६०० को हाराहारीमा जलन घाइतेहरूले उपचार गराउँछन्। त्यसको मतलब करिब दुई प्रतिशत जलनका बिरामी यी अस्पतालसम्म पुगेका छन्।

''बाँकी कहाँ जान्छन् वा उपचार पाउँछन्/पाउँदैनन् भन्ने थाहा छैन,'' डा. शिल्पकारले भनिन्।

यस्ता समस्या समाधानका ''सबै ठाउँमा सुविधा सम्पन्न विशिष्टीकृत अस्पताल बनाउन स्रोत र जनशक्ति नभए पनि दूर दराजमा जलनको प्राथमिक उपचार सुनिश्चित गरिनुपर्ने“ डा. किरण नकर्मी बताउँछन्।

त्यस्तै 'रेफरल' प्रणाली व्यवस्थित गर्नुपर्ने उनको धारणा छ। 'रेफर' गर्नुअघि पनि आवश्यक उपचारबारे तालिम दिइनुपर्ने विचार पनि उनले अघि सारे। ''एउटा अस्पतालबाट अर्कोमा पुग्दा बिरामीले ज्यान गुमाउने स्थिति नहोस्।''