ठूला उद्योगमा दैनिक नौ घण्टा विद्युत् कटौती, फेरि लोडशेडिङको डर

तस्बिर स्रोत, RASTRIYA PRASARAN GRID COMPANY LTD
नेपालभरिका ठूला उद्योगहरूमा दिनको नौ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुन थालेको छ।
सुक्खा याममा नेपालले ठूलो परिमाणमा भारतबाट विद्युत् खरिद गर्दै आएको भए पनि केही समयदेखि आयातमा केही कटौती भएसँगै त्यसको प्रत्यक्ष प्रभाव ठूलो उद्योगहरूमा परेको अधिकारीहरूले बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणले "नितान्तप्राविधिक" कारणले त्यसो भएको दाबी गरेको छ। तर प्राधिकरणले आफ्नो 'वित्तीय स्वास्थ्य' प्रभावित नहोस् भनेर उद्योगहरूमा आपूर्ति कटौती गरेको आशङ्का धेरैले गरेका छन्।
जाडो याममा देशैभरि चिसो बढेकाले विद्युतीय उपकरणको प्रयोग र बिजुलीको खपत बढेको छ।
आन्तरिक उत्पादनमा ठूलो ह्रास आउँदा माग र आपूर्तिबीच सन्तुलन मिलाउन प्राधिकरणलाई अप्ठ्यारो परेको अधिकारीहरू बताउँछन्।
यसै वर्ष प्राधिकरणले जेठको अन्तिमदेखि मङ्सिर २५ गतेसम्म भारतलाई बिजुली निर्यात गरेको थियो।
प्राधिकरणका अनुसार ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट गत छ महिनाको अवधिमा नेपालले भारतलाई झन्डै १२ अर्ब रुपैयाँ बराबरको विद्युत् बेचेको थियो।
तर नेपालका अधिकांश विद्युत् आयोजना नदीको प्रवाहमा आधारित रहेकाले सुक्खा याममा भने भारतमा निर्भर नभई आन्तरिक माग धान्न सक्ने अवस्थामा प्राधिकरण छैन।
‘फोनबाटै सूचना आयो’
व्यवसायीहरूका अनुसार हाल बिहान ७ देखि ११ बजे र अपराह्ण ५ देखि राति १० बजेसम्म विद्युत् आपूर्ति बन्द भइरहेको छ।
प्राधिकरणले आधिकारिक रूपमा लोडशेेडिङ घोषणा गरेको छैन। तर फोनमार्फत् बिहान बेलुका उद्योग नचलाउन आफूहरूलाई निर्देशन दिइएको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष समेत रहेका अर्घाखाँची सिमेन्ट्सका सञ्चालक पशुपति मुरारकाले बीबीसीलाई बताए।
“कतिपय उद्योग चौबिसै घण्टा चलाउनुपर्दैन। त्यस्ता उद्योगमा समस्या त्यति ठूलो नहुन पनि सक्छ। तर मैले चलाएको सिमेन्ट उद्योग चौबिसै घण्टा चलाउनुपर्ने हुन्छ। बन्द गर्न मिल्दैन,” उनले भने।
“त्यस कारण दिनमा दुई पटक बत्ती जानु भनेको त हाम्रा लागि चौबिसै घण्टा बत्ती गए सरह हो। यस्तो अवस्थामा हाम्रो उत्पादन आधा जस्तो ले नै घट्न आउँछ।”
विद्युत् आपूर्ति नियमित नहुनुको धेरै प्रभाव स्टील र सिमेन्ट उद्योगमा पर्ने उनी बताउँछन्।
महासङ्घको उद्योग समितिका अध्यक्ष भरतराज आचार्यले विद्युत् आपूर्तिबारे देशभरिबाट विवरण सङ्कलन गरिरहेको जानकारी दिए।
“औद्योगिक क्षेत्रहरूमा पनि विद्युत् आपूर्ति कटौती भएको भन्ने सुनेको छु। सबैको विवरण लिएर छलफलका लागि बैठक बस्दै छौँ,” उनले भने।


समस्याको कारण के हो

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल देशैभरिका ठूला औद्योगिक ग्राहकहरू यस्तो समस्या परेका छन्।
सोमवारदेखि भारतको बिहार राज्यमा रहेको १,३३० मेगावाट क्षमताको एउटा पावर प्लान्टमा समस्या उत्पन्न भएपछि त्यसको प्रत्यक्ष प्रभाव ठूला उद्योगमा परेको बताइएको छ।
प्राधिकरणले उक्त प्लान्टबाट रक्सौल-रामनगरको प्रसारण लाइन हुँदै नेपालमा विद्युत् आपूर्ति गर्छ।
“मर्मत नहुँदासम्म समस्या हुने हो। दुई-चार दिन समय लाग्छ भन्ने खबर छ हामीलाई। काम भइरहेको छ भन्ने मैले जानकारी पाएको छु,” आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने प्रश्नको उत्तर दिने क्रममा नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने।
मुरारका भने सरोकारवाला निकायहरूले आफूहरूलाई यति दिन उति दिन नभनेर विद्युत् काटिने मात्रै जानकारी गराइएको बताउँछन्।
नेपालले भारतबाट दुई भिन्न तरिकाले विद्युत् खरिद गर्ने गरेको छ।
आईएक्स (इन्डियन एक्सचेन्ज मार्केट)बाट नेपालले दैनिक बिहान १० देखि १२ बजेसम्मको समयमा प्रतिस्पर्धा गरेर खरिद गर्ने गर्छ।
त्यसका आधारमा तय भएको मूल्य उक्त दिनको राति १२ बजेदेखि भोलिपल्ट राति १२ बजेसम्मका लागि लागु हुने बताइन्छ। भारतलाई यसरी नै विद्युत् बेच्ने गरिएको छ।
त्यसबाहेक बिहारबाट विद्युत् खरिद गर्ने दीर्घकालीन सम्झौता पनि नेपालले भारतसँग गरेको छ।
हिउँदमा चिसो बढेसँगै अहिले भारतमा पनि ऊर्जाको अभाव रहेको विवरणहरू सार्वजनिक भएका छन्।


प्राधिकरणका एक पूर्वकार्यकारी निर्देशकले भने "नाफा रणनीति" अनुरूप भारतबाट थप बिजुली खरिद गरेर लोड व्यवस्थापन नगरिएको सामाजिक सञ्जालमार्फत् आफ्नो मत सार्वजनिक गरेका छन्।
उद्योगपति मुरारकाले पनि अपुग विद्युत् एक्सचेन्ज मार्केटबाट आवश्यकताका आधारमा किन्न सकिने अवस्थामा समेत त्यसो नगरिएको भन्दै दुखेसो पोखेका छन्।
तर बिहारमा समस्या आएपछि आफूहरूले एक्सचेन्ज मार्केटबाट विद्युत् खरिद गर्न खोजेको भए पनि सफल हुन नसकेको र विद्युत् आपूर्ति काटिएको प्राधिकरणले जनाएको छ।
“हामीले भारु १२ मा (विद्युत्) किन्न खोज्दा पनि मागेको परिमाणमा ऊर्जा पाइँदैन। १२ रुपैयाँमा भारतकै अरूले पनि किन्न खोजेका हुन्छन्। त्यस्तो अवस्थामा उनीहरूले दामााहीले सबैलाई विद्युत् दिने हुँदा भने जति विद्युत् आउँदैन,” भट्टराईले भने।
कतिपय अवस्थामा विद्युत् खरिद गर्ने पाउने भए पनि ‘नेटवर्कमा कन्जेशन’का कारण आपूर्ति गर्न नसकेको पनि उनको भनाइ छ।
के ठूला उद्योगमा लोडशेडिङ नै भएको हो त

तस्बिर स्रोत, NEA
अधिकारीहरूका अनुसार नेपाल र भारतमा एकै समयमा बिजुलीको माग बढेको अनि विद्युत् उत्पादन केन्द्रमा परेको प्रभावका कारण समस्या देखिएको हो। यसलाई लोडशेेडिङ गरेको मान्न नहुने उनीहरूको तर्क छ।
“[ठूला उद्योगले] १५-१६ घण्टा विद्युत् पाएका छन्। २४ घण्टामा नौ घण्टा कम पाएका हुन्। बिहान र बेलुका [घरेलु] माग उच्च हुने बेला विद्युत् अपुग हुँदा कटौती गर्नुपरेको हो,” भट्टराईले भने।
“तेइस सय मेगावाट [बिजुली] उपलब्ध हुँदा हाम्रा उद्योग चल्दैन। सहज अवस्था हुँदा असारदेखि कात्तिकसम्म पूर्ण क्षमतामा सञ्चालन गरेर राखेको भए उहाँहरूलाई पनि सजिलो हुने थियो।”
बिहारबाट हाल नेपालले ३,००० देखि ३,५०० मेगावाट आवर विद्युत् आपूर्ति गर्ने गरेको छ।
“ठूलो उद्योगमा आवश्यक पर्ने पनि परिमाण पनि लगभग त्यति नै हो,” भट्टराईले भने।
आन्तरिक उत्पादनको अवस्था के छ
नेपालसँग अहिले २,३०० मेगावाटजति विद्युत् उत्पादन गर्ने क्षमता छ। तर सुक्खा याममा ८०० मेगावाटको हाराहारीमा सीमित हुन पुग्छ।
अधिकारीहरूका अनुसार हाल 'पीक आवर' अर्थात् बिजुली अत्यधिक खपत हुने समयमा १,७५० मेगावाट माग हुने गरेको छ।
पानी पर्यो भने अझ १५० मेगावाटले बढेर १,९०० मेगावाटसम्म पुग्न सक्ने प्राधिकरणको अनुमान छ। तर यसपालि अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन।
वर्षा याममा नेपालले दैनिक करिब १८० मेगावाट विद्युत् भारतलाई बेच्दा समेत "पूर्वाधार" अभावका कारण देशकै कतिपय स्थानमा विद्युत् पुर्याउनका लागि वर्षैभरि भारबाट खरिद गर्नुपर्ने बाध्यता छ।








