मानव अधिकार आयोगद्वारा बल प्रयोगको निन्दा, प्रतिपक्षी दलहरूको विरोध

काठमाण्डूमा भएको 'जेन जी' प्रदर्शनमा परिचालित प्रहरीहरू

तस्बिर स्रोत, AFP via Getty Images

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र राजनीतिक भ्रष्टाचारविरुद्ध युवा पुस्ताको नेतृत्वको विरोध प्रदर्शनका क्रममा सुरक्षा निकायको अत्यधिक बल प्रयोगका कारण प्रदर्शनकारीहरूको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका घटनाको राष्ट्रिय मानव अधिकार आयोगले निन्दा गरेको छ।

आयोगकी एक सदस्य लीली थापाले विरोध प्रदर्शनकारीहरूमाथि सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएको देखिएको बीबीसीलाई बताइन्।

"अत्यधिक बल प्रयोग गरेर कहिले हवाई फायर, कहिले रबरको गोली, कहिले लाठी, कहिले फोहरा गरेर प्रदर्शनकारीलाई आक्रोशित बनाउने काम प्रहरी र सरकारबाट भएको छ," बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

सरकारले शान्त रहन, संयमित हुन आह्वान गर्नुपर्ने ठाउँमा उत्तेजित बनाएको उनको आरोप छ।

"प्रहरीले जसरी भिडलाई उत्तेजक बनाउने प्रयास गरेको छ, त्यो एकदमै निन्दनीय छ। मानव अधिकार आयोगले मात्र होइन, हरेकले देखेको कुरा त्यही हो।"

रबरका गोली प्रहार भएको भनिए पनि त्यो मात्र नभएको भन्दै थापाले भनिन्, "निर्देशन नभईकन सडकमा हुने प्रहरीले गोली चलाएन होला। चेन अफ कमाण्डमा बस्ने प्रहरीले त्यसै गोली चलाउँदैन।"

राष्ट्रसङ्घ र एम्नेस्टी इन्टर्न्याश्नलद्वारा छानबिनको माग

संयुक्त राष्ट्रसङ्घले १९ जना मारिने गरी 'जेन जी' समूहहरूको विरोधमा भएको दमनको शीघ्र र पारदर्शी छानबिनको माग गरेको छ।

राष्ट्रसङ्घको मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शम्दासनीले सोमवार एक विज्ञप्ति प्रकाशन गर्दै प्रदर्शनकारीहरू मारिएको तथा घाइते भएको घटनाबाट आफूहरू स्तब्ध भएको बताएकी छन्।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टर्न्याश्नल नेपालले पनि 'जेन जी' समूहहरूको विरोधमा भएको दमनको स्वतन्त्र छानबिन गर्न माग गरेको छ।

सोमवार साँझ एक विज्ञप्ति प्रकाशन गर्दै संस्थाका कार्यकारी निर्देशक निराजन थपलियाले भनेका छन्, "सरकारले मृत्युका सबै घटनाहरूमा पूर्ण, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी जिम्मेवार सबैलाई फौजदारी अभियोजन समेतका आधारमा पूर्ण जवाफदेही बनाउनुपर्दछ। प्रहरीद्वारा भएको गैरकानुनी बल प्रयोगबाट पीडित भएकाहरूले राज्यबाट पूर्ण र प्रभावकारी परिपूरण प्राप्त गर्नुपर्दछ।"

साथै थपलियाले भ्रष्टाचार र सामाजिक सञ्जालका साथै अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारद्वारा लगाइएको प्रतिबन्धलाई शान्तिपूर्ण तवरमा विरोध गर्ने र आफ्नो निराशा तथा आक्रोश अभिव्यक्त गर्ने अधिकार विरोधकर्ताहरूमा रहेको भन्दै "जायज मागहरूलाई सरकारले गम्भीरताका साथ सुन्नुपर्ने" बताएका छन्।

प्रतिपक्षी दलहरूबाट 'दुःख व्यक्त' र 'भर्त्सना'

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल 'प्रचण्ड'

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

प्रदर्शनका क्रममा भएको 'दमन तथा हिंसाको' प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विरोध गरेको छ।

आफ्नो 'भेरिफाइड' फेसबुक पेजमा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लेखेका छन्, "आज जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको छ।"

"जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।"

त्यसै गरी प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले आजको प्रदर्शनमा "बर्बर दमन" गरेको भन्दै भर्त्सना गरेको छ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले एक विज्ञप्ति प्रकाशित गरी भनेका छन्, "निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ... यो आततायी शासनको जनप्रतिवाद हुने छ।"

साथै उसले वर्तमान सरकारको औचित्य समाप्त भइसकेको भन्दै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ। साथै उसले समयअगावै आमनिर्वाचन गर्न पनि माग गरेको छ।

'सरोकारवालाको आवाज नसुनेका कारण पछिल्लो परिस्थिति'

नेपाल पत्रकार महासङ्घले प्रदर्शनका क्रममा पत्रकार एवं सञ्चारकर्मीहरूमाथि पनि आक्रमण भएको भन्दै सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धबारे सरोकारवाला पक्षहरूको आवाज समयमै नसुनेका कारण यस्तो परिस्थिति विकास भएको बताएको छ।

उसका अनुसार प्रहरीको गोली लागेर काठमाण्डूमा चार जना पत्रकार घाइते भएका छन् भने आन्दोलनकारीहरूले थाहाखबरको कार्यालयमा ढुङ्गा प्रहार गरेका छन्।

घाइते पत्रकारहरूमा कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका दीपेन्द्र ढुङ्गाना, स्वतन्त्र पत्रकार शम्भु दङ्गाल र नेपालप्रेसका उमेश कार्की रहेका बताइएको छ।

महासङ्घले भनेको छ, "प्रदर्शनकारीलाई शान्तिपूर्ण प्रदर्शनमार्फत् आफ्ना माग राख्न, सरकारलाई दमनकारी नीति नलिन र वार्तामार्फत् समस्याको समाधान खोज्न महासङ्घ अपील गर्दछ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।