उडान स्थगित हुँदा यात्रुलाई 'अलपत्र पार्न' पाइन्छ? कानुनी व्यवस्थाबारे तपाईँले थाहा पाउनुपर्ने कुरा

- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
कतारमा रहेको अमेरिकी सैन्य अखडामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको अप्रत्यक्ष असर काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पर्यो।
कतारसहित आसपासका देशहरूले सोमवार राति आफ्नो हवाई क्षेत्र बन्द गर्दा नेपालबाट दोहा, दुबई र दमामका लागि तय भएका पाँचवटा उडान स्थगित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
दोहाका लागि राति ११ बजे उड्ने तय भएको नेपाल एअरलाइन्सको उडान यात्रुहरूलाई अन्तिम सुरक्षा जाँच सकेर विमान चढाउनुअघि स्थगित गर्नुपरेको थियो।
त्यसपछि विमानस्थलको टर्मिनल भवनमा फर्काइएका यात्रुहरूलाई उडान अनिश्चित भएपछि त्यहाँबाट पनि बाहिर निकालिएको एक जना यात्रुले गुनासो गरे।
"उडान स्थगित भएपछि हामीलाई विमानस्थलभित्र पनि बस्न दिइएन, वायुसेवा कम्पनीले पनि आफ्नो कारण उडान नरोकिएको कारण देखाउँदै बस्ने व्यवस्था गरेन, म चाहिँ राति २ बजे आफन्तकहाँ गएर बसेँ तर कतिपय साथीहरू विमानस्थलबाहिरै सुत्नुभएछ," मङ्गलवार दोहा उड्नुअघि उनले टेलिफोनमा भने।
हिमालय एअरलाइन्सका पनि दोहा, दुबई र दमामका उडान स्थगित भएका थिए। तीन वटा उडान स्थगित हुँदा विमानस्थलमा यात्रुहरूको भिड भएपछि आफूले उक्त वायुसेवाका एक जना सञ्चालकलाई सम्पर्क गरेर यात्रुहरूका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए।
बीबीसी न्यूज नेपालीलाई प्राप्त भिडिओमा यात्रुहरूलाई स्वागत र बिदाइ गर्ने विमानस्थलको बाहिरी कक्षमा ब्यागेजसहितका मानिसहरूको भिडलाई बाहिर जान प्रहरीले निर्देशन दिइरहेको देखिन्छ।
"हामी बिहानसम्म बस्छौँ अनि आआफ्नो घर जान्छौँ। अब कहाँ जानु १२ बजे राति?" हातमा चाउचाउ लिएर खाँदै गरेका एक व्यक्तिले प्रहरीसँग अनुरोध गरिरहेको उक्त भिडिओमा सुनिन्छ।
अन्य यात्रुहरूले बाहिर पानी परिरहेका कारण आफूहरूलाई त्यहाँबाट नधपाउन अनुरोध गरिरहेको सुनिन्छ।
प्रहरीले बारम्बार बाहिर जान अनुरोध गरेपछि यात्रुले भन्छन्, "प्रहरी हाम्रो साथी भनेको होइन?"
यात्रुको अधिकार के हुन्छ?

सोमवार रातिको समस्या अप्रत्याशित र आपत्कालीन भएका कारण यस्तो अवस्थामा यात्रुहरूप्रति वायुसेवा कम्पनीले पूरा गर्नुपर्ने दायित्वत्वबारे आआफ्नै तरिकाबाट व्याख्या भएका पाइन्छन्।
तर नागरिक उड्डयन प्राधिकरणले भने बोर्डिङ पास लिइसकेपछि उडान स्थगन भएको अवस्थामा यात्रुहरूको व्यवस्थापनको जिम्मेवारी विमान कम्पनीले लिनुपर्ने जनाएको छ।
"यस्तो अवस्थामा सबै जिम्मेवारी वायुसेवा कम्पनीले लिनुपर्छ। यदि यहीँबाट चढ्ने यात्रु हो भने पहिल्यै खबर गर्नुपर्छ, विमानस्थलमा पुगिसकेको वा ट्रान्जिटमा रहेको यात्रुको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी वायुसेवाको हो," प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने।
"हामीले यात्रुको मनसायअनुसार उनीहरूले के चाहन्छन्, उडानको मिति परिवर्तन गर्न चाहन्छन् कि होटेलमा गएर बस्न चाहन्छन् कि गर्नुस् भनेर प्राधिकरणले निर्देशन दिइसकेका छौँ।"
विमानस्थलमा यात्रुहरूको भिड भएपछि प्राधिकरणले त्रिभुवन विमानस्थल कार्यालयलाई पनि त्यसको व्यवस्थापनका लागि निर्देशन दिएको भुलले जानकारी दिए।
अन्तर्राष्ट्रिय अभ्यास के छ?

अधिकारीहरूका अनुसार हवाई यात्रुका अधिकार र वायुसेवा कम्पनीका उत्तरदायित्वबारे कतिपय देशले अन्तर्राष्ट्रिय सन्धिहरूसँगै आन्तरिक कानुन पनि बनाएका हुन्छन्।
सन् १९९९ को 'मोन्ट्रिओल महासन्धि'ले अन्तर्राष्ट्रिय उडानबाट यात्रुहरूलाई पर्ने सक्ने क्षतिको परिपूरणमा विश्वभरि एकरूपता कायम गर्न विभिन्न व्यवस्थाहरू गरेको छ।
नेपाल पनि यो महासन्धि र त्यसअघि कायम रहेको 'वर्स महासन्धि'को पक्ष रहेका कारण अन्तर्राष्ट्रिय प्रचलनमा रहेका सबै दायित्व वायुसेवा कम्पनीहरूले नेपालबाट बाहिरिने र भित्रिने यात्रुहरूका हकमा पनि पूरा गर्नुपर्ने अधिकारीहरू बताउँछन्।
प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार यसबारे नेपालको छुट्टै कानुन वा थप नियम केही पनि छैन।
"हामीले सन् २०१० मा मोन्ट्रिओल महासन्धिमा हस्ताक्षर गरेका कारण ढिलाइ, क्षति र स्थगनमा सबै दायित्व वायुसेवाको हुन्छ," भुल भन्छन्।
यद्यपि यो नियम आन्तरिक हवाइसेवाका हकमा भने लागु नभएको अधिकारीहरू बताउँछन्।
उक्त महासन्धिको धारा १९ मा ढिलाइबारे उल्लेख गरिएको छ।
"हवाई यात्रु, ब्यागेज र कार्गोमा हुने ढिलाइमा वायुसेवा जिम्मेवार हुन्छ। तथापि वायुसेवाका कर्मचारीहरूले त्यो हुन नदिन सबै प्रयास गरेको वा उनीहरूको काबुबाहिरको अवस्था रहेको प्रमाणित हुने अवस्थामा हुने क्षतिमा वायुसेवा जिम्मेवार हुने छैन," उक्त धारामा भनिएको छ।
वायुसेवा कम्पनीलाई 'सचेत गराइयो'

सोमवार राति हिमालय एअरलाइन्सका तीन वटा उडान, नेपाल वायुसेवाको एउटा र फ्लाइ दुबईको पनि एउटा उडान स्थगित भएका थिए।
उडान अचानक स्थगित भए पनि अर्को उडानको टुङ्गो नभएका कारण आफूहरूले यात्रुहरूलाई समयमै वैकल्पिक व्यवस्थाको योजना बनाउन नसकेको नेपाल वायुसेवा नियमका प्रवक्ता सुवास डाँगीले बताए।
"अचानक कतारले एअरस्पेस बन्द गर्यो र कति बजे खुल्छ भन्ने पनि निश्चित भएन। त्यसले गर्दा तत्कालै अरू योजना बनाउन सक्ने अवस्था नहुँदा यात्रुहरूले पनि दुःख पाउने र हाम्रो पनि खर्च बढ्ने अवस्था बन्यो," डाँगीले बीबीसी न्यूज नेपालीसँग भने।
दुबईको हवाई क्षेत्र राति नै खुला भएका कारण नेपाल एअरलाइन्सले दुबईको उडान बिहान ३ बजेतिर पठाएको थियो। तर दोहाका लागि तय भएको उडान भने मङ्गलवार मध्याह्नपछि मात्रै जान सम्भव भयो।
"वायुसेवाको समस्याका कारण उडान स्थगित भयो भने यात्रुको जिम्मा लिनुपर्ने हुन्छ तर अरू मुलुकको द्वन्द्वको कारण यो हाम्रो नियन्त्रणभित्रको कुरा थिएन," डाँगी भन्छन्।
नेपाल वायुसेवाका अधिकारीले सोमवार स्थगित भएको उडानका यात्रुहरूका लागि खाने र बस्ने व्यवस्था नगरिएको स्वीकार गरे।
"यात्रुको जिम्मेवारी हामीले नलिने भन्ने हुँदैन। हिजो चाहिँ खुलिहाल्छ कि भन्ने झिनो आसमा रातिसम्म पर्खेर बसेको अवस्था थियो। नभएपछि यात्रुहरूलाई सम्झाएर पठायौँ," उनले भने।
यात्रुहरू अलपत्र परेको गुनासो आएपछि आफूले हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका अधिकारीहरूलाई राति नै फोन गरेर आवश्यक व्यवस्था गर्न भनेको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।
"मैले हिमालय एअरलाइन्सको उपाध्यक्षलाई नै फोन गरेर लापरबाही भएको कुरा गरेको थिएँ। उहाँले कर्मचारी खटाइएको भन्नुभयो। नेपाल एअरलाइन्सलाई पनि बोर्डिङ गर्न ठिक्क पारेको यात्रुलाई रद्द भएपछि व्यवस्थापन गर्नुपर्थ्यो कि चित्त बुझाएर पठाउनुपर्थ्यो," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








