तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चार राष्ट्रको फुटबल प्रतियोगिता: महिला राष्ट्रिय फुटबल टोलीले देखेको सपना
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
सोमवार फागुन ५ गतेदेखि काठमान्डूको दशरथ रङ्गशालामा हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपका खास विशेषता छन्।
पहिलो विशेषता अखिल नेपाल फुटबल सङ्घ एन्फाले इतिहासमै पहिलो पटक चार राष्ट्रलाई निम्त्याएर राष्ट्रिय महिला टोलीको अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो।
दोस्रो, उक्त च्याम्पियनसिपलाई आउँदो एएफसी एसियन कप र फिफा महिला विश्वकपको लागि मुख्य तयारीको रूपमा लिइएको छ।
तेस्रो भनेको चाहिँ नेपाली महिला टोलीले लामो समयदेखि फाइनलमा पुगेर उपाधि गुमाउने गरेको 'दुर्भाग्य' तोड्ने अवसर उपलब्ध हुनेछ।
चौथो, फिफा अन्तर्राष्ट्रिय क्यालेन्डरमा पारेर किर्गिस्तान, म्यानमार र लेबननलाई निम्त्याइएको प्रतियोगिताको नतिजाले महिला टोलीको वरीयता सुधार गर्ने अवसर पनि प्राप्त हुनेछ।
यति धेरै महत्त्वाकाङ्क्षा बोकेको प्रतियोगितामा प्रभावकारी प्रदर्शन गर्न महिला टोली अहिले अन्तिम तयारीमा जुटेको छ।
महिला टोलीकी सिनियर खेलाडी रेनुका नगरकोटे भन्छिन्, "घरेलु दर्शक माझ उपाधि जित्ने चाहना त छ नै, हामीलाई एसियन कपको छनोट यात्रामा हौसला बढाउने काम यो च्याम्पियनसिपले गर्छ भन्ने विश्वास छ।"
कस्ता छन् विदेशी टोली
फागुन ५ देखि १४ सम्म हुने च्याम्पियनसिप राउन्ड रोविन लिगको आधारमा खेलाउन लागिएको हो।
अर्थात् प्रत्येक टोलीले एकअर्का सँग एक-एक खेल खेल्नेछ र त्यसका शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।
चार देशीय च्याम्पियनसिप खेल्ने टोलीमा म्यानमार बलियो टोली ठानिन्छ। उक्त टोली फिफा वरीयतामा ५५ औँ स्थानमा छ।
म्यानमार बाहेक किर्गिस्तान र लेबनान भने फिफा वरीयतामा नेपालभन्दा पछाडि छन्।
फिफा वरीयतामा नेपाल १०३ औँ स्थानमा छ भने किर्गिस्तान १२८ औँ तथा लेबनन १३४ औँ स्थानमा छन्।
यद्यपि नेपाली मिडफिल्ड प्रीति राई सबै विपक्षीहरू बलियो रहेको बताउँछिन्।
उनले बीबीसीसँग भनिन्, "म्यानमार मात्र होइन, सबै टोली राम्रा छन्। हामीले वाफ च्याम्पियनसिपको सेमिफाइनलमा लेबननलाई हराउन निकै सङ्घर्ष गर्नुपरेको थियो।"
वाफको उक्त सेमिफाइनल नेपालले २-१ ले जितेको थियो।
त्यस्तै म्यानमार र नेपालको तीन पटक भेट भएकोमा नेपालले कुनैमा पनि जित हात पार्न सकेको छैन।
भारतमा सन् २०१९ मा भएको हिरो विमिन्स गोल्ड कपमा नेपाल म्यानमारसँग लिग चरण र फाइनल दुवैमा पराजित हुन पुगेको थियो।
अनि ओलिम्पिकको एसिया छनोट २०१८ मा म्यानमार र नेपालबीचको खेल १-१ को बराबरीमा टुङ्गिएको थियो।
किर्गिस्तानसँग भने नेपालको यसअघि एक मात्र भेट नादेज्दा कप २०१९ मा भएको थियो। जसमा नेपाल ८-२ को फराकिलो अन्तरले विजयी भएको थियो।
कस्तो छ नेपाली टोली
महिला साफ च्याम्पियनको फाइनलमा बाङ्ग्लादेशसँग फाइनलमा २-१ को हार नेपाली समर्थकले बिर्सेका छैनन्।
उक्त टिमका केही खेलाडीहरू अहिलेको नेपाली टोलीमा छैनन्।
सोही प्रतियोगिताको दौरान घाइते भएकी मिडफिल्डर दीपा शाही र डिफेन्डर हीराकुमारी भुजेल अझै राष्ट्रिय टिममा फर्किन सकेका छैनन्।
उक्त प्रतियोगिताको फाइनलमा गोल गरेकी स्ट्राइकर अमिसा कार्की पनि टोलीमा समावेश छैनन्।
नेपाली सेनाकी यी खेलाडी सेनाको सहायक सेनानी तालिममा रहेको कारण प्रतियोगितामा भाग लिने छैनन्।
एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको प्रशिक्षक राजेन्द्र तामाङको २३ सदस्यीय टोलीमा मनमाया दमाईं र सुष्मा तामाङ पहिलो पटक टिममा परेका छन्।
त्यस्तै रेनुका हमाल र चन्द्रा भण्डारी पुनः राष्ट्रिय टोलीमा फर्किन सफल भएका छन्।
देश बाहिर व्यावसायिक फुटबल खेलिरहेकी स्ट्राइकर सावित्रा भण्डारी र रेखा पौडेल प्रतियोगिताको लागि नेपाल फर्किने क्रममा छन् भने गोलकिपर एन्जिला नेपाल आइसकेकी छन्।
विदेशी अनुभव काम लाग्ने
टोलीकी प्रमुख खेलाडी रेनुका नगरकोटे नेपाली महिला खेलाडीहरू पनि नियमित विदेशी लिगमा खेलिरहेको हुनाले बाहिरको अनुभव टोलीको लागि महत्त्वपूर्ण हुने बताउँछिन्।
उनी भन्छिन्, "हाम्रा खेलाडीहरू पनि युरोपेली लिगमा छन्। त्यसले टिममा बल थपिनेछ। अर्को कुरा घरेलु लिगमा हामी धेरै पटक निराश भइसकेका छौँ। त्यो दु:ख भुल्दै हामी यसपाली घरमा च्याम्पियन हुन चाहन्छौँ। त्यसले एसियन कप र विश्वकप छनोटमा पनि राम्रो प्रभाव पर्छ।"
सावित्रा फ्रान्सेली लिगमा र अन्जिला ग्रिसको लिगमा खेलिरहेका छन् भने रेखा पौडेल दुबईमा लिग खेल्ने गर्छिन्।
नेपाली प्रशिक्षक राजेन्द्र तामाङ टोलीको संरचना बलियो रहेको बताउँछन्।
उनका अनुसार केही प्रमुख खेलाडीहरू अनुपस्थित रहे पनि खेलाडीहरूको फिटनेस, मानसिकता बलियो छन् र घरेलु भूमि उनीहरूको लागि सहज हुनेछ।
उनी भन्छन्, "हामी दक्षिण एसिया बाहिरका टोलीसँग खेलिरहेका छौँ। यस्तो अवसर कमै मात्र जुट्ने गर्छ। मलाई विश्वास छ, राम्रो नतिजा आउनेछ।"
नेपाली टोलीका सदस्यहरू
गोलकिपर: एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथ
रक्षापङ्ति: अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाईं
मध्यपङ्ति: अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ
अग्रपङ्ति: सावित्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी र अनिता केसी
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।