ट्रम्पको 'ट्यारिफ युद्ध'को निसानामा परेको चीनले अपनाउन सक्ने सम्भाव्य रणनीति

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापक कर योजनाअन्तर्गत सुरुमा दर्जनौँ देशहरूबाट अमेरिकामा आयात हुने वस्तुहरूमा कर लगाइएको छ र त्यसमा अमेरिकाका दीर्घकालदेखिका साझेदारहरू पनि परेका छन्।

तर एप्रिल ९ मा उक्त कर योजना लागु हुनुभन्दा केही घण्टाअघि ट्रम्पले लगभग सबैजसो देशका उत्पादनमा लगाइएको करलाई ९० दिनका लागि स्थगित गरिदिएका छन्।

यद्यपि उनले एउटै देशका हकमा त्यसलाई स्थगित गरेका छैनन् र आफ्नो योजना कायम राखेका छन्। त्यो देश हो- चीन।

ट्रम्पको त्यो घोषणाले केही विश्लेषकहरू अचम्भीत भएका छन् र उनीहरूले ट्रम्पले वास्तवमा सधैँ आफ्नो तारोमा चीनलाई मात्र पार्न चाहेको हुन सक्ने ठानिरहेका छन्।

यद्यपि चीनबाट समेत आयात हुने कम्प्युटर र स्मार्टफोनलगायतका विद्युतीय सामग्रीमा नयाँ कर दर लागु नहुने उनले बताएका छन्।

करमा जोड, केन्द्रमा चीन

आफूले पद सम्हालेदेखि नै ट्रम्पले व्यापारसम्बन्धी नीतिहरूमा आफ्नो ध्यान केन्द्रित गरेका छन् र उनले धेरै देशमाथि कर थोपरेका छन्।

उनले व्यापारिक साझेदारहरूले अमेरिकाबाट लामो समयदेखि फाइदा लिइरहेको तर आफ्नो देशका स्थानीय उद्योगहरूले त्यसबाट सधैँ घाटा बेहोरिरहेको दाबी गर्ने गरेका छन्।

उनको सबैभन्दा व्यापक र विवादित घोषणा भनेको एप्रिल २ मा उनले लागु गरेको कर हो। त्यसले विश्वका लगभग सबैजसो देशलाई प्रभावित गरेको छ र विश्वव्यापी व्यापार युद्ध सुरु हुने अवस्था बनाएको छ।

उनको उक्त घोषणाका कारण नै विश्वभरिको शेअर बजारमा असर पर्‍यो र त्यसले संसारभरिको शेअर बजारलाई निरन्तर खस्काएको छ।

उनले दर्जनौँ देशमाथि लगाएको करलाई ९० दिनका लागि स्थगित गरेपछि उनको योजनाबारे ह्वाइट हाउसले मुख खोलेको छ।

ह्वाइट हाउसका भनाइमा ट्रम्पको योजना नै व्यापक मात्रामा सुरुमा सबैजसो देशका उत्पादनमा कर थोपर्ने र त्यसलाई केही समय स्थगित गरेर प्रत्येक देशहरूको अवस्थाबारे मूल्याङ्कन गर्ने रहेको थियो।

तर चीन उक्त स्थगनको हिस्सा बन्न सकेन।

उल्टै ट्रम्पले चीनमाथि लगाएको करको दर बढाएर १४५ प्रतिशत पुर्‍याइदिए।

अमेरिकी अधिकारीहरू ट्रम्पको मुख्य लक्ष्य भनेको चीनलाई सहमतिका लागि दबाब दिनु रहेको बताउँछन्।

"उनीहरू अमेरिकी व्यापार समस्याका मुख्य स्रोत हुन्," अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले संवाददाताहरूलाई भने, "अनि वास्तवमै उनीहरू सम्पूर्ण विश्वका लागि समस्याकारी हुन्।"

तर विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँगको यो लडाइँ निकै जोखिमपूर्ण रहेको छ।

चीनले पनि अमेरिकी सामानहरूमा १२५ प्रतिशत कर लगाएको छ र त्यो एप्रिल १२ देखि कार्यान्वयनमा आएको छ।

ट्रम्पले जे गरिरहेका छन्, त्यो उनका पूर्ववर्ती बराक ओबामाको अमेरिकी ध्यान पूर्वतर्फ र विशेष गरी चीनको बढ्दो प्रभाव तथा शक्तिसँग जुध्न केन्द्रित गर्ने प्रयासको निरन्तरता हुन सक्छ।

"यो नयाँ युग हो र यसमा अर्थतन्त्रको भूमिका व्यापक छ," राजनीतिक विश्लेषक तथा लेखक टिम मार्शलले गत केही सातामा भएका घटनाक्रमबारे बीबीसीलाई भने।

"मलाई लाग्छ यो चीनबारेको कुरा हो। ब्रिटिश र युरोपेलीहरूलाई लगाइएको कर सधैँ पातलो हुँदै गइरहेको थियो तर चीनमाथि प्रहार भयो।"

चीन 'नझुक्ने'

गत ज्यानुअरीमा ट्रम्प ह्वाइट हाउस पुन: प्रवेश गरेदेखि नै चीन र अमेरिका तनावपूर्ण व्यापार युद्धमा संलग्न भएका छन्।

त्यसले गर्दा जबाफी करहरूको सिलसिला नै चल्यो।

चिनियाँ वाणिज्य मन्त्रालयले ट्रम्पको करलाई "व्यावहारिक रूपमा खासै अर्थ नभएका अङ्कहरूको खेल मात्र भएको" बताएको।

"यदि अमेरिकाले त्यहाँ निर्यात हुने चिनियाँ सामानहरूमा निरन्तर कर थोपरिरहन्छ भने चीनले त्यसलाई बेवास्ता गर्ने छ।"

बीबीसीका चीन संवाददाता स्टीफन म्याक्डोनलका अनुसार चिनियाँ नेताहरूले लगातार ट्रम्प प्रशासनको कदमलाई "धम्की" भनिरहेका छन्। त्यसको अर्थ उनीहरू ट्रम्पको नीति वा उनीसामु झुक्न चाहँदैनन् भन्ने हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निआङले हालै माओको एउटा तस्बिर सामाजिक सञ्जालमा राखेकी छिन्।

उनले त्यसमा कोरियाली युद्धका बेला माओले दिएको एउटा अभिव्यक्तिको 'क्लिप' पनि राखेकी छन्।

त्यसमा माओले भनेका छन्, "चाहे युद्ध जतिसुकै लम्बियोस्, हामी झुक्दैनौँ।"

उनले त्यसमा आफ्नो भनाइ पनि राखेकी छन्, "हामी चिनियाँ हौँ। हामी कुनै पनि उक्साहटबाट डराउँदैनौँ। हामी पछि हट्दैनौँ।"

अनि, चीन त्यसो गर्नका लागि अरु कुनै पनि देशभन्दा मजबुत अवस्थामा पनि रहेको म्याक्डोनलको बुझाइ छ।

अमेरिकी दबाबले चीनलाई कस्तो असर पर्ला?

पछिल्लो करयुद्धअघिको अवस्थामा चीनको कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीमा उसले अमेरिकामा गर्ने निर्यातको हिस्सा झन्डै दुई प्रतिशत मात्र रहेको देखिन्छ।

सिटी इन्डेक्स यूकेका एक वरिष्ठ बजार विश्लेषक फियोना सिन्कोटाका अनुसार ट्रम्पको पहिलो कार्यकालका तुलनामा अमेरिकामा चिनियाँ पहुँच निकै कम रहेको छ।

"चीनले अमेरिकामा हुने उसको निर्यातको निर्भरतालाई कम गर्दै गएको छ। त्यसले गर्दा अहिले लगभग १३ प्रतिशत मात्र निर्यात अमेरिकामा हुन्छ। ट्रम्पको पहिलो कार्यकालमा यो २६ प्रतिशत थियो," उनले भनिन्।

अन्य विश्लेषकहरू बेइजिङले ट्रम्पको आर्थिक नीतिहरूबारे बेइजिङले अनुमान गरेको हुन सक्ने ठान्छन्।

"उनीहरूले लामो समयदेखि तयारी गरिरहेका छन्," द इकोनोमिस्टका सम्पादक डेभिड रेनी भन्छन्। उनले हालै मात्र बेइजिङमा चिनियाँ अधिकारीहरू तथा प्राज्ञहरूलाई भेटेका थिए।

"उनीहरूले अमेरिकाविरुद्ध अल्पकालीन रक्षात्मक तयारीहरू गरेका छन् तर उनीहरूले दीर्घकालीन उपायहरू पनि अपनाउन खोजिरहेका छन्। उच्च रूपमा निर्यातमा निर्भर नभईकन पूरा अर्थतन्त्रलाई नै पुन: सन्तुलिन बनाउन पनि खोजिरहेका छन्। "

अमेरिकासँगको यो व्यापार युद्धबीच चिनियाँ राष्ट्रपति सीले आफ्ना व्यापार साझेदारहरूलाई जोड्नका निम्ति काम गरिरहेको जस्तो देखिन्छ।

चीनले ट्रम्पको करका कारण प्रभावित भएका देशहरूलाई एक हुनका लागि आह्वान गरिरहेको छ।

एप्रिल ११ मा स्पेनिश प्रधानमन्त्री पेद्रो सान्चेजसँगको भेटमा सीले युरोपेली सङ्घ र उनको देशले संयुक्त रूपमा ट्रम्प प्रशासनको "एकपक्षीय धम्कीको अभ्यासलाई" चुनौती दिनुपर्ने बताएका थिए।

सीले करका कारण प्रभावित भएका देशहरूको भ्रमण पनि सुरु गरेका छन्। सोमवार भियतनाम पुगेका उनले मलेशिया र क्याम्बोडियाको पनि भ्रमण गर्दै छन्।

चिनियाँ प्रधानमन्त्री ली चियाङले युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लाओनलाई वार्ताका लागि आह्वान गरेका छन्।

उनले "व्यापार प्रणालीमा व्यापक सुधार गर्न र स्वतन्त्र, निष्पक्ष तथा प्रतिस्पर्धाका लागि आधार भएको" व्यापारका लागि छलफल गर्न आह्वान गरेका हुन्।

चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले युरोपेली सङ्घ, साउदी अरेबिया र दक्षिण अफ्रिकाका समकक्षीहरूसँग कुराकानी गरेका छन्।

चीनका लागि चुनौती

चीनले अन्य देशहरूसँग सम्पर्क गरिरहनुको अर्थ सायद उनीहरूलाई आश्वस्त पार्नु पनि हुन सक्छ।

चीनले अमेरिकी बजारको साटो नयाँ बजार खोज्दै गर्दा त्यो नयाँ बजारले पनि समस्याहरू देखाउने सम्भावना रहन्छ। त्यसले बेइजिङसामु कूटनीतिक अनिश्चय उत्पन्न पनि हुन सक्छ।

डेभिड रेनी यदि ती नयाँ बजारहरूमा व्यापक निर्यात हुन थाल्यो भने त्यसले धेरै देशमा रोजगारीको अवसर कम हुने अवस्था बन्ने र त्यसले चीनका लागि कूटनीतिक एवं भूरणनीतिक टाउको दुखाइ उत्पन्न हुने ठान्छन्।

अर्को समस्या भनेको आन्तरिक बजार हो। बीबीसीसँग कुराकानीमा चिनियाँ उपभोक्ताहरूले यदि अमेरिकी सामानहरू महँगो भएमा आफूहरू सामान्य रूपमा चिनियाँ सामानतर्फ फर्कने बताएका छन्। चीनको अर्थतन्त्र अहिले मुद्रास्फीति नभएको अवस्थाबाट ग्रुजिरहेको छ।

आधिकारिक विवरणहरूमा उपभोक्ता मूल्यवृद्धि सूचक मार्चमा पनि नकारात्मक देखिएको छ। चीनमा यस्तो भएको यो लगातार दोस्रो महिना हो।

यो सूचक मुद्रास्फीति मापन गर्ने मुख्य माध्यम हो। त्यसले चीनमा आन्तरिक रूपमा खासै मागको स्थिति छैन भन्ने देखाउँछ।

"सी चीन र अमेरिका आर्थिक युद्धमा फस्ने सम्भावना तथा त्यसको खतराबारे परिचित छन् र उनले उथलपुथल हुने अवस्थाका लागि तयारी गरेका छन्," हालै चीन भ्रमणबाट फर्किएका अमेरिकी राजनीतिक विश्लेषक प्राध्यापक ग्राहम एलिसन भन्छन्।

उनी सबै क्षेत्रमा चिनियाँहरूले तयारी गरेको र अहिलेको व्यापार युद्धले आफूहरू कम्तीमा अमेरिकीहरूजस्तो धेरै प्रभावित नहुनेमा विश्वस्त देखिएको बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।