नक्कली शरणार्थी प्रकरणमा रायमाझीसहित आठजना थुनामै रहने, खाणबारे राय 'बाझियो'

भुटानी शरणार्थी

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसहित आठ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश शुक्रवार सदर गरेको छ।

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले जिल्ला अदालत काठमाण्डूको आदेशलाई सदर गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले बीबीसीलाई बताए।

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको हकमा भने दुई न्यायाधीशको राय बाझिएको छ।

"बालकृष्ण खाणका हकमा धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने गरी भएको आदेशसँग सहमत हुन सकिएन। ... खाणलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी काठमाण्डू जिल्ला अदालतबाट असार १ गते भएको आदेश मनासिब देखिँदा परिवर्तन गर्नु परेन," फरक राय दिँदै न्यायाधीश खरेलले भनेका छन्।

खाणको हकमा आदेश राय मतैक्य हुन नसकेकोले उच्च अदालत नियमावलीअनुसार अब तेस्रो न्यायाधीशसमक्ष पेश गरिने प्रवक्ता भट्टराईले बताए।

यद्यपि तेस्रो न्यायाधीशसमक्ष कहिले पेश गरिने भन्नेबारे प्रवक्ता भट्टराईले केही खुलाएनन्।

केहीलाई धरौटीमा छाड्न आदेश

अदालतले नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ, सन्दीय रायमाझी, टेकनाथ रिजाल र रामशरण केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

प्रवक्ता भट्टराईका अनुसार अदालतले टङ्ककुमार गुरुङ, लक्ष्मी महर्जन, आशिष बूढाथोकी र केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश दिएको छ।

रिजाल भुटानी शरणार्थी नेता हुन्।

नरेन्द्र केसी खाणका स्वकीय सचिव हुन् भने सन्दीप रायमाझी टोपबहादुर रायमाझीका छोरा हुन्।

प्रतिवादीहरूबाट १० लाखदेखि १५ लाख रुपैयाँसम्म धरौटी लिन आदेश दिइएको छ।

खाणको हकमा ३० लाख रुपैयाँ धरौटी लिई तारेखमा राखेर मुद्दा चलाउनुपर्ने न्यायाधीश पाण्डेले राय राखेकोमा न्यायाधीश खरेल त्यसमा सहमत भएनन्।

जिल्ला अदालत काठमाण्डूले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म १६ जना अभियुक्तलाई थुनामै राखेर मुद्दाको सुनुवाइ गर्न गत असार १ गते निर्णय गरेपछि त्यसविरुद्ध केही प्रतिवादी साउन १२ गते उच्च अदालत पुगेका थिए।

आरोपितहरूविरुद्ध ठगी र किर्तेसम्बन्धी कसुर, सङ्गठित अपराध र राज्यविरुद्धको अपराध जस्ता मुद्दाहरू लागेका छन्।

नक्कली शरणार्थी प्रकरण

शरणार्थी प्रकरण कसरी सुरु भयो?

सन् १९९० ताका भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरूलाई पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरमा राखिएको थियो।

स्वदेशफिर्तीको पर्खाइमा रहेका एक लाखभन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान दिन नसकेपछि तेस्रो देश पुनर्वास रोज्न बाध्य भएका थिए।

उक्त योजनाअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेन्मार्क, द नेदरल्यान्ड्स र नर्वेमा अधिकांश शरणार्थीहरूको पुनर्वास भइसकेको छ।

नेपालमा बाँकी भएका ६,००० भन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका बेलडाँगी तथा पथरी-शनिश्चरे शिविरमा छन्।

तिनै बाँकी शरणार्थीको व्यवस्थापनबारे पहल भइरहँदा गृह मन्त्रालयले उनीहरुको अनुसूची गयार गर्न कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले नीतिगत रूपमै भ्रष्टाचार गरेर पैसा उठाउँदै नेपाली नागरिकहरूलाई पनि शरणार्थीको सूचीमा राखेको उजुरीपछि प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध काठमान्डू जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

उक्त मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

शरणार्थी प्रकरणमा अहिलेसम्म के भयो?

मङ्सिर १५: केहीलाई पुर्पक्षमा राख्न र केहीलाई धरौटी लिई मुद्दा चलाउन उच्च अदालत पाटनको आदेश

साउन १२: थुनामुक्त भएर मुद्धा लड्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता

१ असार: १६ जना आरोपितलाई थुनामा पठाउन अदालतको आदेश

१० जेठः ३० जना आरोपितविरुद्ध मुद्दा दायर

८ जेठ: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो

२ जेठ: भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो

१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित

३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप

२७ वैशाख: पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

२७ वैशाख: पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन

२० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

२० वैशाख: रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी

१९ वैशाख: पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।