कम्युनिस्टको ‘गढ’ गण्डकीमा एमाले र माओवादी फरक कित्तामा हुँदा नतिजा उल्टिएला?

मत माग्दै नेताहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मतदानको मिति नजिकिँदै गर्दा उउम्मेदवारहरूले घरदैलो कार्यक्रम तीव्र बनाएका छन्
    • Author, प्रदीप बस्याल, नारायण कार्की
    • Role, बीबीसी न्यूज नेपाली, पोखरा

पछिल्लो आमनिर्वाचनमा गण्डकी प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभामै ‘निकै राम्रो’ चुनावी नतिजा ल्याएका कम्युनिस्ट शक्तिहरू यस पटक दुई कित्तामा विभाजित हुँदा त्यसबाट आफूहरूलाई लाभ पुग्ने सत्ता गठबन्धनका नेताहरूले दाबी गरेका छन्।

पाँच वर्षअघि यस प्रदेशबाट प्रतिनिधिसभातर्फ रहेको प्रत्यक्षतर्फको १८ सिटमा नेपाली कांग्रेसबाट एक जना मात्र सांसदका रूपमा शशाङ्क कोइरालाले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट जितेका थिए।

माओवादी केन्द्रले तीन सिट र तत्कालीन नयाँ शक्ति पार्टी नेपालले एक सिट जितेको थियो।

बाँकी १३ सिट एमालेले जितेको थियो।

कुल ६० सिट रहेको प्रदेशसभातर्फ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले ३९ सिट ल्याएको थियो।

नेपाली कांग्रेसका प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछानेले एमालेले यसबीचमा ‘जनमतको अपमान’ गरेकाले त्यो मत आफूहरूमा आउने दाबी गरे।

"त्यसमाथि २०७४ सालको मत एमाले एक्लैको पनि थिएन। धेरैतिर निर्णायक मत माओवादी केन्द्रको थियो। अहिले अङ्कगणित मात्र फेरिने छैन। जनतामा परिवर्तनको आशा थपिएको छ।"

तर एमालेकी गण्डकी इन्चार्ज पद्मा अर्याल माओवादी आफूतर्फ हुँदैमा जनमत उल्टने सोच्नु ‘भ्रम’ मात्र हुने बताउँछिन्।

"अघिल्लो पटकको विशाल जितमा माओवादीसँगको मोर्चाको प्रभाव थिएन त म भन्दिनँ। तर त्यो एउटा मात्र कारण हो, सम्पूर्ण होइन," अर्यालले भनिन्।

"सङ्गठनका हिसाबले गण्डकीमा एमाले सधैँ मजबुत स्थानमा रहँदै आएको छ। हाम्रो गढ कायमै रहन्छ।"

एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) को असर समेत एमालेको मतमा पर्ने कतिपयको आकलन छ।

उक्त दलले गठबन्धनको भागबन्डामा गण्डकीमा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुई क्षेत्रमा उम्मेदवारी दिएको छ। 

तर पद्मा अर्याल, भन्छिन्, "नेकपा र एमाले विभाजित हुँदा समेत कम असर परेको यस प्रदेशमा हामी ती कुराबाट आत्तिएका छैनौँ।"

माओवादी: निर्णायक शक्ति?

नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समिति अध्यक्ष गायत्री गुरुङ यस पटक ‘राष्ट्रिय परिस्थिति फेरिएकोले’ जनताहरूको मतमा त्यसको प्रभाव पर्ने बताउँछिन्।

"कम्युनिस्ट मत राम्रो भएको ठाउँमा एमाले कमजोर हुँदा हामी स्वाभाविक रूपमा बलियो हुने नै भयौँ, " गुरुङ भन्छिन्।

"त्यसमाथि पाँच दल एकतिर हुनु निकै विशेष र अनुकूल परिस्थिति हो।"

तर माओवादीकै गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डेले एमालेलाई कति धेरै दबाब पार्न सकिएला भन्ने प्रश्नमा कुनै आकलन पेस गरेनन्।

तर "गठबन्धनको सरकार बन्ने गरी बहुमत पुग्ने" दाबी गरे।

"यस प्रदेशमा कांग्रेस र हामी बरोबरीका शक्ति हौँ। अझ हामी बढ्ता निर्णायक शक्ति हौँ। तर पहिलेको हैसियतका हिसाबले कांग्रेसभन्दा कम सिट हाम्रो भागमा परे पनि हामी सानो शक्ति होइनौँ," पाण्डेले भने।

कम्युनिस्ट गढ भए पनि ‘राष्ट्रिय परिस्थिति र आवश्यकताका कारण यो मिलेर जानुपर्ने समय’ बनेको पाण्डे तर्क गर्छन्।

"एमालेका साथीहरूले नै पार्टी र सरकारलाई एक राख्न सक्नुभएन," पाण्डे भन्छन्। "त्यसैले संविधान र आन्दोलनका उपलब्धी रक्षा नहुने सर्तमा कम्युनिस्ट गढ भनिराख्नुको अर्थ हुँदैन।"

फेवाताल

प्रदेश तरङ्गित पार्ने कम्युनिस्ट अङ्कगणित

विसं २०७४ सालको आमनिर्वाचनमा ६० सिट भएको प्रदेशसभामा चुनावपछि विधिवत् एक भएर बनेको नेकपाका लागि सहज बहुमत थियो।

नेकपाको आन्तरिक विवादका बीच सर्वोच्च अदालतको एक आदेशसँगै नेकपा एकतापूर्वको अवस्थामा पुग्दा समेत नेपाली कांग्रेसलाई आफ्नो सरकार बनाउन सकस परेको थियो।

सदनमा बहुमतका लागि ३१ सिट आवश्यक पर्नेमा एमाले एक्लैसँग २७ सिट थियो।

"पार्टी विभाजनपछि पनि हामीसँग पूरै २७ सीट थियो। [एकिकृत समाजवादीसँग] विभाजनको खास प्रभाव नपरेको प्रदेश हो यो," एमालेकी पद्मा अर्याल भन्छिन्।

जसकै कारण दुवै पक्षले सरकार बनाउने प्रतिस्पर्धा हुँदा तीन जना सांसद भएको राष्ट्रिय जनमोर्चाभित्र विभाजन देखा परेको थियो।

ह्विप उल्लङ्घन गरेको भन्दै उक्त दलले आफ्ना एक सांसद कृष्णबहादुर थापालाई पदमुक्त गर्‍यो।

पहिलो मुख्यमन्त्री एमालेका पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव पास भए तापनि नयाँ सरकार बनाउन उम्मेदवारी पेस गर्ने अवस्था अन्तिमसम्म विपक्षी कांग्रेस-माओवादी सहितको गठबन्धनलाई बनेको थिएन।

र त्यस बेला स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निर्णायक बनेका थिए।

दोस्रा मुख्यमन्त्री कांग्रेसका कृष्णचन्द्र नेपालीका लागि बहुमत पुर्‍याउने क्रममा जनमोर्चाका एक जना सांसद हराएको कुरा समेत सदनमा उठाइएको थियो।

माओवादी सरकारबाट अलग भएसँगै राष्ट्रिय जनमोर्चाले उनलाई दिएको समर्थन फिर्ता लिएपछि पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका थिए।

मतदाताको बुझाई के छ?

मतदाता

बीबीसीले कुरा गरेका कतिपय मतदाताले यस पटक केही नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूको प्रभाव समीकरणमा पर्न सक्ने ठान्छन्।

नयाँ दलका रूपमा गण्डकीमा राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टीको सक्रिय चुनावी चहलपहल देखिन्छ।

१० वर्षदेखि ट्याक्सी चालकको काम गर्दै आएका कास्कीका रामचन्द्र पौडेलले विगतमा मत दिइएका ठूला दलहरूले 'विश्वास तोडेको' बताउँछन्।

"नयाँ उम्मेदवारहरूले नै हामीलाई गएको पाँच वर्षमा के पाउनुभयो भनेर सोध्छन्। हामीसँग जवाफ हुन्न," उनी भन्छन्। "नेताहरूले आफ्ना कुरा मात्र गरे, जनताका गरेनन्।" 

आफ्नो परिवारमा पहिलो पटक मतदाता बन्न लागेकी छोरीले सबैभन्दा धेरै पुराना पार्टीलाई मत नहाल्न दबाब दिएको उनी सुनाउँछन्।

उनी थप्छन्, "श्रीमती त मानिसकिन्। मेरो पनि मन मरेको छ, यी पुराना पार्टीमा।"