चीनका नयाँ प्रधानमन्त्री ली चियाङको पृष्ठभूमि कस्तो?

    • Author, जर्ज राइट
    • Role, बीबीसी न्यूज

चिनियाँ राष्ट्रपति सी जिन्पिङद्वारा चीनको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित व्यक्तिलाई त्यहाँको संसद्‌ले औपचारिक रूपमा निर्वाचित गरेको छ।

देशको सबैभन्दा ठूलो सहर साङ्घाइका पूर्व कम्युनिष्ट पार्टी नेता ली चियाङले अब अवकास लिइरहेका ली खछ्याङको स्थानमा सरकारको नेतृत्व गर्नेछन्।

त्रिसट्ठी वर्षीय ली चियाङले न्याशनल पिपुल्स कङ्ग्रेसका २,९०० भन्दा बढी प्रतिनिधिमध्ये लगभग सबैको मत प्राप्त गरे।

उनी राष्ट्रपति सीका नजिकका सहयोगी हुन् र उनलाई व्यवहारवादी नेताका रूपमा हेर्ने गरिन्छ।

अब उनले सङ्घर्षपूर्ण बनेको चीनको अर्थतन्त्रलाई पुनर्जीवित पार्ने जिम्मेवारी पाउनेछन्।

चयन प्रक्रिया

नयाँ प्रधानमन्त्री नियुक्तिको घोषणा आइतवार हुने बताइएको छ।

चीनको 'रबरस्ट्याम्प' संसद्को बैठकमा मतदान हुँदा कुनै पनि पत्रकारलाई उक्त कक्षमा प्रवेश गर्न दिइएन।

राष्ट्रपति सीले मतदान गर्दा ताली बजेको थियो।

ली अब चीनको राजनीतिक प्रणालीमा दोस्रो उच्च दर्जाका अधिकारी हुनेछन्।

उनले कुल २,९३६ मत प्राप्त गरे।

केवल तीन जना प्रतिनिधिहरूले उनको नियुक्तिको विपक्षमा मतदान गरे भने आठजना अनुपस्थित भएका थिए।

त्यसपछि उनले चीनको संविधानप्रति वफादार रहने र "समृद्ध, बलियो, प्रजातान्त्रिक, सभ्य, मेलमिलाप र महान् आधुनिक समाजवादी देश निर्माण गर्न कडा मेहनत गर्ने" शपथ लिए।

यो पनि हेर्नुहोस्

कस्ता व्यक्ति हुन् ली?

ली सन् २००० प्रारम्भमा राष्ट्रपति सीका प्रमुख कर्मचारी थिए।

त्यसबेला सी सी जेजियाङ प्रान्तको पार्टी प्रमुख थिए। ली सन् २०१७ मा साङ्घाइको पार्टी सचिव बने।

चीनको आर्थिक राजधानी भनिने साङ्घाइको प्रमुख रहेका उनले यसअघि उक्त सहरमा भएको दुई महिने कडा लकडाउनको नेतृत्व गरेका थिए।

त्यहाँ मानिसहरूले खाना र औषधीको अभावसँग सङ्घर्ष गर्नुपरेको थियो।

घरमा पुर्‍याइएका खानहरू पनि सडेको भन्दै मानिसहरूले सामाजिक सञ्जालमा राखेका थिए। लकडाउनबाट आक्रान्त मानिसहरूले प्रहरीका बारहरूमा लात मार्नुका साथै सुरक्षा गार्डहरूसँग झडप भएको थियो।

शक्तिशाली सी

सीले शुक्रवार ऐतिहासिक तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित गरेपछि प्रधानमन्त्रीका रूपमा लीको नियुक्ति भएको हो।

देशको 'रबरस्ट्याम्प' संसद्‌बाट ऐतिहासिक रूपमा राष्ट्रपतिमा आफ्नो तेस्रो कार्यकाल सुनिश्चित गरेपछि शक्ति सञ्चयका हिसाबले ६९ वर्षीय सी कैयौँ पुस्तापछि चीनको सबैभन्दा प्रभावशाली नेता बनेका छन्।

सरकारविरोधी प्रदर्शनहरू निम्त्याएको सीको शून्य कोभिड नीतिबाट चीन खुला हुँदै गर्दा उनले आफ्नो शासनलाई मजबुत पारेका हुन्।

टू सेसन्स भनिने न्याश्नल पीपल्स कङ्ग्रेस (एनपीसी) र चाइनिज पीपल्स पलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का यस साताका बैठकहरूले चीनमा आउँदा वर्षको लागि कस्तो बाटो देखाउने भन्ने झलक दिने भएकाले तिनलाई चासोपूर्वक हेरिएका छन्।

माओ त्सेतुङपछि चीनमा नेताहरू दुई कार्यकालसम्म पदमा रहने सीमा राखिएका थिए।

सन् २०१८ मा उनले उक्त व्यवस्थालाई परिवर्तन गरेपछि सी माओपछिको प्रभावशाली नेताका रूपमा देखिएका छन्।

चीनको ‘टू सेसन्स’: जान्नुपर्ने आधारभूत कुरा

  • बेइजिङमा हुने ‘द टू सेसन्स’ वार्षिक रूपमा आयोजना हुने चीनको विधायिकी निकाय र शीर्ष राजनीतिक परामर्शदाता निकायका बैठकहरू हुन् जसमा देशभरिबाट हजारौँको सङ्ख्यामा प्रतिनिधिहरू सहभागी हुन्छन्
  • न्याश्नल पीपल्स कङ्ग्रेस (एनपीसी) चीनमा संसद सरहको निकाय हो। सैद्धान्तिक रूपमा यो राज्यको सबैभन्दा शक्तिशाली निकाय हो। वास्तविकतामा भने यसले सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका लागि ‘कठपुतली’का रूपमा काम गर्दै पहिल्यै निर्णय भइसकेका विषयमा महत्त्वपूर्ण कानुनहरू बनाउँछ
  • द चाइजिज पीपल्स पलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) को भने कुनै वास्तविक विधायिकी शक्ति छैन। यसमा समाजका विभिन्न क्षेत्रका मानिसहरू सहभागी हुन्छन्। नयाँ सामाजिक र आर्थिक विषयबारे जान्न त्यहाँ हुने बहसहरू महत्त्वपूर्ण हुन्छन्।