कोभिडपछि नेपालमा बढ्दै पर्यटक, कुन देशका धेरै

गत एप्रिल २३ मा देखिएको सगरमाथा बेसक्याम्पको दृश्य

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत एप्रिल २३ मा देखिएको सगरमाथा बेसक्याम्पको दृश्य

गत चार महिनाको अवधिमा नेपाल आएका पर्यटकको सङ्ख्या हेर्दा कोभिड महामारीपछि पर्यटन उद्योग फेरि फस्टाउन थालेको देखिएको अधिकारीहरूले बताएका छन्।

पर्यटन उद्योगमा पछिल्लो समय आएको सुधारबाट व्यवसायीहरू पनि उत्साहित भएका छन्।

अध्यागमन विभागका अनुसार सन् २०२३ को ज्यानुअरीदेखि एप्रिलसम्म हवाई र स्थलमार्ग भएर सात लाख ४० हजारभन्दा बढी विदेशीले नेपाल भ्रमण गरेका छन्।

गत ज्यानुअरीमा भारतीयबाहेक ३८ हजार ६ हजार ३८ जना पर्यटक नेपाल आएकोमा फेब्रुअरीमा ५४,८५४ जना, मार्चमा ७३,५१७ र एप्रिलमा ६७,३३७ जना आएको अध्यागमन विभागको तथ्याङ्क छ।

“कोभिड महामारीपछि अहिले आएर राम्रो देखिएको छ। नेपाल आउन थालेका पर्यटकको सङ्ख्या हेर्दा पर्यटन उद्योगमा पुनरुत्थान हुन थालेको देखिन्छ,” अध्यागमन विभागका निर्देशक खिमराज भुषालले बीबीसीसँग भने।

कुन देशका धेरै आए?

भुषालका अनुसार यो अवधिमा नेपाल आउने पर्यटकमध्ये भारतीय नागरिक सूचीमा सबैभन्दा माथि छन्।

“सबैभन्दा धेरै भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् भने त्यसपछि अमेरिका, यूके, अस्ट्रेलिया, थाइल्यान्ड र चीनका धेरै नागरिक नेपाल आएको देखिएको छ,” उनले थपे।

सबैजसो देशले कोभिड महामारीबीच यात्रासम्बन्धी कडाइ गरेका कारण घुम्न नपाएका मानिसहरू प्रतिबन्धात्मक नियमहरू हट्नासाथ अहिले यात्रामा निस्कन थालेका अधिकारीहरू बताउँछन्।

आउँदा दिनमा भारतीयसँगै चिनियाँ पर्यटकको आगमनमा पनि वृद्धि हुने सरकारी अधिकारी तथा पर्यटन व्यवसायीकोहरूको विश्वास रहेको छ।

व्यवसायी के भन्छन्?

लामो समयपछि पर्यटन उद्योग व्यवसायमा देखिएको सुधारका कारण व्यवसायीहरू पनि आशावादी बनेको बताएका छन्।

होटल सङ्घ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महत कोभिड महामारीपछि पर्यटन उद्योग पुनरुत्थानका क्रममा रहेको बताउँछन्।

“हाम्रा नजिकका बजार भारत र चीन खुलेपछि पछिल्लो समय तथ्याङ्क पनि राम्रो देखिएको छ,” बीबीसीसँग उनले भने।

“यो तथ्याङ्कले हामीलाई निकै उत्साहित बनाएको छ यो अर्थमा कि हामी पक्कै पनि कोभिडपूर्व अवस्थामा फेरि फर्कन सक्छौँ।”

अब सरकारले पनि पर्यटन उद्योगलाई टेवा पुर्‍याउने नीति अगाडि बढाउनुपर्ने महतको सुझाव छ।

अध्यागमन विभाग

तस्बिर स्रोत, DEPARTMENT OF IMMIGRATION

“कोभिडले थलिएका होटलहरूलाई जोगाउने नीति लिनुपर्छ र अर्को कुरा हाम्रो पर्यटनबारे अन्तर्राष्ट्रिय स्तरमा सन्देश जाने गरी विदेशमा ठूल्ठूला कार्यक्रम गर्नुपर्ने हुन्छ,” उनले सुझाए।

हाल नेपालमा १९ वटा पाँचतारे होटल र ३५ वटाको हाराहारीमा चारतारे होटल रहेको महत बताउँछन्। त्यसबाहेक केही होटल अहिले निर्माणका क्रममा छन्।

नेपाल पर्वतारोहण सङ्घका सचिव धनबहादुर गुरुङका अनुसार कोभिडका कारण थलिएका पर्यटन व्यवसायीहरूलाई अब बिस्तारै सहज हुन थालेको छ।

“ठ्याक्कै कोभिड महामारीभन्दा अगाडिकै अवस्था जस्तै त भन्न मिल्दैन। तर कोभिडपछि राम्रो हुन थालेको हो,” बीबीसीसँग उनले भने।

कीर्तिमानी सङ्ख्यामा आरोहण अनुमति

साङ्केतिक तस्बिर

तस्बिर स्रोत, RSS

अरू पर्यटकहरू आउने क्रम बढिरहेका बेला यसपालि वसन्त ऋतुका लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि हालसम्मकै धेरै व्यक्तिले अनुमति पाएका छन्।

पर्यटन विभागस्थित पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाका अनुसार ४६६ जनाले सगरमाथा आरोहणका लागि अनुमति पाइसकेका छन्।

“सगरमाथाको हकमा ६५ देशका ४६६ जनाले आरोहणका लागि अनुमति पाएका छन् जसमध्ये पुरुष ३६८ जना र महिला ९८ जना छन्,” बीबीसीसँग उनले भने।

यो वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अनुमति पाउनेमा सबैभन्दा धेरै चिनियाँ ९६ जना छन् भने त्यसपछि अमेरिकाका ८७ जना रहेका खतिवडाले बताए।

उनका अनुसार चीनले उत्तरी मोहडाबाट सगरमाथा आरोहणका लागि अनुमति दिँदै आएकोमा कोभिड महामारीयता अनुमति दिएको छैन।

पर्वतारोहीले कति रकम बुझाउनुपर्छ?

निर्देशक खतिवडाका अनुसार ऋतु र रुटअनुसार विदेशी पर्वतारोही दलले प्रत्येक सदस्यका लागि नेपाल सरकारलाई सलामी बुझाउनुपर्ने हुन्छ।

सगरमाथाको ‘नर्मल रुट’ का लागि वसन्त ऋतुमा प्रतिविदेशीले ११,००० अमेरिकी डलर, शरद ऋतुमा ५,५०० र शिशिर तथा वर्षा ऋतुमा २,७५० डलर तिर्नुपर्छ।

सगरमाथाको दक्षिणपूर्वी धारबाहेकको हकमा वसन्त ऋतुमा प्रतिविदेशीले १०,००० डलर शरद ऋतुमा ५,००० र शिशिर तथा वर्षा ऋतुमा २,५०० डलर तिर्नुपर्छ।

सगरमाथाबाहेक अरू हिमाल आरोहण गर्नका लागि तुलनात्मक रूपमा कम रकम बुझाउनुपर्ने खतिवडा बताउँछन्।