नेपाल पर्यटन: विदेशीलाई २०० डलर नगद बोक्न अनुरोध, सामाजिक सञ्जालमा चर्को विरोध

नेपाल पर्यटन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वैदेशिक मुद्राको सङ्कट देखा परिरहेका बेला नेपालमा पर्यटन क्षेत्रबाट ठूलो अपेक्षा गरिएको छ (फाइल फोटो)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले नेपाल आइपुगेपछि विमानस्थलमै दिइने 'अनअराइभल भिसा' लिने पर्यटकलाई २०० अमेरिकी डलर आफूसँग बोकेर आउन भन्दै जारी गरेको सूचनाको खासगरी समाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ।

'ई-ब्याङ्किङ भुक्तानीको अप्ठ्याराबाट छुटकारा पाउन'का निम्ति भन्दै उठाइएको कदममाथि कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरेका छन् भने केहीले व्यङ्ग्य गरेका छन्।

डिजिटल कारोबार सेवा प्रदायक कम्पनी एफवानसफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले प्रश्न गरेका छन्: नगद बोक्नुले ई-ब्याङ्किङको समस्याहरूलाई सम्बोधन गर्ला। तर, मानसिकतामा भएको समस्या केले सम्बोधन गर्छ?

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

त्यस्तै पत्रकारिता विषयका उप-प्राध्यापक लेखनाथ पाण्डेले लेखेका छन्: यो सूचना पढेर नेपाल घुम्न आउने पर्यटकहरूलाई यो व्यवस्था मुर्खतापूर्ण लाग्न सक्छ।

"मलाई यो शङ्का छ कि उनीहरूमध्ये धेरै पर्यटकले नेपाल भ्रमण गर्ने झन्झट लिन चाहँदैनन्," उनले भनेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

के छ सूचनामा?

नेपाल आगमनपछि भिसा लिने पर्यटकहरूलाई दुई सय डलर नगद बोकेर आउन आग्रह गरिएको सूचनामा "ई-ब्याङ्किङ झन्झटिलो हुने" जनाइएको छ।

नेपालमा पर्यटन मौसम सुरु भएसँगै पर्यटकको चाप बढेको तर विमानस्थलमा एउटा मात्र एटीएम मेसिन रहेकाले भिड व्यवस्थापन गाह्रो भएको जनाइएको छ।

अध्यागमन कार्यालय।

तस्बिर स्रोत, Department of Immigration

अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकारी माधवराज मरासिनीका अनुसार महामारीपछि तीन साता यता नेपालमा पर्यटक चाप उच्च हुँदै गएको छ।

"मशिन एउटा मात्र छ। भिड धेरै छ। अन्य प्राविधिक समस्या देखिएकाले पर्यटकहरू समस्यामा छन्। भिसा वा मास्टर कार्डबाट भुक्तानी गर्न पनि अप्ठ्यारो छ," सूचनामा लेखिएको छ।

यस्ता समस्याका कारण पर्यटकहरू लामो समय अध्यागमनमा अल्झने र कतिपय अवस्थामा उनीहरूसँग भिसा शुल्क तिर्नका निम्ति नगद अभाव हुँदा प्रवेश अनुमति समेत नपाउन सक्ने चेतावनी दिइएको छ।

के हो समस्या?

विमानस्थलमा एक मात्र एटीएम मशिन हुँदा रकम झिक्ने प्रक्रिया सुस्त र अव्यवस्थित बनेको मरासिनीले बीबीसीसँग बताए। उनका अनुसार केही सातायता पर्यटकहरू रकम झिक्नका लागि घण्टौँ लाम बस्न बाध्य छन्।

त्यस्तै अनलाइन भुक्तानी पनि प्रणालीमा समस्याका कारण भिसा वा मास्टर कार्ड सहजै प्रयोग गर्ने परिस्थिति छैन।

"भिसाका लागि अनलाइन आवेदन दिन मिल्ने बनाउँदै छौँ। त्यसमा राजस्व पनि अनलाइन नै तिर्न मिल्ने गरी परीक्षण भइरहेको छ। त्यस सुविधा सुरु नहुन्जेलका लागि नगद बोक्न पर्ने अन्तरिम व्यवस्था गरेका हौँ," मरासिनीले जानकारी दिए।

पर्यटकलाई सहज र छरितो सेवाका लागि उक्त सूचना सार्वजनिक गरेको उनको दाबी छ।

"दुई वर्षसम्म सामान्य सङ्ख्यामा पर्यटक भित्रिएका थिए। प्रणालीले धानेको थियो। अहिले पर्याप्त आउनु भएको छ। त्यसैले सिस्टम अद्यावधिक गर्नै पर्ने भयो।"

उनले विमानस्थलको इन्टरनेट, कर्मचारी अभाव र कार्यालयको प्राविधिक क्षमता कमजोर हुनुलाई अन्य समस्याको रूपमा व्याख्या गरे।

कार्यालयले अध्यागमन विभाग समक्ष एटीएम मशिन बढाउन र उचित व्यवस्थापनका लागि आग्रह गरेको उनले बताए।

अध्यागमन विभाग

तस्बिर स्रोत, Department of Immigration

के भन्छ विभाग?

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भण्डारीले आफूहरूले राष्ट्रिय वाणिज्य ब्याङ्कसँग पटक पटक एटीएम मशिनको सङ्ख्या बढाउन आग्रह गरेको जिकिर गरे।

"ब्याङ्कले मशिनको सङ्ख्या थप गर्छौँ वा भएको मशिननको समस्या हल गर्छौँ भन्नु हुन्छ तर समस्या दोहोरिइरहन्छ। के गर्ने?," उनले भने।

रकम भुक्तानी अप्ठ्यारो बनेकाले पर्यटकले दुःख पाएको र त्यसैमा सहजीकरणको निम्ति सूचना जारी गरेको उनले बताए।

"समग्रमा, चाप कम गर्ने हेतुले पर्यटकलाई नगद बोकेर आउनु भनिएको हो। उनीहरूलाई छिटो छरितो सेवा नै हाम्रो उद्देश्य हो," भण्डारीले प्रस्ट्याए।

दुई सय डलर ल्याउनु पर्ने प्रावधान अनिवार्य नभएकाले पर्यटकहरू समस्यामा नपर्ने उनको दाबी छ।

ब्याङ्कको प्रतिक्रिया कस्तो?

राष्ट्रिय वाणिज्य ब्याङ्कका विभागीय प्रमुख सरोज बस्नेतका अनुसार विमानस्थलमा देखिएको समस्याबारे ब्याङ्कमा गुनासो आएको छ। समस्या पहिचान र समाधानका लागि ब्याङ्क, अध्यागमन विभाग र राष्ट्र बैंकबीच छलफल भइरहेको छ।

"राष्ट्र बैँकमार्फत हामीलाई जानकारी आएको हो। अहिले समस्याको हल खोज्न र सेवा दुरुस्त बनाउनेबारे तीन पक्षीय छलफल भइरहेको छ," उनले भने।