नेपालको विदेशी मुद्रा भण्डार कसरी बढ्यो, छिमेकी देशको तुलनामा कति छ

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

साउन महिनामा सुरु भएको यो आर्थिक वर्षको छ महिना अर्थात् पुस मसान्तसम्म आइपुग्दा नेपालको विदेशी मुद्रा सञ्चितिको भण्डारले नयाँ कीर्तिमान बनाएको छ।

यस अवधिमा नेपालको विदेशी मुद्रा भण्डार अमेरिकी डलरको हिसाबमा १३.६९ अर्ब डलर बराबर पुगेको छ।

अहिले राष्ट्रको ढुकुटीमा १८ खर्ब १६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको नेपाल राष्ट्रब्याङ्कको पछिल्लो प्रतिवेदनमा उल्लेख छ।

यो परिमाण भनेको कति हो?

गत असार मसान्तमा नेपालको विदेशी मुद्रा सञ्चिति ११.७९ अर्ब अमेरिकी डलर थियो। त्यसयता त्यो निरन्तर बढिरहेको छ।

झन्डै साढे १३ अर्ब अमेरिकी डलरको परिमाणमा विदेशी मुद्रा सञ्चिति पुग्नु भनेको कति हो भन्ने जान्न एक त आन्तरिक परिस्थिति र अर्को बाह्य मुलुकसँग तुलना गर्नुपर्ने हुन्छ।

नेपालभित्रको अवस्था हेर्ने हो भने यो रकमले देशको सम्पूर्ण वस्तु तथा सेवा आयातलाई एक वर्षभन्दा धेरै समय धान्न सक्छ।

विकासोन्मुख देशहरूमा पाँचदेखि सात महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चितिलाई राम्रो मान्ने गरिन्छ।

अहिले नेपालमा रहेको विदेशी मुद्राले साढे १४ महिनालाई पुग्ने वस्तु आयात अनि १२.१ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात धान्न सक्छ।

छिमेकी देशसँग तुलना

खास गरी छिमेकका केही मुलुकसँग तुलना गर्दा पनि यो परिमाण राम्रो देखिन्छ।

बाङ्ग्लादेश उदाउँदो अर्थतन्त्र मानिन्छ र उसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)सयौँ अर्ब डलरमा छ। नेपालको कुल गार्हस्थ्य उत्पादन भने झन्डै ५३ खर्ब रुपैयाँ वा ४० अर्ब डलरको हाराहारीमा मात्र छ।

बाङ्ग्लादेशको विदेशी मुद्रा सञ्चिति भने केही समययता ह्रास हुँदै गएको बुझिन्छ।

त्यहाँको केन्द्रीय ब्याङ्कले दिएको पछिल्लो आँकडामा डिसेम्बर महिना वा मध्यपुससम्म आइपुग्दा उसको ढुकुटीमा २७ अर्ब डलर बराबर देखिएको छ। त्यो रकम नेपालको तुलनामा केवल दोबर मात्र हो।

पाकिस्तानको अवस्था पनि नेपालको तुलनामा खराब देखिन्छ।

नेपालभन्दा कैयौँ गुना ठूलो अर्थतन्त्र भएको पाकिस्तानको विदेशी मुद्रा सञ्चिति केही वर्षयता लगातार खस्किरहेको छ।

त्यहाँको केन्द्रीय ब्याङ्कका अनुसार गत महिना उसको ढुकुटीमा १३.२ अर्ब अमेरिकी डलर बराबरको सञ्चिति रह्यो। केही महिनाअघि त्यहाँ सञ्चिति घटेर आठ अर्ब डलरमा झरिसकेको थियो।

श्रीलङ्कामा झन्डै दुई वर्षअगाडि गम्भीर आर्थिक सङ्कट आइपर्‍यो। त्यतिखेर अत्यावश्यक खानेकुरा, इन्धन र औषधि किन्न समेत विदेशी मुद्राको अभाव भयो। अहिले विस्तारै त्यहाँको अर्थतन्त्रमा सुधार हुँदै छ।

त्यहाँको केन्द्रीय ब्याङ्कले दिएको पछिल्लो विवरणमा पुसमध्यतिर उसको विदेशी मुद्रा सञ्चिति ४.३३ अर्ब डलर पुगेको देखिन्छ।

नेपालभन्दा सानो अर्थतन्त्र भएको भुटानको विदेशी मुद्रा सञ्चिति सोही समयमा ५७.३ करोड अमेरिकी डलर रहेको त्यहाँको केन्द्रीय ब्याङ्कले उल्लेख गरेको छ।

माल्दिम्सको केन्द्रीय ब्याङ्कले दिएको विवरणमा त्यही समयमा उसको विदेशी मुद्रा सञ्चिति ५८.११ करोड अमेरिकी डलर बराबर देखिन्छ।

विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बनिसकेको छिमेकी भारतको विदेशी मुद्रा सञ्चितिको भण्डार पनि विशाल छ।

ज्यानुअरी अन्त्यमा उसको ढुकुटीमा छ खर्ब १६ अर्ब अमेरिकी डलर बराबरको सञ्चिति रहेको रिजर्भ ब्याङ्कले जनाएको छ।

नेपालमा बढ्नुका कारण के के?

नेपालमा रेकर्ड स्तरमा विदेशी मुद्राको सञ्चिति बढ्नुको प्रमुख कारण द्रुत गतिमा बढिरहेको रेमिट्यान्स वा विप्रेषण आम्दानी नै रहेको केन्द्रीय ब्याङ्कको ठम्याइ छ।

अघिल्लो आर्थिक वर्षको ६ महिनामा ५८५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएकोमा यो आर्थिक वर्षको छ महिनामा ७३३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ।

अमेरिकी डलरमा हिसाब गर्दा २२ प्रतिशतभन्दा धेरैले रेमिट्यान्स आप्रवाह बढेको छ।

“हाम्रो देशमा यसरी लगातार विदेशी मुद्राको सञ्चय बढ्नुमा पहिलो कारण रेमिट्यान्स नै हो। दोस्रो चाहिँ हाम्रो आयात खुम्चिनु पनि कारक बनेको छ,” राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले बताए।

गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा घटेको आयात यो आर्थिक वर्षमा थप घटेको छ। अर्थात् आयातमा विदेशी मुद्राको खर्च कम हुँदा स्वाभाविक रूपमा भण्डार विस्तार भएको छ।

चालु आर्थिक वर्षको छ महिनामा आयात तीन प्रतिशतले घटेर त्यसमा भएको खर्च ७६८ अर्ब रुपैयाँमा झरेको छ।

पर्यटकहरूबाट हुने भ्रमण आय पनि पोहोरको तुलनामा बढिरहेकाले सञ्चितिमा सकारात्मक प्रभाव परेको भट्टले बताए।

विदेशी मुद्राको सञ्चितिसँगसँगै देशभित्र भित्रने र बाहिरिने भुक्तानीको सन्तुलन वा शोधनान्तर पनि २७३ अर्ब रुपैयाँले बचतमा पुगेको छ।

कसरी गर्ने उपयोग

अहिलेको सञ्चितिलाई विदेशी मुद्राको सदुपयोग गर्न अवसरका रूपमा लिइएको प्रवक्ता भट्टले बताएका छन्।

“विशेष गरेर पूर्वाधार निर्माण विस्तार गर्ने अनि पुँजीगत खर्च बढाउने अवसर यसले दिएको छ,” उनले भने।

खास गरी स्थानीय तहहरूको ब्याङ्क खातामा डेढ खर्ब जम्मा रहेको देखिँदा उनीहरूले उचित विकास निर्माणका काम थालेमा त्यसले विदेशी मुद्राको सही उपयोग बढाउने भट्टले बताए।

“उपभोग बढाउने खालका गतिविधिमा खर्च गर्दा सञ्चितिमा चाप पर्छ। तर विकास निर्माणका काम गर्दा आर्थिक गतिविधि अनि आन्तरिक रोजगारी पनि बढ्न सक्छ,” उनले भने।

ठूला पूर्वाधार निर्माण गर्ने क्रममा ठूलाठूला मशीन ल्याउँदा वा विदेशी विज्ञ ल्याउँदा विदेशी विनिमय खर्च भए पनि त्यसले अर्थतन्त्रमा राम्रो प्रभाव पर्ने उनले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।