प्रधानमन्त्रीको निर्देशनपछि बढेको भोलिपल्टै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

मुख्य चाडपर्व आउनै लागेका बेला पेट्रोलियम पदार्थको भाउ बढाएको नेपाल आयल निगमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मूल्यवृद्धि फिर्ता लिएको छ।

शनिवार नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डीजल, हवाई इन्धन र मट्टितेलको भाउ बढाएको थियो।

भाउ वृद्धि भएको खबरसँगै सामाजिक सञ्जालमा मानिसहरूले व्यापक असन्तुष्टि व्यक्त गरेका थिए भने कतिपय राजनीतिक दलका नेताहरूले पनि त्यसको विरोध गरेका थिए।

दशैँ-तिहार आउनै लागेका बेला मूल्यवृद्धि गरिएको भन्दै विरोध भएपछि आइतवार बसेको मन्त्रिपरिषद्‌को आकस्मिक बैठकमा प्रधानमन्त्रीले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिइसकेको जानकारी मन्त्रीहरूलाई दिएका थिए।

"प्रधानमन्त्रीज्यूले पहिले नै निर्देशन दिइसक्नु भएको थियो त्यसको जानकारी बैठकमा गराउनु भयो," सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बीबीसीसँग भनिन्।

मन्त्री शर्माका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार बिहानै नेपाल आयल निगमका उमेशप्रसाद थानीलाई बोलाएर मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिएका हुन्।

आयल निगमले के भन्यो?

त्यसपछि आइतवार दिउँसो आयल निगमका प्रवक्ता मनोज ठाकुरले वक्तव्य जारी गर्दै मूल्यवृद्धि फिर्ता भएको जानकारी दिएका हुन्।

उनले जारी गरेको वक्तव्यमा भनिएको छ, "नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी मिति २०८०/०६/१४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्यवृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२:०० बजेबाट लागु हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ।"

कति बढेको थियो भाउ?

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट शनिवार आएको नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजना गरेको जनाएको थियो।

भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलको प्रतिलिटर एक रुपैयाँ ३४ पैसा र डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८२ पैसाले बढेको निगमले जनाए छ।

त्यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५४ पैसा तथा एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १७३ रुपैयाँ ४५ ले बढेर आएको उसको भनाइ छ।

निगमले "पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८०" अनुसार परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि कर समायोजन गरेर भाउ बढाउने निर्ण गरेको थियो।

निगमले आइतवारदेखि लागु हुनेगरी खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजल/मट्टितेलमा प्रति लिटर ६ रुपैयाँ बढाएको थियो।

त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनमा प्रति लिटर ८ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर ६० अर्थात् प्रतिलिटर करिब ८ रुपैयाँ नै वृद्धि गरेको थियो भने खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २१५ रुपैयाँले बढेको थियो।

घाटा पूर्ति गरिदिने आश्वासन

स्वचालित प्रणालीमा मूल्य समायोजन नगर्दा आफूहरूले लगातार घाटा बेहोर्नु परेको आयल निगमका अधिकारीहरूले प्रधानमन्त्रीलाई स्मरण गराएको अधिकारीहरूले बताएका छन्।

मूल्यमा सहुलियत दिँदा हुने घाटा पूर्तिका लागि सरकारले अनुदान वा ऋणको व्यवस्थापन गरिदिने प्रधानमन्त्रीले आश्वासन दिएको आयल निगमका अधिकारीहरूको भनाइ छ।

नेपाल आयल निगमले केही महिनाअघि मात्र ९ वर्षपछि पुन: पेट्रोलियम पदार्थका लागि स्वचालित बिक्री मूल्य प्रणाली लागु गरेको थियो।

विसं २०७१ सालमा लागु गरिएको स्वचालित प्रणाली केही महिना पनि टिकेको थिएन।

यसपालि पनि त्यस्तै अवस्था आएको निगमका अधिकारीहरू बताउँछन्।

आयल निगमको घाटाबारे संसद्‌मा प्रश्न

यसैबीच आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आयल निगमको घाटा निर्क्योल गर्नुपर्ने माग गरेको छ।

बैठकको सुरुमै सभामुखसँग समय मागेर बोल्दै उक्त दलका नेता रवि लामिछानेले आयल निगमबारे प्रश्न उठाएका हुन्।

उनले भने, “प्रधानमन्त्री चीन भ्रमणबाट ‘मुड फ्रेस’ गरेर आउनु भएको छ। तर आउँदाआउँदै जनताको ‘मुड अफ’ गरिदिनु भयो मूल्यवृद्धि गरेर। फेरि फिर्ता लिएर उहाँले ‘मुड फ्रेस’ गराउनु भयो।”

त्यसपछि उनी आयल निगमको विषयमा बोल्न थालेका थिए।

लामिछानेले भने, “यो आयल निगम व्यापार पनि आफैँ गर्छ, आयात पनि आफैँ गर्छ, नियामक निकाय पनि उही हो। सबै कुरा आफैँ गर्छ अनि भन्छ- सधैँ घाटामा छु। कर्मचारीलाई बोनस बाड्न पनि भ्याउँछ तर सधैँ घाटामा रहन्छ। यो घाटा के हो? सधै देशले घाटा सहने कुराको निर्क्योल होस्।”

उनले अन्तर्राष्ट्रिय हिसाबले मूल्य समायोजन भएको भए मूल्य घटेका बेलामा किन निगमले लामो समय लगाउँछ भन्दै प्रश्न पनि गरेका थिए।

प्रचण्डको जबाफ

संसद्‌मा बोल्दै प्रधानमन्त्री प्रचण्डले आयल निगमले गरेको मूल्यवृद्धिबारे आफूलाई पूर्व जानकारी नभएको बताए।

उनले भने, "त्यो मेरो जानकारीमा थिएन। प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको भन्दा पनि केही महिनाअघि नाफामा पनि जान थालेकाले ठिक हो भनेर गरेको थियो। केही महिनाअघि स्वचालिन मूल्य प्रणालीमा जाने भनेको थियो।"

उनले सोही स्वचालित मूल्य प्रणाली अन्तर्गत निगमले अहिले पनि भाउ बढाएको भए पनि निगम स्वायत्त नभएको बताए।

उनले भने, "अटो प्राइसिङ भनेको आयल निगमको स्वायत्तता होइन। यो सरकार भित्रकै कुरा हो।"

नेपालमा आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ पर्ने गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।