तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के चीनको कार्बन उत्सर्जन उत्कर्षमा पुगिसकेको हो?
- Author, टोनी हान
- Role, बीबीसी ग्लोबल चाइना युनिट
पछिल्लो वर्षको अवधिमा चीनको कार्बन उत्सर्जन वृद्धि उल्टो गतिमा देखियो।
सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लीन एअरकी लोरी मिलिभर्टाले जलवायु विषयमा रिपोर्टिङ गर्ने कार्बन ब्रीफका लागि लेखेका एउटा रिपोर्ट अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा चीनको कुल कार्बन डाइअक्साइड उत्सर्जन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.६% ले घटेको देखिएको छ।
बीबीसीसँग कुरा गरेका अरू विज्ञहरूले रिपोर्टमा उल्लिखित तथ्याङ्कलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसक्ने बताएका छन्, तर उनीहरूले यदि अहिले नै नभइसकेको भए पनि चीनले प्रयोग गर्ने ऊर्जा स्रोतहरूमा भएका परिवर्तनका कारण त्यो दशकौँदेखि बढ्दो उत्सर्जन अब अन्त्यको सँघारमा रहेको बताएका छन्।
चीनले गर्ने कार्बन उत्सर्जन पहिला पनि नघटेको होइन, तर त्यस्तो अवस्था कोभिड महामारीजस्ता आर्थिक धक्का लागेका बेला मात्र देखिएको थियो।
यदि यो कमी पुष्टि भयो भने चीनको समग्र ऊर्जा माग तीव्र रूपमा बढ्दा समेत कार्बन उत्सर्जन घटेको यो पहिलो पटक हुने छ।
यदि चीनको कार्बन उत्सर्जन घटिरह्यो भने यो शताब्दीको शुरूतिर उक्त देशलाई विश्वकै सबैभन्दा ठूलो कार्बन उत्सर्जक बनाउने गरी भएको तीव्र वृद्धिको अन्त्य हुने छ।
पचास वर्षअघि विश्वव्यापी कार्बन उत्सर्जनमा चीनको हिस्सा सात प्रतिशतभन्दा कम थियो।
तर कोइलामा आधारित तीव्र आर्थिक वृद्धिका दशकहरूपछि अहिले चीनले विश्वव्यापी उत्सर्जनको करिब ३० प्रतिशत हिस्सा ओगटेको छ।
सन् २०१९ मै चीनको उत्सर्जन सबै विकसित राष्ट्रहरूको संयुक्त उत्सर्जनभन्दा धेरै भइसकेको थियो।
जब चीनको उत्सर्जन तीव्र रूपमा बढिरहेको थियो त्यति बेला अमेरिका र युरोपेली सङ्घजस्ता अरू प्रमुख उत्सर्जक देशहरूको उत्सर्जन घट्न थालिसकेको थियो। किनकि उनीहरूले धेरै ऊर्जा खपत गर्ने उत्पादन तथा कोइलामा आधारित विद्युत् उत्पादनबाट आफ्नो अर्थतन्त्रलाई टाढा पार्न थालेका थिए।
चीनले धनी देशहरूले अघिल्लो आर्थिक विकासको क्रममा रोजेका बाटो मात्र पछ्याएको भनी लामो समयसम्म दाबी गर्दै आएको थियो जुन बाटोसँग उत्सर्जनको तीव्र वृद्धि जोडिएको थियो। तर यथार्थ के हो भने पछिल्ला वर्षहरूमा चीन नै विश्वव्यापी उत्सर्जन वृद्धिको मुख्य कर्ता रहँदै आएको छ।
कार्बन ब्रीफका लेखक मिलिभिर्टा भन्छन्: "पछिल्लो दशकमा विश्वव्यापी नेट उत्सर्जन वृद्धिको जिम्मेवार लगभग पूर्ण रूपमा चीन नै हो। यदि चीनको योगदान नहुने हो भने विश्वले दश वर्षअघि नै आफ्नो उत्सर्जन स्थिर पारिसक्ने थियो।"
चीनको उत्सर्जनको व्यापक स्तरलाई हेर्दा यदि विश्वव्यापी जलवायु प्रयासलाई सफल पार्ने हो भने चीनले यो वृद्धिको मार्ग उल्टाउनैपर्छ।
स्वच्छ ऊर्जामा वृद्धि
मिलिभर्टाका अनुसार चीनले आफ्नो कार्बन उत्सर्जन वृद्धिलाई रोक्न सफल हुनुको प्रमुख कारण देशभरि सौर्य र वायु ऊर्जाका फार्महरू तथा अन्य स्वच्छ ऊर्जा स्रोतहरूको व्यापक विस्तार गर्नु हो।
उनले भनेः"चीनले विगत केही वर्षहरूमा विश्वभरि स्थापना गरिएका आधाभन्दा बढी सौर्य र वायु ऊर्जा स्थापना गरेको छ।"
"चीनले गत वर्ष स्थापना गरेको सौर्य क्षमता यूरोपेली सङ्घको कुल क्षमता बराबर छ जुन अत्यन्तै तीव्र वृद्धि हो।"
यूकेमा आधारित ऊर्जा थिङ्क ट्याङ्क एम्बरको नयाँ तथ्याङ्क अनुसार एप्रिलमा सौर्य र वायु ऊर्जा गरी पहिलो पटक चीनले कुल विद्युत् उत्पादनको एक चौथाइभन्दा बढी हिस्सा बनायो।
त्यसै गरी सन् २०२५ को पहिलो चार महिनामा जीवाश्म इन्धनबाट उत्पादित विद्युत् अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.६% ले घटेको छ।
इतिहासभरि कोइलामा आधारित अर्थतन्त्र भएको चीनमा यी परिवर्तनहरू अत्यन्त महत्त्वपूर्ण रहेको एम्बरकी ऊर्जा विश्लेषक याङ बिकिङ बताउँछिन्।
"सरकारले कोइलामा आधारित विद्युत्लाई एकदमै ब्याकअप भूमिकामा हेर्न थालिसकेको छ," उनी भन्छिन्।
याङले मिलिभर्टाका विस्तृत डेटालाई आफूले पुष्टि नगरेको बताइन्, तर विशेष गरी चीनको ऊर्जा मिश्रणमा नवीकरणीय स्रोतहरूको वृद्धिलाई हेर्दा उसको ऊर्जा क्षेत्रमा हुने कार्बन उत्सर्जन स्थिर हुँदै गएकोप्रति उनी सहमत छिन्।
उत्कर्ष अथवा स्थिर अवस्था?
तर चीनले उत्सर्जन वृद्धिलाई नियन्त्रणमा ल्याइरहेको भए पनि यसको अर्थ दीर्घकालीन रूपमा उत्सर्जनमा निरन्तर गिरावट आउने निश्चित छैन।
एशिया सोसाइटी पोलिसी इन्स्टिच्यूट (एएसपीआई) का ली शुओ भन्छन्: "तपाईँ एकदमै चाँडो उत्कर्षमा पुग्न सक्नुहुन्छ, तर त्यो स्तरमा धेरै लामो समयसम्म स्थिर रहन सकिन्छ र त्यो जलवायु परिवर्तनसम्बन्धी कदमका लागि धेरै सहयोगी कुरा होइन।"
उत्कर्षमा पुगेपछि के हुन्छ भन्ने कुरा धेरै घरेलु र विश्वव्यापी कारकहरूमा निर्भर गर्छ।
लीका अनुसार युक्रेनमा जारी युद्धजस्ता घटनाहरूले अन्तर्राष्ट्रिय तेल बजारमा सिर्जना गरेको भद्रगोलले चीनका नेताहरूलाई विगत केही वर्षमा देशको ऊर्जा आपूर्ति सुनिश्चित गर्न दृढ बनाएको छ।
उनीहरू फेरि कोइलामा फर्किएका छन् जुन ऊसँग प्रचुर मात्रामा रहेको छ।
ली भन्छन्: "यदि हामीले अझ बढी भूराजनीतिक अशान्ति देख्नुपर्ने भयो भने मलाई लाग्छ ऊर्जा सुरक्षाप्रति त्यो चाहना रहिरहने छ र त्यसले चीनको जलवायु सङ्क्रमणका लागि एउटा ठूलो समस्या सिर्जना गर्ने छ।"
तर अस्ट्रेलियाको ग्रिफिथ एशिया इन्स्टिच्यूटका निर्देशक क्रिस्टोफ नेडोपिल वाङका अनुसार ऊर्जा सुरक्षाको खोजी दुवै तरिकाले काम गर्छ।
कोइला सञ्चितिसँगै चीनले विन्ड टर्बाइन र सौर्य प्यानलहरूसहितका स्वच्छ ऊर्जा प्रविधिहरूमा विश्वव्यापी प्रभुत्व कायम गरेको उनी बताउँछन्।
"नवीकरणीय स्रोतहरूमा बढी निर्भरता र त्यससँगै आयातमा कमीले चीनको राष्ट्रिय सुरक्षामा सुधार ल्याउँछ।"
अमेरिकासँगको व्यापार तनाव र मन्द हुँदै गएको आर्थिक वृद्धिले चीनका नेताहरूलाई आर्थिक वृद्धिलाई बढावा दिन उत्प्रेरित गर्ने छ जसले कार्बन उत्सर्जनमा पुनः तीव्र वृद्धि ल्याउन सक्छ भन्ने कुरामा नेडोपिल वाङलाई आशङ्का छ।
चीनका नीति निर्माताहरूले भविष्यको अर्थतन्त्रका मुख्य कारकहरू आईटी, बायोटेक, विद्युतीय सवारीसाधन र स्वच्छ ऊर्जा प्रविधिजस्ता अपेक्षाकृत कम उत्सर्जन गर्ने क्षेत्रहरू हुने विश्वास राख्छन् र ती क्षेत्रहरूलाई विकास गर्ने प्रयास गर्ने सम्भावना बढी भएको वाङको अनुमान छ।
उनी भन्छन्: "मलाई लाग्दैन कि चीन पुराना शैलीका उद्योगहरू जस्तै स्टिल निर्माण अत्यधिक विस्तार गर्ने अवस्थामा छ।"
निरन्तरको कदम आवश्यक
चीनले आफ्नो कार्बन उत्सर्जन वृद्धिलाई उल्लेखनीय रूपमा सुस्त बनाएको यहाँ उद्धृत गरिएका विज्ञहरूले बताएका छन्- चाहे उसले यो प्रक्रियालाई उल्टाएको होस् वा नहोस्। तर चीनले अझै पनि आफ्नो अन्तर्राष्ट्रिय कार्बन प्रतिबद्धताहरू पूरा गर्न ठूलो चुनौती सामना गरिरहेको छ।
प्यारिस सम्झौताअन्तर्गत चीनले सन् २०३० सम्म २००५ को स्तरभन्दा आफ्नो कार्बन गहनतालाई ६५% भन्दा बढी कम गर्ने प्रतिबद्धता जनाएको छ। कार्बन गहनताले उत्सर्जनलाई प्रतिएकाइ आर्थिक उत्पादनमा मापन गर्छ।
बढी ऊर्जा खपत हुने उत्पादनहरूमा निर्भरताका कारण कोभिड महामारीका बेला चीन उक्त प्रतिबद्धताबाट निकै पर गएको थियो।
विश्वकै सबैभन्दा ठूलो उत्सर्जकले आफ्नो मुख्य अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धताबाट पछि हट्नु भनेको बहुपक्षीय जलवायुसम्बन्धी कदमका लागि ठूलो धक्का हुने छ।
मिलिभर्टाका अनुसार अब चीनको यो लक्ष्य पूरा गर्ने एक मात्र आशा भनेको अहिलेदेखि सन् २०३० सम्ममा उसको कार्बन उत्सर्जन घटाउनु हो।
आउँदा केही महिनाहरूमा जलवायुसम्बन्धी चिनियाँ कदमप्रति सबैको ध्यान हुने छ- नोभेम्बरमा ब्रजिलको बेलेम शहरमा कोप ३० जलवायु शिखर सम्मलेन हुँदै छ र चीनले प्यारिस सम्झौताअन्तर्गत अद्यावधिक गरिएका लक्ष्यहरू घोषणा गर्ने छ।
ट्रम्प प्रशासनको बहुपक्षीय जलवायु क्रियाकलापप्रति उदासीनताका माझ चीनले यो विषयमा विश्वलाई नेतृत्व दिने प्रयास गरेको छ।
एप्रिलमा भएको जलवायु सम्मेलनमा राष्ट्रपति सी जिन्पिङले विश्व नेताहरूसँग भने: "बोल्ने मात्र होइन, काम गर्नु जरुरी छ... हामीले हाम्रा लक्ष्यहरूलाई ठोस नतिजामा बदल्नैपर्छ।"
त्यसैले चीनले आफ्नो कार्बन गहनता लक्ष्यलाई छोडिरहेको जस्तो देखिनबाट बच्न चाहने सम्भावना धेरै छ जुन यसको प्रमुख अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धता हो। उसका नेताहरूले गत वर्षको सम्भावित उत्सर्जन उत्कर्षलाई पनि एउटा उपलब्धिका रूपमा हेर्न सक्छन्।
एएसपीआईका ली शुओका अनुसार चिनियाँ नेताहरूले विश्वव्यापी दृष्टिकोणलाई ध्यानमा राखी आफ्नै लक्ष्य निर्धारण गर्ने छन्।
"उनीहरूले आफ्नो जलवायु महत्त्वाकाङ्क्षासहित भूराजनीति र चीनलाई विश्वले कसरी हेर्ने छ भन्नेजस्ता जटिल विषयहरूलाई ध्यान दिने छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।