नेपालले पपुवा न्यूगिनीलाई ९ विकेटले हरायो, विश्वकप खेल्ने आश अझै कायम

क्रिकेट

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

आईसीसी विश्वकप क्रिकेट लीग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको खेलमा नेपालले ९ विकेटले पपुवा न्यूगिनीलाई (पीएनजी) हराएको छ।

पीएनजीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले एक विकेट गुमाएर ७.४ ओभरमै प्राप्त गर्न नेपालले १०० रन बनायो।

यो जितसँगै लीग-२ का कुल ३६ खेलमध्ये ३५ वटापछि नेपाल तालिकामा ३८ अङ्कसहित चौथो स्थानमा कायम छ।

आइतवार भएको खेलमा यूएईलाई पराजित गरेपछि नेपालले आफ्नो एकदिवसीय मान्यता जोगाइसकेको छ भने बाँकी खेलमा यूएईलाई पुनः हराउन सके नामिबियालाई उछिन्दै नेपाल तालिकाको तेस्रो स्थानमा उक्लिनेछ।

लीग-२ का शीर्ष तीन टोलीहरूले जिम्बाब्वेमा आगामी जुन र जुलाई महिनामा हुने विश्वकप क्वालिफाइअरमा स्वतः प्रवेश पाउनेछन्।

यही वर्ष भारतमा हुने विश्वकपमा प्रवेश पाउन ती टोलीको जिम्बाब्वेमा अर्को परीक्षा हुनेछ।

कारणवश यूएईसँगको खेलको नतिजा आउन नसके नेपाल र नामबियाको अङ्क ३९-३९ हुनेछ। नामिबियाले १९ खेलमा जित पारेको हुँदा त्यसको आधारमा नेपाललाई पछि पार्दै ऊ तेस्रो स्थानमा कायम रहनेछ।

बलरको जादु

सन्दीप लामिछाने

कीर्तिपुरमा टस जितेर विपक्षी टोलीलाई ब्याटिङ गर्न निम्तो दिएको नेपालले खेलको सुरुदेखि नै पपुवा न्यूगिनीलाई दबावमा राखेको थियो।

धारिलो बलिङको सहयोगमा घरेलु मैदानमा नेपाली टोलीले पपुवा न्यूगिनीलाई ३२ ओभरमा ९५ रनमा सीमित पारिदिएको थियो।

सन्दीप लामिछानेले नेपालका लागि सर्वाधिक पाँच विकेट लिए भने ललित राजवंशी र कुशल मल्ल दुई-दुई विकेट हात पारे। सोमपाल कामीले पनि एक विकेट लिए।

लामिछानेले १० ओभर बलिङ गर्ने क्रममा २५ रन दिएर पाँच विकेट लिएका हुन्। अन्तिम विकेट उनले आफ्नो दशौँ ओभरको अन्तिम बलमा हात पारेका थिए।

उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए।

red line
red line

यससँगै लीग-२ मा सन्दीप लामिछानेको विकेट सङ्ख्या ७१ पुगेको छ। लीग-२ मा उनीभन्दा माथि ओमानका बिलाल खानले ७६ विकेट लिएका छन्।

लामिछानेले एकदिवसीय खेलमा तेस्रो पटक पाँच विकेट लिएका हुन्।

यसअघि उनले केन्यासँग डिभिजन-२ अन्तर्गत २०१८ को फेब्रुअरी १२ को खेलमा पाँच विकेट लिएका थिए।

अर्को पटक उनले २०२० फेब्रुअरी १२ मा खेलिएको लीग-२ को खेलमा अमेरिकाविरुद्ध छ विकेट लिएका थिए।

नेपालमा जारी आईसीसी विश्वकप लीग-२ को अन्तिम शृङ्खलामा यसअघि खेलिएका दुई खेलमा पनि नेपाल विजयी भएको थियो।

आइतवारको खेलमा स्पिनर ललितनारायण राजवंशीको पाँच विकेट तथा कप्तान रोहित पौडेलको संयमित ब्याटिङ गर्दै अर्धशतक बनाउँदा नेपालले यूएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

त्यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर बनाउँदै पपुवा न्यूगिनीलाई नेपालले पराजित गरेको थियो।

गत बिहीवार नेपालले पहिला ब्याटिङ गर्दै २९७ रन जोडेको नेपालले पाहुना टोलीलाई ४७.१ ओभरमा २४५ रनमा समेट्दै ५२ रनले विजयी हुन सफल रहयो।

सहज जित

क्रिकेट

तस्बिर स्रोत, can

तस्बिरको क्याप्शन, आशिफ शेख

नेपाललाई जितका लागि ठूलो मेहनत गर्नुपरेन।

कुशल भुर्तेलले १४ बलमा ३३ रन बनाए। सो क्रममा उनले दुई छक्का र चार चौका प्रहार गरे।

त्यस्तै आशिफ शेखले २१ बलमा अर्धशतक बनाए। अविजित रहँदै ५३ रन बनाउँदा उनले आठ चौका र तीन छक्का प्रहार गरेका थिए। यो सँगै उनी सबैभन्दा कम बलमा अर्धशतक बनाउने नेपाली खेलाडीका बनेका छन्।

कुशल मल्लले १३ बलको सामना गर्दै १२ रन बनाए।

क्रिकेट

सोमवारको खेलमा नेपालको टोलीमा एक खेलाडी परिवर्तन गरिएको थियो।

यूएईविरुद्धको खेलमा स्थान पाएका गुलशन झालाई बेन्चमा राख्दै करण केसी टोलीमा समावेश गरिएको थियो।

प्रतीश जीसी र ज्ञानेन्द्र मल्ललाई पनि यो खेलका लागि टोलीमा समाविष्ट गरिएन।

red line
red line

अङ्कतालिकामा नेपालको अवस्था कस्तो

गत महिनादेखि खेलिएका लीग-२ का ११ खेलमा नेपालको यो दशौँ जित हो।

तालिकामा नेपाली टोलीको अङ्क ३८ पुगेको छ।

आईसीसी विश्वकप क्रिकेट लीग-२

नेपालभन्दा एक स्थानमाथि रहेको नामिबियाको अङ्क ३९ छ। उसले १९ वटा खेल जितेको छ।

अन्तिम खेलको जितले नेपाल ४० अङ्कका साथ तेस्रो स्थानमा उक्लिनेछ।

बाँकी खेल कहिले

लीग-२ को यो अन्तिम त्रिकोणीय शृङ्खला हो।

यो शृङ्खलामा अब दुई खेल बाँकी छन्।

  • मार्च १५ः पपुवा न्यूगिनी र यूएई
  • मार्च १६ः नेपाल र यूएई