चार्ल्स शोभराजलाई स्वदेश फिर्ता गर्ने तयारी

चार्ल्स शोभराज

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फाइल तस्बिर

सर्वोच्च अदालतको आदेशपछि नेपालमा १९ वर्षदेखि कारागारमा रहेका चार्ल्स शोभराजलाई रिहा गरेर स्वदेश फिर्ता गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

अदालतको आदेशपछि उनलाई भोलि (शुक्रवार) बिहान अध्यागमनमा बुझाउने तयारी भइरहेको केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले बीबीसीलाई बताए।

“सर्वोच्च अदालतको आदेश अनुसार हामीले अध्यागमनलाई बुझाउने तयारी गरेका छौँ। आज अदालतबाट कागजात प्राप्त हुँदा समय लागेको कारणले भोलि बिहान अध्यागमनलाई बुझाउछौँ,” पाण्डेले भने।

“अध्यागमन विभागले बुझिसकेपछि पठाउने व्यवस्था हुन्छ।”

उनले स्वदेश फर्काउन आवश्यक कागजात र परिवार वा उनलाई पुर्‍याउने व्यक्तिको व्यवस्था मिलाउने जानकारी दिए।

अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले सोभराजलाई स्वदेश फर्काउनुअघि नियन्त्रणमै राख्ने वा निगरानीमा मात्रै राख्नेबारे टुङ्गो लाग्न बाँकी रहेको बताए।

“हामी छिटोभन्दा छिटो उहाँलाई जुन देशको पासपोर्ट छ त्यो देशमा पठाउँछौँ। त्यस अवधिमा नियन्त्रणमै राख्ने वा नियन्त्रणमा राख्ने भन्ने निर्णय भइसकेको छैन,” उनले भने।

शोभराज सन् २००३ मा काठमाण्डूमा पक्राउ परेका थिए। दुई विदेशी पर्यटकको सन् १९७५ मा हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो।

सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो।

शोभराज कसरी छुटे?

चार्ल्स शोभराज
तस्बिरको क्याप्शन, फाइल तस्बिर

न्यायाधीशहरू सपना मल्ल प्रधान र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधवारै रिहा गर्न आदेश दिए पनि अन्य अदालतबाट भएका आदेशमा पनि शोभराजले कैद भुक्तान गर्न बाँकी रहे वा नरहेको बुझ्न समय लागेको थियो।

“आफूलाई थुनामा राखिनु गैरकानुनी भएको” भन्दै शोभराजले बन्दीप्रत्यक्षीकरणको आदेश माग गरेर सर्वोच्च अदालतमा निवेदन दिएपछि बन्दीप्रत्यक्षीकरणको आदेश अदालतले दिएको प्रवक्ता विमल पौडेलले बताए।

बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज फ्रान्सेली नागरिक हुन्। उनका पिता भारतीय मूलका हुन् भने आमा भियतनामी मूलकी हुन्।

सन् १९९७ मा रिहा हुनुअघि उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए।

अठहत्तर वर्षीय शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा बिताएका छन्।

अदालतले रिहा गर्नुअघि उनले सजाय भुक्तान गर्नुपर्ने अन्य कसुर रहे वा नरहेको यकिन गर्न भनेको थियो। 

भक्तपुर र काठमाण्डू जिल्ला अदालतबाट अभिलेख भिडाएर थप कैद बस्नुपर्ने नदेखिएपछि थुना मुक्त गर्ने निर्णय गरिएको जेलर पाण्डेले जानकारि दिए।

चार दशकअघि नेपालमा अमेरिका र क्यानडाका एक‍/एक महिलाको हत्या गरेको अभियोग उनीमाथि थियो। ती मुद्दामा उनी दोषी ठहर भए।

सर्वोच्च अदालतले किन रिहा गर्न आदेश दियो?

चार्ल्स शोभराज
तस्बिरको क्याप्शन, फाइल तस्बिर

सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेशमा “निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड र संविधान, कानुन प्रदत्त अधिकारअनुकूल नदेखिएको” भन्दै रिहा गर्न भनेको छ।

आदेशमा “अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन,” भनिएको छ।

हाल ७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै उनलाई थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको फैसलामा भनिएको छ।

कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ।

नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटकपटक निवेदन दिएका थिए।

"हाल उनले १९ वर्ष कैद अर्थात् ९५ प्रतिशत कैद सजाय भुक्तान गरिसकेको देखिन्छ," आदेशमा भनिएको छ।

बुधवारको आदेशमा न्यायाधीशद्वयले सर्वोच्च अदालतले २०७५ साल फागुनमा दिइएको आदेशमा रहेको "निवेदकको उमेर ७४ वर्ष भइसकेको तथ्यमा विवाद नरहेको, निज मुटुसम्बन्धी रोगबाट पीडित भई नियमित उपचारको अवस्थामा रहेको र निजलाई ठेकिएको कैदमध्ये करिब ७५ प्रतिशत कैद भुक्तान भइसकेको देखिँदा निजका सम्बन्धमा मानवोचित र विवेकपूर्ण निर्णय तत्काल हुनु वाञ्छनीय देखियो" बेहोरा र त्यसपछि २०७९ साल वैशाखमा परेको अर्को रिट निवेदनमा सर्वोच्च अदालतले जारी गरेको परमादेशको सम्बन्धमा कुनै निर्णय पनि नभएको पनि उल्लेख गरिएको छ।

चार्ल्स शोभराज

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फाइल तस्बिर

कहाँकहाँ गरे अपराध?

शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ।

ती घटनाहरू सन् १९७२ देखि १९८२ सम्म भएका थिए। हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाइएको बताइन्छ।

तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको र नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको बताइन्छ।

सन् २०२० मा बीबीसी र नेटफ्लिक्सले उनीबारे 'द सर्पेन्ट' नामक शृङ्खलाबद्ध वृत्तचित्र बनाएको थियो।

भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत चकित बनाउन वा प्रभावमा पार्न पोख्त मानिने शोभराज पछिल्लो समय 'सज्जन, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिले' जस्तो व्यवहार गर्ने गरेको कारागारमा खटिएका अधिकारीहरूले यसअघि बीबीसीसँग बताएका थिए।

चार्ल्स शोभराज

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शोभराज सन् २००३ मा काठमाण्डूबाट पक्राउ परेका थिए

भारतमा किन परेका थिए जेल? कसरी भागेका थिए तिहाड जेलबाट?

फ्रान्सका पर्यटकहरूलाई विष दिएको अभियोगमा दोषी ठहर भएपछि सन् १९७६ मा शोभराजलाई भारतमा २१ वर्षको जेल सजाय सुनाइएको थियो।

तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए।

आफ्नो जन्मदिनमा उनले जेलभित्र भोज दिएका थिए। त्यसमा सुरक्षाकर्मीहरूलाई पनि निम्तो दिइयो।

भोजमा बाँडिएको बिस्कुट र अङ्गुरमा निद्रा लाग्ने औषधि मिसाइएकाले खाने जति सबै जना अचेत भएपछि शोभराज र अरू केही कैदी तिहाड जेलबाट भागे।

भारतीय पत्रपत्रिकामा प्रकाशित विवरणअनुसार उनले त्यतिबेला जेलको ढोकामा तस्बिर पनि खिचाएका थिए।

थाईल्यान्ड सुपुर्दगी हुनबाट जोगिने विश्वाससहित उनी त्यसरी जेलबाट भागेको बताइन्छ।

थाईल्यान्डमा पाँच जनाको हत्या गरेको अभियोगमा फैसला हुँदा उनलाई मृत्युदण्ड पनि हुनसक्थ्यो।

सन् १९९७ मा जेलबाट मुक्त हुँदा थाईल्यान्डमा मुद्दा चल्ने हदम्याद गुज्रिसकेको थियो। जेलबाट छुटेपछि उनलाई फ्रान्स पठाइएको थियो।

त्यसपछि सन् २००३ मा उनी काठमाण्डूमा देखा परे।