तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राहदानी 'दुरुपयोग'मा रवि लामिछानेमाथि मुद्दा नचल्ने महान्यायाधिवक्ताको निर्णय
महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेको महान्याधिवक्ता कार्यालयले जनाएको छ।
राहदानी दुरुपयोगमा लामिछानेलाई मुद्दा चलाउन “आधार र प्रमाण” नपुग्ने भन्दै महान्यायाधिवक्ताले त्यस्तो निर्णय गरेको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले बीबीसीलाई बताए।
प्रमाण नपुग्ने भएकाले सोमवार महान्यायाधिवक्ताले उक्त निर्णय गरेको र त्यसबारे जानकारी दिन आफूलाई निर्देशन दिएको उनको भनाइ छ।
महान्यायाधिवक्ताको उक्त निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुपयोगका विषयमा मुद्दा चलाउन पाउने छैनन्।
आइतवार लामिछानेले राहदानी दुरुपयोग गरेकोसम्बन्धी मुद्दाका फाइलहरू उक्त कार्यालयमा पुगेका खबर आएका थिए।
उनलाई सफाइ दिनुका आधार के?
महान्यायाधिवक्ताले केही आधारहरू लिएर लामिछानेलाई मुद्दा चलाउन नमिल्ने निर्णय गरेका हुन्।
प्रवक्ता रेग्मीले बीबीसीसँग भने, “जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूबाट निर्णय भएर आएको थियो- मुद्दा नचलाउने प्रमाण पुग्दैन भनेर। सोही कुरा उच्च सरकारी वकिल कार्यालय पाटनबाट पनि आएको थियो।”
“र, प्रहरीले पनि अनुसन्धान प्रतिवेदनमा प्रमाण नपुग्ने भएकाले मुद्दा चलाउनुपर्दैन भन्ने उल्लेख गरेको थियो। तिनै आधारलाई टेकेर महान्यायाधिवक्ताज्यूले निर्णय गर्नुभएको हो।”
लामिछानेमाथि एकै पटक नेपाली र अमेरिकी राहदानी लिएको र दुवै राहदानी प्रयोग गरेको आरोप लागेको थियो।
उनीमाथि नेपाली नागरिकता त्याग्ने र अमेरिकी नागरिकता लिने एवं अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिने प्रक्रियाहरू पूरा नगरेको विषयमा पनि छानबिन भएको थियो।
सर्वोच्च अदालतले उनले नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगरेको निर्णय सुनाएपछि लामिछानेको सांसद र गृहमन्त्री पद गएको थियो।
उनले प्रक्रिया पूरा गरेर पुन: नागरिकता प्राप्त गरिसकेका छन्।