अमेरिका र स्कटल्यान्डविरुद्ध नेपाल: पुछारमा पर्नबाट जोगिन सङ्घर्षसँगै शीर्ष ४ मा उक्लिने लक्ष्य

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

स्कटल्यान्ड र नेपालको प्रतिस्पर्धाको कथा छुट्टै छ। ताजा कुरा गर्ने हो भने नेपालले स्कटल्यान्डलाई मुम्बईको वानखेडे रङ्गशालामा मिठो पाराले हराएको थियो। तर त्यो २० ओभरको विश्वकप थियो।

५० ओभरको कुरा गर्ने हो भने एक वर्षअगाडि स्कटल्यान्डको डन्डीमा जानुपर्छ। जहाँ खेलेको दुई खेलको हार/जित नेपालको रोचक एक दिवसीय खेलमा पर्छ।

नेपालले आइसीसी विश्वकप ली ग २ को सातौँ शृङ्खला स्कटल्यान्डको खेलबाट कीर्तिपुर रङ्गशालामा सुरु गर्दै छ। यहाँनिर नेपाली समर्थकलाई मन पर्ने विषय के छ भने कीर्तिपुरमा स्कटल्यान्डले नेपाललाई पराजित गर्न सकेको छैन।

यद्यपि वास्तविकता के छ भने विश्वकप लीग २ को २०२३/२४ - २०२७ को यो शृङ्खला नेपालको लागि ज्यादै चुनौतीपूर्ण छ।

शृङ्खलामा नेपालले खेल्न लागेको अमेरिका र स्कटल्यान्ड दुवै तालिकाको शीर्ष स्थानमा रहेका टोलीहरू हुन्।

नेपाल भने तालिकाको पुछारमा पुग्नबाट जोगिनकै लागि सङ्घर्ष गरिरहेको छ।

तीन टोलीको फरक उद्देश्य

लीग २ को गत हप्ता सम्पन्न ओमान र यूएई सम्मिलित छैटौँ शृङ्खला नेपालका लागि हौसलाको विषय किन रह्यो भने चारमध्ये नेपालले ३ खेलमा जित हात पार्न सक्यो।

यो हिसाबमा नेपाली खेलाडीहरूले लयमा फर्केको सङ्केत गरेको छ। तर अर्कोतिर स्कटल्यान्ड र अमेरिकाको मुड झन् बेग्लै देखिन्छ।

अमेरिका मजबुत देखिन्छ - २४ खेलबाट १८ जित र ६ हारसहित टोली ३६ अङ्क जोड्दै तालिकाको शीर्षस्थानमा छ । निःसन्देह उ शीर्ष स्थान जोगाउन बल गर्ने छ।

स्कटल्यान्ड अमेरिकालाई पछ्याउने क्रममा छ। उ अमेरिकाभन्दा २ अङ्कले मात्र तल छ।

स्कटल्यान्डले खेलेका २८ मध्ये ६ खेल वर्षाले बिथोलेको कारण टोलीले महत्त्वपूर्ण अङ्क गुमाउनु परेको थियो। नत्र टोलीले अमेरिकालाई उछिन्ने अवस्था बन्थ्यो।

त्यसैले काठमाडौँ शृङ्खलाबाट स्कटल्यान्ड शीर्ष स्थानमा पुगेर फर्किन चाहने छ।

नेपाली टोली भने दुई फरक परिस्थितिमा देखिन्छ। टोली एकातिर पुछारमा पर्नबाट जोगिन सङ्घर्षरत छ, सँगसँगै अर्कोतिर शीर्ष ४ मा उक्लिने लक्ष्य पनि छ।

अमेरिका र स्कटल्यान्डले नेपाली टोलीसँग खेल्नु अगाडि नेपाल 'ए' सँग २/२ अभ्यास खेल खेल्यो। यो खेलले टोलीलाई नेपालको मौसमसँग घुलमिल हुन र खेलाडीहरूको अभ्यासको लागि महत्त्वपूर्ण बन्यो।

अमेरिकासँग ब्याटिङमा अलराउन्डर मिलिन्द कुमार, ओपनर साइतेजा मुक्कामल्ला तथा कप्तान मोनांक पटेलको धार छ भने बलिङतर्फ सौरभ नेत्रावल्कर, हरमित सिंह जस्ता खेलाडीहरू छन्।

यस्तै स्कटल्यान्डसँग ओपनर जर्ज मुन्से, ब्रान्डन म्याकमुलन र कप्तान रिची बेरिङ्टन छन् भने ब्राड करी उनीहरूको मुख्य बलिङ हतियार मानिन्छन्।

नेपालको स्थिति कस्तो ?

यूएई/ओमान सम्मिलित शृङ्खलाको ३ जित नेपालको लागि हौसलाको विषय हुने छ।

प्रशिक्षक स्टुअर्ट ल ले यो शृङ्खलाको लागि इशान पाण्डेलाई टोलीमा भित्राएपछि ब्याटिङ विकल्प बलियो बनेको देखिन्छ।

ओमान/यूएई को शृङ्खलामा उपकप्तान दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने राम्रो फर्ममा देखिएका छन्।

यद्यपि प्रशिक्षक ल ले ओपनिङमा फरक फरक प्रयोग गरिरहेकोले यो शृङ्खलामा ओपनिङ जोडीको छनोट महत्त्वपूर्ण हुने देखिन्छ। कुशल भुर्तेल फर्ममा आउन नसक्नु टोलीको लागि चिन्ताको विषय बनिरहेको छ।

कप्तान रोहित पौडेल पनि पूर्ण फर्ममा नदेखिएका बताइन्छ। तर भीम सार्कीसहित मध्य पङ्क्तिमा अर्जुन कुमाल, इशान पाण्डे विकल्पको रूपमा राखिएका छन्। आशिफ शेख फर्ममा फर्किएका र उनका दाजु आरिफ शेखले आफ्नो भूमिका राम्ररी नै निभाइरहेको भनेर विश्लेषण भएको छ।

बलिङमा भेट्रान जोडी करण केसी र सोमपाल कामीको भूमिका खेलको लागि निर्णायक साबित हुन सक्ने ठानिएको छ। नन्दन यादव प्रभावकारी छन् तर स्थिर नदेखिएका बताइन्छ। यीमध्ये एक जना सुरुको ११ मा पर्ने छैनन्।

समग्रमा लामो समयदेखि एक साथ खेलिरहेको नेपाली टोली माथि विश्वास गर्ने ठाउँ भए पनि त्यसमाथि आशिफको भनाइ छ, " धेरै टाढाको सोच्ने हैन। क्रमशः अगाडि बढ्ने हो।"

खेलाडीहरूले बुझेका छन् - जारी शृङ्खलामा बाँच्न नेपालसँग उत्कृष्ट नतिजा ल्याउनुको विकल्प छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।