तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'आकाशमा मडारिएका वस्तु र प्रकाशका झिल्का': अमेरिकाले सार्वजनिक गरेको यूएफओ दस्ताबेजमा के छ
- Author, साक्षी वेङ्कटरमण
- Author, रेबेका पीडेर
- पढ्ने समय: ५ मिनेट
संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले 'यूएफओ'बारे अहिले सार्वजनिक गरेका दस्ताबेजहरूमा सर्वसाधारण मानिसले पृथ्वीबाट र अन्तरिक्षयात्रीहरूले चन्द्रमाबाट अज्ञात वस्तुहरू देखेको भनिएका घटनाका विवरणहरू संलग्न छन्।
यसअघि गोप्य राखिएका ती दस्ताबेज गत शुक्रवार सार्वजनिक गरिएको हो। राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनानुसार ती दस्ताबेज अन्लाइन पोस्ट गरिएको छ। गत वर्ष ट्रम्पले यूएफओबारे "व्यापक रुचि देखिएको" भन्दै त्यससँग सम्बन्धित सामग्री सार्वजनिक गर्न निर्देशन दिएका थिए।
अमेरिकामा केही वर्षयता पृथ्वीबाहिर जीवन हुन सक्ने विषयमा निकै चासो बढेको देखिन्छ। अमेरिकी कङ्ग्रेसमा सन् २०२२ मा ५० वर्षमा पहिलो पटक यूएफओबारे सुनुवाइ भएको थियो। त्यस क्रममा अमेरिकी सेनाले उक्त विषयलाई अझ पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।
अमेरिकी रक्षा मन्त्रालयले आफ्नो वेबसाइटमा शुक्रवार १६१ वटा फाइल उपलब्ध गरायो। आगामी दिनहरूमा थप दस्ताबेज सार्वजनिक हुने ठानिएको छ।
गत फेब्रुअरी महिनामा भूतपूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले एलिअनहरू "वास्तविक हुन्, तर मैले देखेको छैन" भनेपछि सर्वसाधारण मानिसमा पनि बाह्यलोक र त्यहाँ जीवहरू हुन सक्ने विषयमा चासो चुलिएको थियो।
ओबामाले आफूले भनेको कुराबारे स्पष्टीकरण दिएका छन्। उनले बाह्यलोका जीवन हुन सक्ने तथ्याङ्कीय सम्भावनाबारे टिप्पणी गरेको तर राष्ट्रपति हुँदा त्यसलाई पुष्टि गर्ने "कुनै प्रमाण भने नदेखेको" बताएका छन्।
सोही महिना ट्रम्पले पेन्टागनलाई "एलिअन र बाह्यलोकीय जीवन, अन्आइडेन्डिफाइड एरिअल फनोमिना (यूएपी) र अन्आइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्स (यूएफओ)"सँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्न दिए।
शुक्रवार सार्वजनिक गरिएका पहिलाका गोप्य फाइलहरूमा सैन्य टिपोटहरू, अमेरिकाले चन्द्रमामा पठाएका विभिन्न एपोलो मिशनहरूका प्रतिवेदनहरू र मानिसहरूले आफूले यूएफओ देखेको दाबी र आफूलाई उक्त वस्तु बाह्यलोकबाट आएको हुन सक्ने लागेको भनाइबारे तयार पारिएका प्रतिवेदनहरू छन्।
एपोलो अन्तरिक्षयात्रीहरूले देखेका 'प्रकाशका झिल्काहरू'
अहिले सार्वजनिक फाइलहरूमा अमेरिकाले चन्द्रमामा सन् १९६० र १९७० का दशकमा चन्द्रमा अवतरण गर्ने उद्देश्यसहित सञ्चालन गरेका विभिन्न एपोलो मिशनमा सहभागी अन्तरिक्षयात्रीहरूको वार्तालापका अभिलेखहरू पनि छन्। एपोलो ११, एपोलो १२ र एपोलो १७ का ती अभिलेख पहिला गोप्य राखिएको थियो।
एपोलो ११ अभियानमा सहभागी ख्यातिप्राप्त अन्तरिक्षयात्री बज एल्ड्रिनले सन् १९६९ मा दिएको र शुक्रवार प्रकाशित एउटा अन्तर्वार्तामा चन्द्रयात्राका क्रममा आफूले व्याख्या गर्न नसकिने विभिन्न घटनाहरू देखेको बताएका छन्।
"मैले निकै उज्यालो देखिने प्रकाशको एउटा स्रोत देखेँ जसलाई हामीले त्यो सम्भवतः लेजर हुन सक्ने ठान्यौँ," उनले भने।
ती अभिलेखमा एपोलो १२ का अन्तरिक्षयात्री एलन बीनले आफूले "अन्तरिक्षमा निस्किएका" कण र प्रकाशका झिल्काहरू देखेको बताएको उल्लेख छ। उनका अनुसार ती कणहरू "चन्द्रमाबाट बाहिर निस्किन लागे" जस्तो देखिएको थियो। बीन सन् १९६९ मा चन्द्रमामा ओर्लिएर हिँडेका थिए।
एपोलो १७ मिशनमा सहभागी दुई अन्तरिक्षयात्रीले पनि १९७२ मा आफूले अन्तरिक्षयानभित्रबाट प्रकाशको झिल्को देखेको जानकारी दिएका थिए। "त्यहाँ फोर्थ अफ जुलाई [अमेरिकी स्वन्त्रता दिवस]जस्तै देखिन्छ!" अमेरिकी स्वतन्त्रता दिवसमा गरिने आतिसबाजीतिर इङ्गित गर्दै ज्याक श्मिटले भने। उनीहरूका अनुसार त्यतिबेला देखिएको प्रकाश बरफका टुक्राबाट परावर्तित भएर आएको पनि हुन सक्छ।
अर्को एउटा फाइलमा सन् १९६५ को 'जेमिनाई ७' अन्तरिक्ष उडानका बेला अन्तरिक्षयात्री फ्र्याङ्क बोर्मन र पृथ्वीमा रहेको सहयोग गर्ने टोलीबीच भएको संवादाको अडिओ रेकर्डिङ छ। त्यसमा उनले आफ्नो यानको देब्रेपट्टि एउटा अज्ञात वस्तु देखेको जानकारी नासाको मिशन कन्ट्रोललाई दिएका छन्। उनले त्यसलाई एउटा "बगी" र त्यसपछाडि "खर्बौँ साना कणहरू" जस्तो भनेका छन्।
प्रकाशबाट निस्किएर आकाशमा मडारिएका वस्तुहरू
अहिले सार्वजनिक गरिएका फाइलहरूमा दर्जनौँ व्यक्तिहरूले आफूले यूएपी अर्थात् अज्ञात तर अस्वाभाविक घटना देखेको भनेर गरेका दाबीहरू पनि संलग्न छन्।
तीमध्ये एउटा फाइलमा एक व्यक्तिले सन् १९५७ मा एफबीआई आफूले एउटा ठूलो र गोलो यान जमिनबाट माथितिर जाँदै गरेको बताएका छन्। सेप्टेम्बर र अक्टोबर २०२३ मा एफबीआईलाई दिएको बयानमा पनि केही अमेरिकी नागरिकहरूले आफूले चम्किलो प्रकाशबाट निस्किएका धातुका वस्तुहरू आकाशमा तैरिएको देखेको बताएका छन्।
इराक, सिरिया र यूएईमा सेनाले देखेका विवरणहरू
अमेरिकी सेनाले सन् २०२२ मा मध्यपूर्वमा खिचेका केही भिडिओ क्लिपहरू पनि सार्वजनिक भएका छन्।
इराक, सिरिया र यूएईमा खिचिएका फुटेजमा केही अज्ञात तथा अस्वाभाविक र ती के हुन् भनेर छुट्ट्याउन नसकिएका घटनाहरू देखिन्छन्। पेन्टागनले तिनलाई "अन्रिजल्भ्ड अन्आइडेन्टिफाइड अनोमलस फनोमिनन" भनेको छ।
सन् २०२२ मा खिचिएको एउटा भिडिओमा एउटा अण्डाकार वस्तु बायाँबाट दायाँतिर तीव्र गतिमा अघि बढेको देखिन्छ। उक्त भिडिओ कहाँ खिचिएको थियो भनेर खुलाइएको छैन। तर त्यो भिडिओसँगै पेस गरिएको प्रतिवेदनमा उक्त वस्तु "सम्भवतः क्षेप्यास्त्र" भएको उल्लेख छ।
सांसदहरूद्वारा स्वागत
रिपब्लिकन कङ्ग्रेसम्यान टिम बर्शेटले फाइलहरू सार्वजनक गर्ने पेन्टागनको कदमको स्वागत गरेका छन्। उनले यूएफओको विषयमा सरकार पारदर्शी हुनुपर्ने आवाज उठाउँदै आएका थिए।
सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै उनले त्यसलाई "गजबको थालनी" भनेका छन्।
रिपब्लिनक आना पाउलिना लूनाले एउटा विज्ञप्ति प्रकाशित गर्दै "सही दिशामा एउटा ठूलो पहिलो कदम" भनेकी छन्।
यद्यपि पूर्वसांसद मार्जरी टेलर ग्रीनले ती दस्ताबेजहरू सार्वजनिक गर्नुको उद्देश्य खर्च गर्न सक्ने क्षमता र इरान युद्धजस्ता अमेरिकीहरूले खेपेका अन्य गम्भीर विषयहरूबाट ध्यान अन्यत्र मोड्नु रहेको दाबी गरेकी छन्। पहिला उनी ट्रम्पकी समर्थक थिइन् तर पछि उनीहरूबीचको सम्बन्ध बिग्रिएको छ।
त्यसलाई 'प्रपोगान्डा'को सङ्ज्ञा दिँदै उनले आफूलाई त्यो देखेर दिक्क लागेको 'एक्स'मा लेखेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।