नाजीको प्रतीक देखाउने ब्रिटिश पुरुषलाई अस्ट्रेलियाले देश निकाला गर्ने

तस्बिर स्रोत, Australian Federal Police
- Author, लाना लाम
- Role, सिड्नी
अस्ट्रेलियामा रहेका एकजना ब्रिटिश नागरिकको भिसा रद्द गरिएको छ भने नाजी प्रतीकहरू प्रदर्शन गरेको अभियोगमा उनलाई देश निकाला गर्न लागिएको हो।
क्वीन्सल्यान्डमा बस्ने ४३ वर्षे ती पुरुषलाई यो महिनाको सुरुमा पक्राउ गरेर अभियोग लगाइएको थियो। नाजीको स्वस्तिक चिन्ह सामाजिक सञ्जालमा पोस्ट गरेको, नाजी समर्थक सिद्धान्तहरूको प्रचार गरेको र यहुदी समुदायप्रति हिंसाको आह्वान गरेको आरोप उनीमाथि लागेको हो।
उनलाई यो साता ब्रिजबनस्थित अध्यागमनको हिरासतमा पुर्याइएको थियो र अब उनले ज्यानुअरीमा अदालतको सामना गर्नुपर्ने छ। हालै यहुदीविरोधी र दक्षिणपन्थी अतिवादमा वृद्धि भइरहेका घटनामाझ प्रहरीले प्रतिबन्धित प्रतीकहरूको प्रयोगमाथि कडाइ गर्दै आएको छ।
गृहमन्त्री टोनी बर्कले भने: "उनी यहाँ घृणाका लागि आएका थिए - उनी यहाँ बस्न पाउँदैनन्।"
"यदि तपाईँ अस्ट्रेलियामा भिसामा आउनुहुन्छ भने तपाईँ यहाँ अतिथि हो," बुधवार अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँग बोल्दै बर्कले भने।
गत महिना, बर्कले दक्षिण अफ्रिकी नागरिक म्याथ्यू ग्रुटरको भिसा रद्द गरिदिए। सन् २०२२ यता अस्ट्रेलियामा बस्दै आएका उनी न्यू साउथ वेल्सको संसद् भवनअगाडि नियोनाजी र्यालीमा भाग लिइरहेको देखिएका थिए।
ग्रुटरजस्तै ब्रिटिश पुरुषले पनि आफ्नो भिसा रद्द गर्न अपिल गर्न सक्छन्। उनी आफैँ अस्ट्रेलिया छोड्न सक्छन् वा देश निकालाका लागि पर्खिन सक्छन्।
प्रहरीले ती व्यक्तिलाई देश फिर्ता पठाउन ढिला गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गरिरहेको बुझ्न सकिन्छ। त्यसो गर्दा ती व्यक्तिले अर्को महिना अदालतको सामना गर्नुपर्ने छ।
यो वर्षको सुरुमा अस्ट्रेलियाले घृणासम्बन्धी अपराध कानुनलाई कडा बनाएको थियो। घृणाको प्रतीक देखाउने वा नाजी सलाम गर्ने जस्ता कार्यका लागि अनिवार्य रूपमा जेलमा बस्नुपर्ने व्यवस्था उक्त कानुनले गरेको थियो।
सामाजिक सञ्जाल एक्समा गरेको पोस्टपछि प्रहरीले गत अक्टोबरमा उनीमाथि अनुसन्धान थालेको थियो। एक्सले उनको अकाउन्ट ब्लक गरिदिएको थियो। त्यसपछि उनले त्यही नामको नयाँ अकाउन्ट खोलेको र त्यहाँ पनि उनले आपत्तिजनक र हानी पुग्ने सामग्री पोस्ट गरिरहेको प्रहरीले जनाएको छ।

तस्बिर स्रोत, Australian Federal Police
अधिकारीहरूले ब्रिजबनको बाहिरी भागमा पर्ने कबुल्चरमा रहेको उनको घरको नोभेम्बरको अन्त्यतिर खानतलासी गरेका थिए। त्यहाँबाट प्रहरीले फोनहरू, हतियारहरू र थुप्रै भाला र स्वस्तिकका प्रतीकहरू जफत गरेको थियो।
उनीमाथि प्रतिबन्धित नाजी प्रतीकहरू प्रदर्शन गरेका तीन र इन्टरनेट प्रयोग गरेर अपमान गरेको एउटा अभियोग लगाइएको थियो।
"हामी सामाजिक एकतामा दखल पुर्याउन यी प्रतीकहरू प्रयोग गरिएको छैन भन्ने सुनिश्चित गर्न चाहन्छौँ," अस्ट्रेलियन फेडेरल पुलिसका सहायक आयुक्त स्टीफन नटले यो महिनाको सुरुमा भनेका थिए।
"यदि हामीले यी घटनाहरू कहाँ भइरहेका छन् भन्ने पहिचान गर्यौँ भने हामी त्यो व्यवहार भङ्ग गर्न, संलग्नलाई मुद्दा अभियोजन गर्न र विविधतायुक्त समुदायको गरिमा, सुरक्षा र एकताको रक्षा गर्न द्रुत रूपमा काम गर्ने छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








