शेअर कारोबारमा राष्ट्रिय परिचयपत्र आवश्यक पारिएकोबारे तपाईँले थाहा पाउनुपर्ने कुरा

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्टक ब्रोकरहरूलाई पठाएको पछिल्लो परिपत्रले शेअर कारोबार खाता सञ्चालनमा पनि राष्ट्रिय परिचयपत्रलाई आवश्यक बनाएको जानकारहरूले बताएका छन्।

यसअघि ब्याङ्क खाता खोल्दा अनिवार्य बनाइएको राष्ट्रिय परिचयपत्र अब शेअर लगानीकर्ता तथा कारोबारीहरूलाई पनि आवश्यक हुने भएको हो।

व्यक्तिहरूको डिजिटल पहिचान स्थापना गर्ने र त्योसँग वित्तीय कारोबारहरूमात्र नभई सामाजिक सुरक्षाका कार्यक्रमहरू जोड्ने उद्देश्यले राष्ट्रिय परिचयपत्र लागु गरिएको छ।

के भनेको छ नेप्सेले?

धितोपत्रसम्बन्धी नियामक निकाय धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार आफूहरूले स्टक ब्रोकरहरूलाई सूचित गरेको नेप्सेले बताएको छ।

"हामीले हाम्रा ब्रोकर सदस्यहरूलाई अबदेखि कारोबार खाता खोल्दाखेरि राष्ट्रिय परिचयपत्र राख्ने व्यवस्था गर्नु भनेर परिपत्र गरेका हौँ," नेप्सेका प्रवक्ता तथा कम्पनी सचिव मुराहरि पराजुलीले बीबीसीलाई बताएका छन्।

शेअर कारोबार गर्न लगानीकर्ताहरूले ब्रोकरकहाँ गएर खाता खोल्नु पर्छ। अहिलेसम्म त्यस्तो टिएमएस खाताको सङ्ख्या ४२ लाख नाघिसकेको उनले बताए।

"साउन १ गतेदेखि त्यस्तो खाता खोल्नेहरूका निम्ति यो व्यवस्था अनिवार्य गर्न लागेका हौँ," पराजुलीले भने।

"भोलिका दिनमा पुराना खातावालाहरूले पनि तिनको केवाइसी अद्यावधिक गर्दा यो व्यवस्था अनिवार्य हुन सक्छ तर अहिलेलाई नयाँको हकमा मात्र भनिएको छ।"

अहिलेलाई राष्ट्रिय परिचयपत्रको भौतिक प्रति नभए नम्बर मात्र भए पुग्ने भनिएको छ।

सुरक्षित वित्तीय कारोबार सुनिश्चित गर्न, सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय नियमहरूको पालना गर्न तथा एकीकृत डिजिटल पहिचान व्यवस्थित गर्न यो नियम ल्याइएको अधिकारीहरूले बताएका छन्।

पराजुलीका अनुसार भारतमा प्यान नम्बरलाई आवश्यक भनिएको छ भने अन्य देशहरूमा पनि यस्तै व्यवस्था लागु गरिएका छन्। नेपालमा नागरिकताको नम्बरमा एकरूपता नभएकाले व्यक्तिको विशिष्ट पहिचान नम्बरका रूपमा राष्ट्रिय परिचय पत्रको नम्बर प्रयोग गर्न लागिएको उनले बताए।

पछिल्लो व्यवस्थालाई स्टक ब्रोकरहरूले सकारात्मक कदम माने पनि त्यसका निम्ति चाहिने पूर्वतयारी नभएको उनले बताएका छन्।

"उदाहरणका लागि आजको दिनमा नेप्सेले दिएको टिएमएसमा राष्ट्रिय परिचयपत्र नम्बर प्रविष्टि गर्ने ठाउँ पनि छैन। जबकि हामीलाई साउन १५ गतेको परिपत्रमा यो लागु गर भनेर भनिएको छ। त्यसैले यसको गृहकार्य चाहिँ नपुगेको जस्तो लाग्छ," नेपाल स्टक ब्रोकर असोसिएसनका महासचिव भक्तिराम घिमिरेले बताए।

अहिले नयाँ खाता खोल्न वा अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्रको नम्बरमात्र भए पुग्ने भएकाले लगानीकर्ता वा ब्रोकरहरूका निम्ति यो अव्यवहारिक चाहिँ नभएको घिमिरेले बताए।

"जोसँग राष्ट्रिय परिचयपत्र छैन उसले जिल्ला प्रशासन कार्यालयमा गएर केही घण्टामै नम्बर प्राप्त गर्न सक्ने हुनाले यसको प्रयोग गरिहाल्न कठिन त छैन," उनले भने।

डिम्याट खातामा पनि आवश्यक पर्छ?

अहिलेको अवस्थामा शेअर लगानीकर्ताहरूले तीन किसिमको खाता खोलेको हुनु पर्ने अवस्था छ।

पहिलो ब्याङ्क खाता जसको निम्ति पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिसकिएको छ।

अर्को डिम्याट वा अभौतिकीकरण खाता जसमा लगानीकर्ताका शेअरहरूको सूचीगत विवरण हुन्छ अनि टिएमएस वा शेअर किनबेच गर्न ब्रोकरकहाँ गएर खोलिने खाता।

डिम्याटको हकमा पनि राष्ट्रिय परिचयपत्र लागु गर्न परिपत्र आइसकेको त्यसको सञ्चालन जिम्मा पाएको केन्द्रीय निक्षेप सेवा सीडिएससीले जनाएको छ।

"धितोपत्र बोर्डबाट निर्देशन आइसकेपछि डिम्याट खाता खोल्दा पनि राष्ट्रिय परिचयपत्र (नम्बर) राख्ने व्यवस्था गर्न हामीले हाम्रो प्रणालीमा तयारी गरिसकेका छौँ। डिम्याट खातामा राष्ट्रिय परिचयपत्र प्रविष्टि गर्न मिल्ने गरी व्यवस्था गरेका छौँ," सीडिएस एन्ड क्लेरिङ् लिमिटेडका उपप्रबन्धक तथा प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

बिस्तारै यसलाई अनिवार्य बनाउँदै लगिने उनले बताए।

"एक त डिम्याट भनेको लगानीकर्ताहरूको द्वितीय खाता हो। प्राथमिक भनेको उनीहरूको ब्याङ्क खाता जसका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइसकिएको छ," उनले भने।

तत्कालका लागि नयाँलाई अनिवार्य अनि पुरानालाई केवाइसी अपडेट गर्दा व्यवस्थित गर्दै लैजाने योजना रहेको उनले बताए।

कति छन् शेअर लगानीकर्ता?

धितोपत्र बोर्डले हालै प्रकाशन गरेको विवरण अनुसार हितग्राही खाता पनि भनिने डिम्याट खाता खोल्ने शेअर लगानीकर्ताको सङ्ख्या ६२ लाख ७३ हजार पुगेको छ।

डिम्याटको अनलाइन पोर्टल मेरो शेअर खाताको सङ्ख्या ५९ लाख ३३ हजार पुगेको छ।

असारमा सकिएको गत आर्थिक वर्षमा दैनिक औसत करिब ९ अर्ब रुपैयाँको कारोबार भएको देखिन्छ। कुल बजार पुँजीकरण ४८ खर्ब रुपैयाँ पुगेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।