निर्णय उल्टाउँदै गिनिज बुकले दियो सलाईको काँटीको आइफल टावरलाई मान्यता

तस्बिर स्रोत, RICHARD PLAUD/REUTERS
आइफल टावरको दुरुस्त नक्कल गरिएको संरचनालाई औपचारिक रूपमा नै विश्वको सबैभन्दा अग्लो सलाईको काँटीबाट बनेको भवनको रूपमा मान्यता दिइएको छ।
उक्त निर्णय सुनाउनु एक दिनअघि गिनिज वर्ल्ड रिकर्ड्सले ७.१९ मिटर अग्लो उक्त टावरमा गलत प्रकारका सलाईका काँटीहरू प्रयोग गरिएको भन्दै त्यसलाई अयोग्य घोषणा गरेका थिए।
तर उक्त निकायले आफ्नो पहिलो निर्णय कठोर भएको भन्दै त्यस्तो नमुना आकृतिहरू बनाउने उत्साह देखाउँदै आएका कलाकार रिचर्ड प्लडलाई बधाई दिएको थियो।
४७ वर्षका प्लडले यो हप्ता आफ्नो लागि भावनात्मक रूपमा उतारचढावपूर्ण समय रहेको बताए।
कसरी उल्टियो निर्णय
प्लडलाई सलाईको काँटीको उक्त आइफल टावर बनाउन आठ वर्ष लागेको थियो। त्यसक्रममा उनले ७ लाख ६ हजार ९ सय सलाईका काँटी र २३ केजी ग्लूको प्रयोग गरेका थिए।
सुरुमा उनले उक्त टावर निर्माण गर्न बजारमा पाइने सलाईको काँटीको सल्फर भएको रातो भागलाई काटेर फ्याल्ने गरेका थिए। तर त्यसो गर्दा लामो समय लाग्ने कुरा उनले महसुस गरे।
उनले उत्पादकलाई सम्पर्क गरे। त्यसपछि प्लडलाई सल्कने भाग बिनाको सलाईको काँटी किलोमा जोखेर पठाउन थालियो र उनले आफ्नो कामलाई निरन्तरता दिए।
पश्चिम फ्रान्सका उनले डिसेम्बर २७ मा निर्माण सम्पन्न गरे र त्यसपछि गिनिज वर्ल्ड रिकर्ड्सलाई आफ्नो कामलाई मान्यता दिन आग्रह गर्दै सम्पर्क गरे।
उनलाई पछि त्यस्तो कीर्तिमान तोड्ने काममा व्यवसायिक रूपमा उपलब्ध सलाईको काँटीमा मात्रै प्रयोग गर्न मिल्ने भन्ने जवाफ दिइएको थियो। उनले उक्त निर्णयमाथि पुनर्विचार गर्न अपिल गरे।

तस्बिर स्रोत, Reuters
गत बिहीबार उक्त संस्थाले आफ्नो मन बदलिएको घोषणा गरेको छ।
गिनिज वर्ल्ड रिकर्ड्सका मार्क मकिन्लीले सलाईको काँटीबाट बनेको उक्त टावरलाई अनुमोदन गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताए।
“हामी यस्तो प्रकारको प्रयासका लागि आवश्यक सलाईको काँटीको प्रकारलाई लिएर सुरुमा अलिक कठोर भएको स्वीकार्छौँ। आधिकारिक रूपमा भन्दा रिचर्डको प्रयास वास्तवमै नै चमत्कारिक छ,” उनले थपे।
सन् २००९ मा एकजना लेबननका व्यक्तिले २१ फिट अग्लो आइफल टावर बनाएको कीर्तिमान राखेका थिए।
तर मकिन्लीको पछिल्लो स्वीकारोक्तिसँगै सलाईको काँटीबाट सर्वाधिक अग्लो आइफल टावर बनाउने कीर्तिमान रिचर्डले राखेका छन्।
उनले आफूले बनाएको आइफल टावरलाई जुलाईमा हुने ओलिम्पिक्सको समयमा प्यारिसमा प्रदर्शनीमा राख्ने जनाएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








