छोटो बाटो बनाउन चीनको 'ग्रेट वाल' मा भ्वाङ, प्राचीन स्मारकमा 'अपूरणीय क्षति'

ग्रेट वालमा भ्वाङ

तस्बिर स्रोत, YOUYU COUNTY POLICE RELEASE

निर्माण कामदारहरूले यान्त्रिक एक्स्काभेटर प्रयोग गरेर खन्दा चीनको शान्शी प्रान्तस्थित 'ग्रेट वाल' अर्थात् विश्व प्रसिद्ध प्राचीन विशाल पर्खालको एउटा भागमा ठूलो क्षति पुगेको छ।

एक निर्माण परियोजनासम्म पुग्ने छोटो बाटो बनाउने क्रममा उनीहरूले 'ग्रेट वाल' मा भ्वाङ बनाएका थिए। सम्पदा क्षेत्रमा क्षति पुर्‍याएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

'ग्रेट वाल' मा क्षति पुगेको क्षेत्रमा एक जना ३८ वर्षका पुरुष र ५५ वर्षकी महिला काम गरिरहेका थिए।

उनीहरूले 'ग्रेट वाल' मा यसअघि नै भत्केर बनेको भ्वाङलाई एक्स्काभेटर प्रयोग गरेर अझै चौडा बनाएका थिए।

प्रहरीका अनुसार उनीहरूले ओहोरदोहोर गर्न घुमाउरो बाटो प्रयोग गर्नुको साटो 'ग्रेट वाल' को भ्वाङ चौडा बनाउने जुक्ति लगाएका थिए।

त्यसबाट मिङ शासनकालमा बनेको ऐतिहासिक र सांस्कृतिक सम्पदामा अपूरणीय क्षति पुगेको प्रहरीले जनाएको छ।

संरक्षित क्षेत्रमै भ्वाङ

ग्रेट वाल

तस्बिर स्रोत, Getty Images

योयु काउन्टीमा रहेको 'ग्रेट वाल' को उक्त खण्ड ऐतिहासिक र सांस्कृतिक महत्त्वको मानिन्छ । यो प्रान्तीय स्तरमा संरक्षित क्षेत्र पनि हो।

अधिकारीहरूले अगस्ट २४ मा उक्त क्षतिबारे सूचना पाएका थिए।

सन् १९८७ यता निरन्तर युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको 'ग्रेट वाल' इसापूर्व २२० देखि निरन्तर बन्दै सन् १६०० को मिङ वंशको शासनकालसम्म निर्माण भएको थियो। त्यस बेला यसलाई विश्वकै सबैभन्दा ठूलो सैन्य संरचना मानिएको थियो।

सबैभन्दा राम्रोसँग संरक्षण गरिएका भागहरू १४औँ र १७औँ शताब्दीको बीचमा मिङ शासकहरूले बनाएका थिए।

अहिले ठूलो भ्वाङ बनाइएको ठाउँ त्यही संरक्षित क्षेत्रमा पर्छ।

ग्रेट वालको ३० प्रतिशत क्षेत्र हरायो

धेरैलाई थाहा भएको 'ग्रेट वाल' को क्षेत्रमा सुन्दर संरचनाहरू र पहराका लागि बनाइएका अग्ला भागहरू छन्।

तर अन्य भागहरू भने भत्कँदै गएको विभिन्न विवरणहरूमा उल्लेख छ।

बेइजिङ टाइम्स पत्रिकाले सन् २०१६ मा प्रकाशित गरेको एउटा विवरण अनुसार मिङ शासनकालमा बनेको 'ग्रेट वाल' को ३० प्रतिशत क्षेत्र अहिले हराइसकेको छ भने आठ प्रतिशत क्षेत्रको मात्रै राम्रो संरक्षण भएको छ।

'ग्रेट वाल' का कतिपय खण्डहरू त्यहाँ ऐतिहासिक पर्खाल भएको पत्ता लगाउन पनि मुस्किल पर्ने गरी हराउँदै गएका छन्।

उनका अनुसार हजारौँ वर्ष पहिले बनाइएको ठानिएको 'ग्रेट वाल' को सबैभन्दा पहिले बनेको क्षेत्र अहिले ढिस्कोजस्तो मात्रै छ।

'ग्रेट वाल' को क्षयीकरण हुनुमा प्रमुख दोष स्थानीय किसानहरूलाई दिइने गरिएको छ। उनीहरूमाथि घर र जनावरका लागि गोठ बनाउन त्यहाँका ढुङ्गा र इँटा चोरेको आरोप छ।

चीनका सर्वसाधारहरूका लागि 'ग्रेट वाल' को ऐतिहासिक संरचना विनाश हुने गरी भएका पछिल्ला गतिविधि नौला त होइनन् तर उनीहरू यसबारे चिन्तित छन्।

यूनेस्को विश्व सम्पदा सूचीमा पर्ने २० हजार किलोमिटर लामो 'ग्रेट वाल' को निर्माण कार्य आजभन्दा दुई हजार वर्षअघि सुरु भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।