प्रधानमन्त्री निवासः बालुवाटारमा नवनिर्मित भवनमा बङ्कर पनि, के छन् अरू विशेषता

प्रधानमन्त्री निवास

तस्बिर स्रोत, Dilip Shekhar Shrestha

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

नेपालका प्रधानमन्त्री बस्नका लागि बालुवाटारमा निर्मित नयाँ भवनमा सोमवार बिहान वास्तु पूजा गरिएको छ।

नेपाली पुरानो शैली झल्किने उक्त भवनको निर्माण कार्य दुई वर्षमा सकिएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशकले बीबीसीलाई बताएका छन्।

निर्देशक दिलीपशेखर श्रेष्ठका अनुसार बालुवाटारमै प्रधानमन्त्री निवास आयोजनाअन्तर्गत अर्को ब्लक अर्थात्‌ सार्वजनिक भवन पनि अहिले निर्माणको क्रममा छ।

“निर्माण सकेर असार मसान्तसम्म हामी अर्को ब्लकलाई पनि हस्तान्तरण गर्ने योजनामा छौँ,” बीबीसीसँग उनले भने।

के छन् नयाँ भवनका विशेषता?

प्रधानमन्त्रीको पुरानो निवास सुविधासम्पन्न नभएको र साँघुरो पनि भएकाले नयाँ भवन निर्माण गरिएको अधिकारीहरूले बताएका छन्।

निर्देशक श्रेष्ठका अनुसार प्राइभेट ब्लक (आवास भवन) र पब्लिक ब्लक (सार्वजनिक भवन) दुवैको गरी निर्माण लागत करिब साढे ३३ करोड रुपैयाँ रहेको छ।

प्रधानमन्त्रीको आवास भवन तीन तलाको छ र त्यसमा २२ वटा कोठा छन्।

“प्रायः अरू देशका राष्ट्रप्रमुख / सरकारप्रमुखको निवासमा बङ्कर हुने गरे झैँ प्रधानमन्त्रीको निवासमा हामीले पनि बङ्कर बनाएका छौँ,” श्रेष्ठले भने।

सुरक्षा संवेदनशीलताका कारण बङ्करबारे चाहिँ उनले थप खुलाउन चाहेनन्।

प्रधानमन्त्रीको निवास १३,५०० वर्गफिट क्षेत्रफलमा बनाइएको छ। त्यसको तल्लो तलामा भान्सा, भोजनकक्ष र लबी छन्।

प्रधानमन्त्री निवास

तस्बिर स्रोत, Dilip Shekhar Shrestha

दोस्रो तलामा शयनकक्षहरू तथा बैठककोठा छन् भने सोही तलामा प्रधानमन्त्रीका सुरक्षाकर्मीका लागि पनि शयनकक्ष बनाइएको श्रेष्ठले बताए।

उनका अनुसार माथिल्लो तलामा दुईवटा पाहुनाकोठा, एउटा शयनकक्ष, एउटा लबी र भोजनकक्ष बनाइएको छ।

माथिल्लो तलामै पूजाकोठा, हल तथा बरन्डाहरू छन्। “समग्रमा भन्नुपर्दा एउटा निजी आवासमा हुनुपर्ने सबै कुरा छन्,” श्रेष्ठले थपे।

भवनमा काठका बुट्टेदार खम्बा तथा आँखीझ्यालहरू छन् भने भुइँमा र बरन्डामा नेवारी इँटा डाचिअपा प्रयोग गरिएको छ।

छानामा टाएलको प्रयोग गरिएको छ। यसअघि पुरानो भवनमा नभएको लिफ्टको व्यवस्था पनि नयाँ भवनमा गरिएको छ।

“भूकम्पप्रतिरोधी हुने नै भयो। उच्चस्तरीय प्रविधि प्रयोग गरी आवास भवन बनाइएको छ,” आयोजना निर्देशक श्रेष्ठले भने।

वास्तुपूजा सकिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ भवनमा सर्ने बताइएको छ।

बङ्करबारे सुरक्षाविद्‌ के भन्छन्?

अतिविशिष्ट व्यक्तिहरूको आवासमा बङ्कर निर्माणलाई आवश्यकताकै रूपमा हेर्नुपर्ने नेपाली सेनाका एकजना अवकाशप्राप्त अधिकारी बताउँछन्।

“यसलाई स्रोतसाधनको दुरुपयोगकै रूपमा हेर्न हुँदैन,” सेवानिवृत्त मेजर जेनरल दमन घलेले बीबीसीसँग भने, “सुरक्षाको हिसाबले त्यसलाई आवश्यक भन्न मिल्छ।”

प्रतिकूल अवस्थामा ठूल्ठूला व्यक्तित्व सुरक्षाका लागि बङ्करभित्र बस्ने गरेको सुरक्षाविद्‌हरू बताउँछन्।

“त्यसभित्र जानका लागि स्ट्यान्डर्ड प्रोटोकल नै हुने गर्छ र बेलाबेला रिहर्शल पनि गराइन्छ,” घलेले थपे। “हामीकहाँ कत्तिको खर्च धान्ने हुन्छ त्यो अर्को पाटो भयो।”

सार्वजनिक भवनमा के हुनेछ?

सार्वजनिक भवन पनि तीन तलाकै हुनेछ। झन्डै २७,००० वर्गमिटर क्षेत्रफलमा त्यसको निर्माण भइरहेको छ।

सो भवनमा प्रधानमन्त्रीले स्वदेशी तथा विदेशी पाहुनाहरूसँग भेटघाट गर्नेछन्।

श्रेष्ठका अनुसार त्यसमा मन्त्रिपरिषद्‌ बैठकका लागि छुट्टै कोठा बनाइएको छ भने मिडियाकक्ष पनि हुनेछ।

त्यसमा प्रधानमन्त्रीको सचिवालय राख्न मिल्ने व्यवस्था गरिएको तथा दुईवटा ठूला कोर्टयार्ड (आँगन) पनि भएको उनले बताए।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, पुरानै स्वरूपमा बन्दै सिंहदरबार