कांग्रेस संसदीय दलमा देउवा निर्वाचित, यस्तो छ उनको विगत

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ३९ मतको अन्तरले निर्वाचित भएका छन्।

बुधवार बिहान सम्पन्न मतदानमा आफूसँग प्रतिस्पर्धा गरेका पार्टी महामन्त्री गगन थापाले २५ मत पाउँदा देउवाले ६४ सांसदको समर्थन पाए।

कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेले देउवा निर्वाचित भएको घोषणा गरेका हुन्।

संसदीय दलका सदस्यका रूपमा सङ्घीय संसद्को तल्लो सदनमा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद छन्।

मतदानमा सबै सांसद सहभागी भएका थिए।

देउवा पार्टीका सभापति पनि हुन्। संस्थापन भनिने उनको समूहले भने 'सर्वसम्मत' रूपमा संसदीय दलको नेता छान्न जोड दिएको थियो।

उमेरले देउवाभन्दा झन्डै तीन दशक कान्छा थापाको उम्मेदवारीलाई समेत पार्टीभित्र ‘पुस्तान्तरण’ र ‘रूपान्तरण’ भन्दै चासोपूर्वक हेरिएको थियो।

थापाले “नेपाली कांग्रेसप्रति आमजनताले राखेको अपेक्षा पूरा गर्न र पार्टीकै भविष्यका लागि” पनि आफूले दलको नेताका लागि उम्मेदवारी दिएको बताएका थिए।

पराजित भएपछि के भने गगन थापाले 

मतदानको परिणाम घोषणा भएपछि पत्रकारहरूसँग कुरा गर्दै गगन थापाले नतिजा "अनपेक्षित" भए पनि त्यसलाई आफूले स्वाभाविक रूपले लिने बताए।

संसदीय दलको निर्वाचनपछि उनले अब कांग्रेसले औपचारिक रूपमा सरकार गठनको प्रक्रिया थाल्ने बताए।

त्यसको पहल संसदीय दलका नेताले गर्ने तर पार्टीका प्रक्रियाहरू पारदर्शी हुनुपर्ने उनको भनाइ छ।

"नेपाली काङ्ग्रेसका नाममा हुने कुनै पनि निर्णयहरू - चाहे त्यो सरकारको आलोपालो होस्, चाहे त्यो राष्ट्रपतिका सन्दर्भमा होस्, ती कुनै पनि निर्णयहरू पारदर्शी भएनन् र सम्बन्धित कमिटीभित्र छलफल नभइकन भएमा ती व्यक्तिगत निर्णयका रूपमा दर्ज हुनेछन्," थापाले पत्रकारहरूसँग भने।

"नेपाली कांग्रेसले कुनै अर्को पार्टीसँग सरकार चलाउने सन्दर्भमा आलोपालो गर्ने भनेर कुनै खालको यदि समझदारी गर्छ भने पार्टीसँग संस्थागत रूपमा भएको अवस्थामा पार्टीले बोक्छ…बन्द कोठाभित्र बसेर नेताहरूले गर्नुहुन्छ भने त्यसलाई नेपाली कांग्रेसले बोक्दैन।"

यस्तो छ शेरबहादुर देउवाको विगत

देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।

उनी ७८ वर्षका भए।

उनका पक्षधरहरूले "पार्टी र गठबन्धनलाई समेत व्यवस्थापन गर्न सफल" नेता ठान्ने देउवा आलोचकहरू भने "प्रजातन्त्र दरबारलाई लगेर बुझाएको" ठान्छन् र उनलाई "क्षमतावान्" प्रधानमन्त्रीको रूपमा लिँदैनन्।

कैयौँ कांग्रेसीहरूका भनाइमा देउवा कतिपय परिस्थितिमा "कूटनीतिकभन्दा पनि बढी स्पष्टवक्ता" देखिन्छन्।

सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति हुन्।

आफ्नो राजनीतिक जीवनमा पटकपटक गरेर करिब नौ वर्ष आफूले जेलमा बिताएको प्रतिनिधिसभाको वेबसाइटमा राखिएको परिचयात्मक भिडिओमा देउवाले बताएका छन्।

विसं २०४८ सालमा डडेलधुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए। 

पछि २०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्‌मा प्रमुख प्रतिपक्षी दलको नेता बने। 

विसं २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए।

 त्यस बेला नेपालको संसदीय व्यवस्थामा कतिपय निकै आलोचित बनेका 'सुरा-सुन्दरी काण्ड'लगायतका घटनाहरू पनि भएका थिए।

 त्यस्तै उनलाई नेपालको इतिहासमा पहिलो पटक सबैभन्दा धेरै मन्त्रीहरू सामेल गरेर मन्त्रिमण्डल गठन गर्ने व्यक्तिका रूपमा पनि कैयौँले स्मरण गर्ने गर्छन्।

बाउन्न सालमा देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो

विसं २०५६ सालमा डडेलधुराबाट पुनः निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। 

 त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरे।

त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे। 

तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए। 

त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो।

उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरेका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो।

तर पछि सर्वोच्च अदालतले उक्त आयोगलाई नै खारेज गरिदिएपछि उनी छुटेका थिए। 

गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए।

पछि दुई पार्टीबीच एकीकरण भएको थियो।

विसं २०७२ साल फागुनमा भएको १३ औँ पार्टी महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चुनिएका देउवा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता रहेका थिए।

नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुन: चौथो पटक प्रधानमन्त्री बने।

उनकै पालामा नेपालमा नयाँ संविधान लागु भएपछिको पहिलो निर्वाचन सम्पन्न भएको थियो।

गत वर्षसम्पन्न चौधौँ महाधिवेशनबाट देउवा फेरि पार्टी सभापति निर्वाचित हुन सफल भए।

यसपालि उनकी पत्नी आरजु राणा पनि समानुपातिक सांसद निर्वाचित भएकी छन्।

के हो गगन थापाको पृष्ठभूमि

मङ्सिरमा भएको निर्वाचनका बेला गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीको प्रत्यासीका रूपमा प्रस्तुत गरेका थिए।

उनी ४६ वर्षका भए।

विसं २०५० को दशकमा उनी नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय थिए। उनी नेवि सङ्घको महामन्त्रीसम्म भए।

गत वर्ष सम्पन्न महाधिवेशनबाट उनी सर्वाधिक मतसहित नेपाली कांग्रेसको महामन्त्री निर्वाचित भएका हुन्।

सुरुदेखि नै गणतन्त्र पक्षधर नेताका रूपमा देखा परेका उनी एक पटक मन्त्री र यसपालि समेत गरेर तीन पटक सांसद् बनेका छन्।

प्रखर वक्ताको छवि बनाएका थापा तेह्रौँ महाधिवेशनमा भने महामन्त्रीमा पराजित भएका थिए।