नेपाली यू-१९ महिला क्रिकेट टोली विश्वकप छनोट अभियानमा

नेपाल र थाईल्यान्डबीच भएको खेलमा ब्याटिङ गर्दै नेपाली खेलाडी

तस्बिर स्रोत, ICC/ECB via CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

उन्नाइस वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट टोली अहिले विश्वकपमा पुग्ने अभियानमा छ।

यूएईमा बुधवारबाट सुरु भएको आईसीसी यू-१९ महिला विश्वकप एशिया क्षेत्र छनोटमा थाईल्यान्ड र कुवेतलाई पराजित गर्दै नेपाली युवा महिला क्रिकेट टोलीले प्रतियोगितामा पाइला अगाडि बढाएको छ।

एशिया क्षेत्रीय छनोटमा नेपाल, आयोजक यूएई, कुवेत र थाईल्यान्ड गरी चार टोली छन्। त्यसमा शीर्ष स्थानमा रहन सके नेपाली युवा महिला टोली पहिलो पटक १९ वर्षमुनिको विश्वकपमा प्रवेश गर्ने छ।

युवा प्रतिभा

विश्वकप अर्को वर्ष मलेशियामा आयोजना हुँदै छ।

राष्ट्रिय टोली निर्माणको मुख्य आधारको रूपमा रहेको १९ वर्षमुनिको यो प्रतियोगिता नेपालका लागि निकै महत्त्वपूर्ण छ।

सिनिअर राष्ट्रिय टोलीकी कप्तान इन्दु वर्मा भन्छिन्, “युवा टोली हाम्रो मेरुदण्ड हो। यो प्रतियोगिताले युवा खेलाडीहरूलाई राष्ट्रिय टोलीमा पुग्ने बाटो देखाउने मलाई विश्वास छ। हामीलाई राष्ट्रिय टोलीमा युवा प्रतिभाको आवश्यकता पनि भइसकेको छ।”

अर्को महत्त्वपूर्ण पक्ष के हो भने सन् २०२७ मा यस प्रतियोगिताको आयोजना नेपाल र बाङ्ग्लादेशले संयुक्त रूपमा गर्दै छन्।

राष्ट्रिय टोलीका प्रशिक्षक जगत्‌ टमाटा भन्छन्, “त्यसको तयारीका लागि नेपालले अहिलेदेखि नै बलियो टोलीको छवि निर्माण गर्न जरुरी छ। त्यसका निम्ति राम्रो नतिजा ल्याउनु महत्त्वपूर्ण हुने छ।”

छनोट चरण

यू-१९ विश्वकपमा १६ राष्ट्र सहभागी हुने छन्। तीमध्ये १५ वटा टोलीको निर्णय भइसकेको छ।

आयोजकको हैसियतले मलेशिया स्वतः छनोट भइसकेको छ।

त्यस्तै आईसीसीका १० पूर्ण सदस्यहरू -- भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्ग्लादेश, इङ्ल्यान्ड, अस्ट्रेलिया, न्यूजील्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्ड - ले सीधै विश्वकप खेल्ने छन्।

बाँकी पाँच कोटा क्षेत्रीय टोली अफ्रिका, युरोप, अमेरिका, पूर्वी एशिया प्यासिफिक र एशियालाई दिइएको छ।

एशिया क्षेत्रीय छनोटमा सहभागी नेपाल, यूएई, कुवेत र थाईल्यान्डका कप्तानहरू

तस्बिर स्रोत, ICC/Twitter

यी राष्ट्रहरूले भने क्षेत्रीय छनोट चरण पार गर्नुपर्ने प्रावधान छ।

त्यसअनुसार अफ्रिकाबाट नाइजेरिया, पूर्वी एशिया प्यासिफिकबाट सामोआ, युरोपबाट स्कटल्यान्ड र अमेरिकाबाट संयुक्त राज्य अमेरिका छनोट भइसकेका छन्।

अमेरिकी छनोटमा अरू सहभागी राष्ट्र नभएकोले अमेरिका स्वतः छनोट भएको हो।

छनोट हुन बाँकी एउटा स्थान एशियाबाट निर्धारण गर्न लागिएको हो।

नेपाल कति बलियो

छनोट खेल खेलिरहेका नेपाल, यूएई, कुवेत र थाईल्यान्ड सबैले 'डबल राउन्ड रोबिन लीग'को आधारमा अर्थात् सबै टोलीले एकअर्कासँग २/२ खेल खेल्ने छन्।

त्यसमा शीर्ष स्थानमा रहने टोली विश्वकप पुग्ने छ।

सहभागी चार राष्ट्रमध्ये नेपाल, थाईल्यान्ड र यूएईबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

गत संस्करणमा नेपाल र थाईल्यान्डलाई पराजित गर्दै यूएई विश्वकपमा छनोट भएको थियो।

नेपाली महिला टोली भने यूएई र थाईल्यान्ड दुवै टोलीसँग पराजित हुँदै तेस्रो स्थानमा सीमित हुन पुगेको थियो।

नेपाली महिला क्रिकेट

तस्बिर स्रोत, ICC via CAN

यसपालि भने नेपालले राम्रो तयारी गरेको देखिएको छ। नेपाल क्रिकेट सङ्घले प्रतियोगिताको तयारीस्वरूप दाङमा दुई महिना प्रशिक्षण राखेको थियो।

त्यसपछि टोलीले भारतको दिल्ली गएर प्रशिक्षणका साथै केही अभ्यास खेल खेलेको थियो।

प्रशिक्षक टमाटा भन्छन्, “नेपालको मुख्य प्रतिस्पर्धा भनेकै यूएईसँग हुने छ। त्यो टोलीमा राष्ट्रिय टोलीका खेलाडीहरू पनि छन्। फेरि हामी उनीहरूकै मैदानमा खेलिरहेका छौँ। त्यसैले खेलाडीहरूले सावधानीपूर्वक खेल्न जरुरी छ।”

सिनिअर टोलीकी कप्तान वर्मा भने प्रतिस्पर्धा बराबरको हुने बताउँछिन्। “विगतमा यूएई बलियो देखिए पनि अहिले स्थिति समान भइसकेको छ। अहिले नेपाली टोली पनि बलियो छ। त्यसैले कडा टक्कर हुने छ।”

नेपाली टोलीमा को छन्

नेपाली टोलीमा अनुभवी खेलाडी र युवा टोलीको मिश्रण देखिन्छ। टोलीकी कप्तान पूजा महतो र उपकप्तान सोनी पाख्रिन राष्ट्रिय टोलीका पनि सदस्य हुन्।

उनीहरूको त्यो अनुभव युवा टोलीमा उपयोगी हुने विश्वास गरिएको छ।

कप्तान महतोले थाईल्यान्डविरुद्धको पहिलो खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेअर अफ द म्याच’ को उपाधि पाइन्।

महतो र पाख्रिनबाहेक एलिसा यादव, साना प्रवीन र स्नेहा महराले यसअघिको विश्वकप छनोटमा खेलिसकेकी छन्।

नेपाली टोली: पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), तृष्णा विक, रचना चौधरी, सावित्रा धामी, कुसुम गोदार, कृष्मा गुरुङ, सिमना केसी, स्नेहा महरा, ज्योत्सनिका मरासिनी, साना प्रवीन, रिया शर्मा, मनिषा उपाध्याय र एलिसा यादव (विकेटकिपर)

नेपालका बाँकी खेल कहिले

  • नोभेम्बर ९ शनिवार - यूएईसँग
  • नोभेम्बर १० आइतवार - थाईल्यान्डसँग
  • नोभेम्बर १२ मङ्गलवार - कुवेतसँग
  • नोभेम्बर १२ बुधवार - यूएईसँग

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।