बिहारमा कोशी नदीमाथि भारतले बनाउँदै गरेको पुल भत्कियो

भारतले बिहारको सुपौल जिल्लामा कोशी नदीमा निर्माण गरिरहेको पुलको एक भाग भत्किँदा एकजना मजदुरको मृत्यु भएको छ।
उक्त क्षेत्र नेपाल भारत सीमाबाट करिब ७० किलोमिटर दक्षिणमा पर्छ। शुक्रवार बिहान उक्त पुल भाँचिँदा १० जना कामदार घाइते भएका थिए।
यहाँ पुल बनेपछि बिहारको मधुबनी र सुपौलबीचको दूरी करिब ३० किलोमिटरले घट्ने अपेक्षा गरिएको छ।
यहाँ हिउँदमा बाँसको पुल बनाएर मानिसहरू कोशी नदी पार गर्छन्। बर्खामा मानिसहरू डुङ्गाबाट नदी तर्न बाध्य छन्।
प्राविधिक समस्या या लापरबाही
घटनास्थलमा भाँचिएको पुलको संरचनामुनि एउटा निर्माण सामग्री ओसार्ने गाडी भेटिएको छ।
गाडी र भत्किएको संरचना मुनि अझै केही मजदुर पुरिएको हुन सक्ने स्थानीयवासीले आशङ्का गरेका छन्। प्रहरीले घटनाबारे छानबिनपछि मात्रै जानकारी दिने बताएको छ।
कामको उचित अनुगमन नहुँदा दुर्घटना भएको स्थानीयवासी युतिनारायण यादवको आरोप छ। अर्का स्थानीय अजय कुमारले ठेकेदार कम्पनीलाई कारबाहीको माग गरे।
बिहारमा पुल दुर्घटनाको यो पहिलो घटना भने होइन। यसअघि भागलपुरमा गङ्गा नदीमा निर्माण भइरहेको पुलको ठूलो हिस्सा नदीमा डुबेको थियो।
बिहारमा पुल दुर्घटनाको शृङ्खला

बिहारमा विगत चार वर्षमा यस्ता करिब १० वटा पुल दुर्घटना भएका छन्।
गत वर्ष बिहारको गङ्गा नदीमा निर्माण भइरहेको सुल्तानगञ्ज–अगुवानी पुलको एक भाग भत्किएको थियो । यो पुल भागलपुर जिल्लाको सुल्तानगञ्ज र खगरिया जिल्लाको अगुआनी नामको ठाउँकोबीचमा करिब १,७१७ करोड भारतीय रुपैयाँको लागतमा निर्माण भइरहेको थियो।
त्यही पुल सन् २०२२ मा पनि भत्किएको थियो। बारम्बार दुर्घटना बढ्दै गएपछि प्रदेश सरकारले पुल निर्माण गर्ने निर्णय गरेको थियो।
गत वर्षको माघमा पूर्णियाको बैसीमा दुमुहनी नालामा निर्माण भइरहेको करिब २० मिटर लामो पुल भत्किएको थियो। ठेकेदारले सबै निर्देशन पालना नगरेका कारण पुल भत्किएको विवरण सार्वजनिक भएको थियो।
सन् २०२२ को जुन महिनामा बिहारको सहरसामा कोशी बाँधमा निर्माण भइरहेको अर्को पुल भत्किएको थियो। सन् २०२० को जुलाईमा गोपालगञ्जस्थित गण्डक नदीमा बनेको ९ किलोमिटर लामो पुलको केही भाग पुल उद्घाटन भएको एक महिनामै बाढीका कारण भत्किएको थियो।
दुर्घटनाका कारण

नदीमाथि बनेको पुल वा फ्लाईओभर भत्किने घटना भारतभरि नै हुने गरेको छ।
सेन्ट्रल रोड रिसर्च इन्स्टिच्यूडका ब्रिज इन्जिनियरिङ एण्ड स्ट्रक्चर डिभिजनका प्रमुख वैज्ञानिक डाक्टर राजीवकुमार गर्गले यस विषयमा विस्तृत अध्ययन गरेका छन्।
उनले आफ्नो अनुसन्धानमा पुल भत्किने घटनाहरू भारतभन्दा चीनमा बढी हुने गरेको पत्ता लगाएका थिए।
उनका अनुसार भारतमा पुलको औसत आयु ३४ दशमलव ५ वर्ष मात्र छ। सन् २०१० मा पुलहरूको अध्ययनमा उनको टोलीले भारतमा ८० प्रतिशतभन्दा बढी पुलहरू प्राकृतिक प्रकोपका कारण भत्किएको पत्ता लगाएको थियो।
भारतमा बाढीका कारण करिब ५२ प्रतिशत पुल भत्किने र त्यसको प्रमुख कारण अत्यधिक बालुवा उत्खनन भएको उनको टोलीको निष्कर्ष छ।
अमेरिकामा पनि करिब ६० प्रतिशत पुल प्राकृतिक प्रकोपका कारण भत्कने गरेको र त्यसको प्रमुख कारण चक्रवात भएको बताइन्छ।
भारतमा पुल कमजोर हुनुको दोस्रो प्रमुख कारण निर्माणमा प्रयोग हुने कमसल सामग्री भएको हो। जसका कारण १० प्रतिशतभन्दा बढी पुल समयअघि नै भत्किने गरेका छन्। करिब ४.१३ प्रतिशत पुल डिजाइन र निर्माणको कमजोरीका कारण भत्किएका छन्।
भारतमा ३.२८ प्रतिशत पुल तोकिएको मापदण्डभन्दा बढी भारका सवारी साधन गुड्दा भत्किएका छन्।
सामान्यतया पहाडी क्षेत्रमा पुलको आयु कम हुन्छ।
ठूलो लगानी

सुपौलमा दुर्घटना भएको पुल करिब १२ सय करोडको लागतमा निर्माण भइरहेको थियो।
अनुसन्धानकर्ताहरूका अनुसार भारतमा पछिल्ला केही वर्षमा सडक र पुल निर्माणमा खर्च बढेको छ। सन् २०१४-१५ मा यसका लागि ८ अर्ब २८ करोड अमेरिकी डलर खर्च भएको र सन् २०१८-१९ मा बढेर २१ अर्ब ८८ करोड डलर पुगेको अनुमान गरिएको छ।
यति हुँदाहुँदै पनि भारतमा पुल भत्किने घटना निरन्तर भइरहेका छन्।
भारतमा गरिएको २ सय ३२ वटा पुलको अध्ययनले निर्माण कार्य सम्पन्न भए पनि १० वर्षभित्रै ३६ प्रतिशत पुल भत्किएको देखाएको छ। भारतमा निर्माण भएको पाँच वर्षभित्र २६ प्रतिशतभन्दा बढी पुल भत्किएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








