विश्वकप प्रवेशको सँघारमा नेपाली युवा क्रिकेट टोली

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
नेपाली क्रिकेट समर्थकहरूको ध्यान भोलि बिहीवार युनाइटेड अरब इमिरेट्स (यूएई) मा केन्द्रित हुनेछ। त्यहाँ नेपालले यूएईविरुद्ध दुई महत्त्वपूर्ण खेल खेल्दै छ।
सिनियर टोलीले आईसीसी विश्वकप लिग-२ को खेल खेल्दै छ, जुन खेल अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको यूएई र छैटौँ स्थानमा रहेको नेपाल दुवैको लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनका निम्ति महत्त्वपूर्ण हुने छ।
उन्नाइस वर्ष मुनिको युवा टोलीले भने यु-१९ एसिया विश्वकप छनोटको खेल खेल्दै छ, जसको विजेता यु-१९ विश्वकपको लागि छनोट हुने छ।
यु-१९ युवा टोली विश्वकपको नजिक पुगेको आठ वर्षपछि हो। एक समय युवा क्रिकेटमा एसोसियट् राष्ट्रमा हैकम प्रदर्शन गरेको नेपाली टोलीको लय बिग्रिएको लामो समय भइसक्यो।
त्यसैले नेपाली क्रिकेटको लागि यो खेलले खास महत्त्व राख्दछ।
युवा क्रिकेटको जग
नेपाली क्रिकेटको सफलताको कुरा गर्ने हो भने त्यसको जग यु-१९ क्रिकेटको प्रदर्शनले नै निर्धारण गरेको देखिन्छ।
राणाकालदेखिको लामो इतिहास भए पनि सन् १९९६ पछि मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको नेपाली क्रिकेटको जग युवा टोलीको प्रदर्शन नै हो। त्यो सन् २००० पछि सुरु भएको हो।
अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता नपाएकोले सुरुका दुई संस्करणमा नेपाल सहभागी हुन पाएको थिएन।
सन् २००० बाट नेपालको यु-१९ एसिया कपमा प्रवेश भयो र प्रवेश गरेदेखि नै टोलीको प्रदर्शन जोडदार रह्यो।
नेपाली युवाहरूमा लामो समयदेखि दबेर बसेको क्रिकेटको भोक एकै पटक मैदानमा पोखिए जस्तो थियो।

तस्बिर स्रोत, CAN
पारस खड्काको नेतृत्वको यस्तो युग सुरु भयो, जहाँ शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल जस्ता खेलाडीहरू उदाए।
नेपाल सन् २०००, सन् २००२, सन् २००४, सन् २००६, सन् २००८ र सन् २०१२ को विश्वकपमा छनोट भयो।
एसियाबाट छनोट भएर निरन्तर विश्वकप पुग्नु चानचुने विषय थिएन।
त्यही टोली पछि गएर नेपालको बलियो सिनियर टोली बन्यो र नेपालले ओडीआई राष्ट्र सम्मको हैसियत प्राप्त गर्न सक्यो।
यति मात्र होइन, टेस्ट नखेल्ने राष्ट्रहरूको एसोसियट् क्रिकेटमा नेपाल नम्बर वान भयो र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पनि 'उदाउँदो राष्ट्र' को रूपमा स्थापित भयो।
त्यस क्रममा नेपालले के के मात्र गरेन। विश्वका ठूला टेस्ट राष्ट्रहरू दक्षिण अफ्रिका, न्युजिल्यान्ड, आयरल्यान्ड, जिम्बाब्वे र बाङ्गलादेश जस्ता देशलाई घुँडा टेकायो।


खस्किने क्रम
असम्भव जस्तो मानिने कतिपय खेलहरू जित्यो।
सहभागिताको दोस्रो संस्करण सन् २००२ मा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता बनिसकेको थियो।
सन् २००६ को विश्वकप छनोटको प्लेट फाइनलमा त न्युजिल्यान्डलाई पराजित गरी नेपाल प्लेट च्याम्पियन नै बनेर फर्कियो। एसोसियट् राष्ट्रमा प्लेट च्याम्पियन बन्ने नेपाल नै एक मात्र राष्ट्र हो।
नेपाल सन् २००८ को संस्करणमा पनि प्लेट फाइनल पुग्यो, तर वेस्ट इन्डिजलाई हराउन सकेन।
उक्त संस्करण विराट कोहली कप्तान रहेको भारतले जितेको थियो। जुन टिममा रवीन्द्र जडेजा, सिद्धार्थ कौल, मनिस पाण्डेहरू थिए।
सन् २०१२ सम्म पुग्दा नेपाल २०१० को एउटा विश्वकपमा मात्र छनोट हुन असफल भएको थियो। तर त्यसपछि युवा टोलीको प्रदर्शन खस्केर गएको देखिन्छ।

तस्बिर स्रोत, CAN
पारस खड्का नेतृत्वको टोलीले सिनियर टिममा धूम मच्चाउन थालेको थियो। तर त्यससँगै युवा टोलीको प्रदर्शन क्रमशः छायामा पर्न थाल्यो। परिणाम देखिएन।
सन् २०१० पछि सन् २०१४ को विश्वकपमा युवा टोली छनोट हुन सकेन।
सन् २०१६ मा विश्वकप छनोट त भयो तर त्यसपछि नेपाल लगातार तीन वटा यु-१९ विश्वकपमा छनोट हुन असफल भयो। यस्तो पहिलो पटक भयो।
लगातार विश्वकप खेल्ने र टेस्ट राष्ट्रलाई हराउने राष्ट्रको छवि बनाएको नेपालको प्रदर्शन खस्किँदै गएको परिणाम हाल लाग्न थाल्यो।
सन् २०१७ देखि नेपालले कुनै पनि टेस्ट राष्ट्रलाई हराउन सकेको छैन। जसको असर सिनियर राष्ट्रिय टोलीको छनोटमा समेत पर्न गयो।
यद्यपि सन् २०१८ मा नेपाल नछानिनु चाहिँ दुर्भाग्यपूर्ण थियो। वर्षाका कारण खेल बिथोलिएपछि डक वर्थ लुइस पद्धतिको आधारमा नेपाल एक रनले यूएईसँग पराजित हुँदा छनोट हुन चुक्यो।
दुई वर्षपछि सन् २०२० मा नेपालले एसियामा खराब प्रदर्शन गर्दा छनोट हुन सकेन।
सन् २०२२ को संस्करणका निम्ति कोरोनाभाइरस सङ्क्रमणका कारण छनोट प्रतियोगिता नै भएन र सीधै यूएईले खेल्ने मौका पायो।
यी सबै उतारचढावकाबीच नेपाली युवा टोलीले अहिले अर्को वर्ष २०२४ मा श्रीलङ्कामा हुने विश्वकपका लागि उत्कृष्ट प्रदर्शन गरेको छ र छनोट हुन पाइला उचालेको छ।
यूएईलाई पन्छाउने प्रण
युवा टोली अहिले प्रतियोगितामा अपराजित रूपमा अगाडि बढिरहेको छ। यो क्रममा विपक्षीविरुद्ध प्रभावशाली प्रदर्शन समेत गरिरहेको छ।
देव खनालको नेतृत्वमा रहेको टोलीले सिङ्गापुर, कुवेत, हङकङ र मलेसिया विरुद्धको सबै चार खेल जितिसकेको छ।

तस्बिर स्रोत, CAN
अव विश्वकप पुग्न नेपालले अन्तिम खेलमा यूएईलाई पन्छाउनु छ।
विगतमा अफगानिस्तानले जसरी नेपाललाई दु:ख दिने गर्थ्यो, अहिले यूएई नेपालको लागि त्यस्तै अप्ठेरो प्रतिद्वन्द्वी बन्दै आएको देखिन्छ।
नेपाली प्रशिक्षक जगत् टमाटा लगातारको जितले खेलाडीहरूमा आत्मविश्वास बढेको बताउँछन्, "खेलाडीहरू लयमा छन्। यसपालि हामी मौका गुमाउने छैनौँ।"
फरक कप्तानी भूमिका
नेपाली युवा टोलीको कप्तानमा गुलशन झा थिए। तर विश्वकप लिग-२ को लागि प्रशिक्षक मोन्टी देशाईले आवश्यकता महसुस गर्दै झालाई सिनियर टोलीमा छाने। त्यसैले यु-१९ को कप्तानी देव खनालले सम्हालेका हुन्।
यूएईले भने सिनियर टिमबाट खेल्दै आएका खेलाडी अलिशान सराफुलाई राष्ट्रिय टोलीबाट निकालेर यु-१९ को कप्तानीको जिम्मेवारी दिएको छ।
त्यसबाट यूएईले यु-१९ विश्वकप छनोटलाई निकै महत्त्व दिएको देखाउँछ।
नेपाल र यूएई दुवैको अहिले समान ८-८ अङ्क छ।
नेपाली टोलीको प्रदर्शनमा ब्याटरहरू कप्तान देव खनाल, आकाश त्रिपाठी, विशालविक्रम केसी, अर्जुन कुमालमा निर्भर हुनेछ। खनाल र कुमालले कुवेतविरुद्ध शतक प्रहार गरेका थिए।
त्यस्तै बलिङमा आकाश चन्द, हेमन्त धामीमा निर्भर हुनेछ।
यूएईलाई घरेलु मैदानको साथ छ, तर यूएईकै अर्को मैदानमा नेपालको सिनियर टोलीले उत्कृष्ट प्रदर्शन गरि रहँदाको मानसिक फाइदा नेपाल युवा खेलाडीहरूलाई पक्कै हुने ठानिएको छ।








