युक्रेन-रुस युद्ध: इस्तानबुलमा पुटिनलाई भेट्न तयार भएको जेलेन्स्कीको भनाइ

तस्बिर स्रोत, EPA
- Author, एलेक्स क्लाइडरम्यान
- Role, बीबीसी न्यूज
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपतिले टर्कीको सहर इस्तानबुलमा वार्ताका लागि गरेको प्रस्तावप्रति टिप्पणी गरेका छन्।
उनले आफू त्यहाँ रुसी राष्ट्रपतिसँग भेट्न तयार भएको बताएका छन्।
रुसी राष्ट्रपति पुटिनले उक्त टर्किश सहरमा यही बिहीवार रुस-युक्रेन वार्ता गर्न आह्वान गरेका थिए – तर उनले उक्त वार्तामा आफैँ सहभागी हुने भनेका थिएनन्।
ट्रम्पले के भनेका थिए?
जेलेन्स्कीको पछिल्लो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई दुई देशबीच टर्कीमा प्रत्यक्ष वार्ताबारे पुटिनको आह्वान स्वीकार्न भनेपछि आएको हो।
"ज्यान जाने क्रम लम्ब्याइरहनुको कुनै अर्थ छैन। म बिहीवार (टर्कीमा) पुटिनलाई प्रतीक्षा गर्नेछु," जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
यसअघि पश्चिमा देशहरूले सोमवारदेखि नै लागु हुने गरी ३०-दिने युद्धविराम गर्न आह्वान गरेका थिए। शनिवार किएभमा भेला भएका 'इच्छुकहरूको गठबन्धन'को अगुवाइ गरिरहेका युरोपेली नेताहरूले उक्त आह्वान गरेका थिए।
लगत्तै पुटिनले दुई देशबीच प्रत्यक्ष वार्ताको आह्वान गरे।
त्यसपछि आइतवार ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै युक्रेनले पुटिनको आह्वानलाई तत्काल स्वीकार्नु पर्ने सुझाव दिए।
"कम्तीमा उनीहरूले सम्झौता हुन सक्छ कि सक्दैन भनेर निर्क्योल गर्न सक्ने छन्। यदि सम्झौता हुन नसक्ने हो भने युरोपेली नेताहरू अनि अमेरिकालाई पनि विषयवस्तु कहाँ छन् भन्ने स्पष्ट हुन्छ र त्यसैअनुसार अघि बढ्न सक्छन्," उनले लेखेका थिए। "वार्ता अहिले नै गरिहाल!"
युद्धविरामको आश
जेलेन्स्कीले वार्ता अगावै रुसले युद्धविरामबारे सहमति जनाउने आशा व्यक्त गरेका छन्।
"हामी पूर्ण र दिगो युद्धविराम चाहन्छौँ, भोलिदेखि नै लागु हुने गरी ताकि कूटनीतिलाई आवश्यक आधार मिलोस्," जेलेन्स्कीले भने।
शनिवार राति अबेर सम्बोधन गर्दै पुटिनले युक्रेनलाई युद्धबारे गम्भीर विमर्श गर्न निम्तो दिएका थिए।
पुटिनले ३०-दिने युद्धविरामका लागि गरिएको आह्वानको सोझो सम्बोधन त गरेनन् तर उनले त्यस्तो वार्ताबाट रुस र युक्रेनबीच 'नयाँ युद्धविराम'मा सहमति हुने सम्भावना 'नकार्न नसकिने' बताए।

तस्बिर स्रोत, EPA
पुटिनले उक्त वार्ता दिगो शान्तिका तर्फ पहिलो कदम हुने बताए।
विगतमा मस्कोले पश्चिमा जगतले पहिले युक्रेनलाई सैन्य सहयोग दिन रोकेपछि आफूले युद्धविरामबारे सोच्न सक्ने बताएको थियो।
शनिवार युक्रेनी राष्ट्रपतिले किएभमा यूकेका प्रधानमन्त्री सर किअर स्टार्मर, फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ, जर्मनीका चान्सलर फ्रेडरिक मर्च र पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टुस्कसँग वार्ता गरेका थिए। त्यसपछि ती नेताहरूले अमेरिकी राष्ट्रपतिसँग आफ्ना योजनाबारे कुरा गरेका थिए।
प्रधानमन्त्री सर किअरले बीबीसीसँग कुरा गर्दै तत्काल युद्धविरामको उनीहरूले गरेको माग पूरा हुनै पर्ने बारे ट्रम्पले सहमति जनाएको बताएका थिए।
युरोपेली नेताहरूले 'जल, थल र आकाश'मा निशर्त ३० दिने युद्धविरामप्रति पुटिन असहमत भए रुसी ऊर्जा तथा ब्याङ्किङ क्षेत्रमा 'नयाँ र थप' आर्थिक प्रतिबन्धहरू लगाइदिने चेतावनी दिएका थिए।
रुसले सन् २०२२ मा युक्रेन अतिक्रमण गरेको हो।
युद्ध सुरु भए लगत्तै मार्च २०२२मा इस्तानबुलमा रुस र युक्रेनबीच प्रत्यक्ष वार्ता भएको थियो।
तीन वर्ष बित्दै गर्दा दुवै पक्षले वार्ता फेरि थाल्न सैद्धान्तिक रूपमा सहमति जनाएका छन्।
तर वार्ता हुनु र सम्झौता हुनु दुई नितान्त फरक कुरा हुन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








