पुटिनले तीन दिन एकतर्फी युद्धविराम गर्नुको उद्देश्य

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, यसअघि ईस्टरका बेला गरिएको छोटो युद्धविरामका समयमा सर्तहरू उल्लङ्घन गरिएको आरोप दुवै पक्षले एकअर्कामाथि लगाएका थिए
    • Author, स्टीभ रोजन्बर्ग
    • Role, रुस सम्पादक

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मे ८ बाट १० सम्म तीनदिने युद्धविराम घोषणा गरेका छन्।

दोस्रो विश्वयुद्ध अन्त्य भएको ८०औँ वार्षिकोत्सवको संयोग पारेर पुटिनले ७२ घण्टासम्म सबै खालका सैन्य कारबाही रोक्ने बताएका छन्। मस्कोले "मानवीय" कारणले युद्धविराम घोषणा गरिएको जनाउँदै युक्रेनले पनि त्यसलाई मान्ने अपेक्षा गरिएको बताएको छ।

छोटो समयका युद्धविराम गर्नु क्रेम्लिनको पुरानै रणनीति हो। यसअघि पनि मानवीय कारण देखाउँदै पुटिनले ईस्टर पर्वका बेला ३०-घण्टे युद्धविराम घोषणा गरेका थिए।

अहिलेको युद्धविराम घोषणाबारे युक्रेनले तत्कालै युद्धविराम किन नगरेको भन्दै प्रश्न उठाएको छ। किएभले युद्धविराम तत्कालैबाट सुरु हुनुपर्ने र कम्तीमा ३० दिनका लागि गरिनुपर्ने सर्त अघि सारेको छ।

"यदि रुस साँच्चै शान्ति चाहन्छ भने उसले तत्कालै युद्धविराम गर्नुपर्छ," विदेशमन्त्री एन्ड्री सिबिअले भने। "मे ८ सम्म किन पर्खने?"

तीन वर्षअघि युक्रेनमा पूर्ण स्तरको हमला गरेका रुसी राष्ट्रपतिका तर्फबाट लडाइँ रोक्नका लागि के यो इमानदार प्रयत्न हो त?

कि उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रभावित पार्न लोकाचार मात्रै पारेका हुन्?

क्रेम्लिनका आलोचकहरूले पुटिनको कदम ट्रम्पसँग सम्बन्ध सुधार्ने प्रयास भएको आशङ्का गरेका छन्।

किनभने यसअघि ईस्टरका बेला गरिएको भनिएको युद्धविरामका समयमा पनि रुसी फौजले त्यसको उल्लङ्घन गरेको आरोप युक्रेनले लगाएको थियो।

त्यस बेला मस्कोले ३० घण्टा लडाइँ रोक्ने घोषणा गरेर ह्वाइट हाउसका लागि रुस शान्तिको पक्षधर र किएभ युद्धको पक्षधर भएको सन्देश दिन खोजेको थियो। मस्कोले अघि सारेको मेलमिलापको प्रस्ताव बेवास्ता गरेर युद्ध लम्ब्याउन खोजेको आरोप उसले युक्रेनमाथि लगायो।

तर ट्रम्पका पछिल्ला टिप्पणीहरूले अमेरिकी राष्ट्रपतिले त्यो कुरा नपत्याएको देखाउँछन्।

इटलीमा ट्रम्प र जेलेन्स्की

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ट्रम्प र जेलेन्स्कीबीच गत सप्ताहान्तमा इटलीमा गोप्य बैठक भएको थियो

गत सप्ताहान्तमा ट्रम्पले सामाजिक सञ्जाल 'ट्रूथ'मा गरेको पोस्टमा पुटिनले "गैरसैनिक क्षेत्र, सहर र बजारमा क्षेप्यास्त्र प्रहार गर्नुको कुनै कारण नभएको" बताएका थिए।

"यसले मलाई के लाग्छ भने," उनले भनेका थिए "उनी युद्ध रोक्न चाहँदैनन्, उनीसँग अब फरक तरिकाले कुरा गर्नुपर्छ। 'ब्याङ्किङ' वा अरू प्रतिबन्धबाट? धेरै मानिसहरू मरिरहेका छन्!!!"

अघिल्लो पटक ईस्टरको भन्दा यो युद्धविराम तुलनात्मक रूपमा लामो भएको छ।

यो पनि क्रेम्लिनको उद्देश्य राम्रो भएको देखाउने प्रयास मात्रै हुन सक्छ।

एप्रिल २४ मा रुसले ड्रोन आक्रमण गरेपछि भएको विस्फोटनको दृश्य

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एप्रिल २४ मा रुसले ड्रोन आक्रमण गरेपछि भएको विस्फोटनको दृश्य

यदि त्यसो हो भने त्यसले यो पटक काम नगर्न सक्छ। गरे पनि तत्कालै नगर्न सक्छ। ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलाइन लेभिटले अमेरिकी राष्ट्रपतिले "स्थायी युद्धविराम र रक्तपातको अन्त्य" चाहेको बताइन्।

"दुवै देशका नेताहरूसँग उनी निराश भएका छन्," लेभिटले भनिन्।

पछिल्लो महिना आफ्ना सार्वजनिक आलोचना जेलेन्स्कीप्रति लक्षित गरेका अमेरिकी राष्ट्रपतिले अहिले क्रेम्लिनप्रति आफ्नो धैर्य गुमाउँदै गएको सङ्केत देखिन्छ।

गत महिना ट्रम्प प्रशासनले रुस र युक्रेन दुवैलाई ३०-दिने युद्धविरामका लागि दबाव दिएको थियो। त्यसमा युक्रेनले सहमति जनाए पनि रुसले मानेको थिएन।

रुसका वरिष्ठ अधिकारीहरू आफ्नो तीनदिने युद्धविरामको घोषणाको प्रसङ्गमा युक्रेनलाई नराम्रो देखाउन प्रयत्नमा छन्।

"जेलेन्स्कीले हाम्रा राष्ट्रपतिको निर्णयलाई समर्थन गरेर युद्धविराम गर्नेमा आशङ्का छ," रुसी संसद्को तल्लो सदनका सभामुख भ्याचेस्लाभ भोलोदिनले रुसी सरकारी टेलिभिजनलाई भनेका छन्।

पुनः सङ्क्षिप्त युद्धविरामको घोषणा भए पछि यसलाई यति चाँडै त्यति उत्साहप्रद सङ्केत मान्न सकिँदैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।