युद्धविरामबारे 'छिटो निर्णय लिन' ट्रम्पले रुसलाई आह्वान गरिरहँदा पुटिनसँग उनका विशेषदूतको भेटवार्ता

तस्बिर स्रोत, Reuters
- Author, डियरबेल जोर्डन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेषदूत स्टीभ विट्कफले शुक्रवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सेन्ट पिटर्सबर्गमा भेटेका छन्। ट्रम्पले युक्रेनमा युद्धविरामबारे "छिटो निर्णय लिन" रुसी राष्ट्रपतिलाई आह्वान गरिरहँदा विट्कफले पुटिनलाई भेटेका हुन्।
क्रेम्लिनले उक्त भेट चार घण्टाभन्दा लामो भएको र "युक्रेनी समाधानका पक्षहरू"मा केन्द्रित रहेको जनाएको छ।
पुटिनसँग विट्कफले गरेको यो वर्षको यो तेस्रो वार्ता हो र यसलाई विशेषदूत किरिल दिमित्रीभले "फलदायी" भनेर व्याख्या गरेका छन्।
वार्ताको अहिलेको गतिलाई लिएर ट्रम्पले पुटिनसँग निराशा व्यक्त गरेका छन्।
शुक्रवार उनले सामाजिक सञ्जालमा लेखे, "रुसले अगाडि बढ्नु पर्छ। एउटा भयानक र अर्थहीन युद्धमा सातामै हजारौँ मानिसहरूको ज्यान गइरहेको छ।"
युक्रेनका लागि ट्रम्पका दूत किथ केलगले देश विभाजन हुन सक्ने कुरालाई अस्वीकार गरेपछि उनको यो स्टेटस आएको हो।
द टाइम्स पत्रिकासँगको अन्तर्वार्ताका क्रममा केलगले ब्रिटिश र फ्रान्सेली फौज युक्रेनको पश्चिमी क्षेत्रस्थित नियन्त्रित इलाकाहरूमा रहने सक्ने प्रस्ताव गरेका थिए। उनले त्यस क्षेत्रमा "विश्वास दिलाउने शक्ति"का रूपमा त्यस्ता फौझहरू राख्न सकिने प्रस्ताव गरेका हुन्।
त्यो शक्तिले युक्रेनमा युद्धविराम र देशको दीर्घकालीन आत्मविश्वास बढाउन मद्दत गर्ने ठानिएको छ र त्यसबारे चर्चा भइरहेको छ।
उनले रुसी सेनालाई कब्जा गरिएका युक्रेनका पूर्वी भागमा रहनसक्ने प्रस्ताव पनि गरेको बताइएको छ।
"यसलाई तपाईंले दोस्रो विश्वयुद्धपछि बर्लिनमा भएको जस्तो गर्न पनि सक्नुहुन्छ", उनको भनाइ उद्धृत गर्दै टाइम्स पत्रिकाले लेखेको छ।
केलगले पछि सामाजिक सञ्जालमा आफूले भनेको कुरालाई "गलत रूपमा प्रस्तुत" गरिएको भन्दै त्यसको खण्डन गरेका छन्।
"म युक्रेनको सार्वभौमिकताको समर्थनमा युद्धविरामपछिको अवस्थाबारे कुरा गरिरहेको थिएँ," उनले एक्समा लेखेका छन्, "म युक्रेनको विभाजन गर्ने कुरा गरिरहेको थिइनँ।"
ती टिप्पणीहरूमा न त ह्वाइट हाउस न त किएभले तत्कालै नै प्रतिक्रिया जनाए। बीबीसीले टाइम्स पत्रिकासँग यसबारे प्रतिक्रिया मागेको छ।
यसअघि शुक्रवार युरोपेली राष्ट्रहरूले किएभलाई सैन्य सहायताका लागि २१ अर्ब यूरो दिने सहमति गरेका थिए।
कार्यक्रममा युरोपका रक्षामन्त्रीहरूले युद्ध अन्त्यको कुनै सङ्केत आफूहरूले नदेखेको बताए।
पुटिन-विट्कफ वार्ताअघि, क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले "सम्बन्ध सामान्यीकरणको प्रक्रिया जारी रहेकोले" "समाधानको अपेक्षा गर्नु आवश्यक छैन" भनेका छन्।
पुटिन र ट्रम्पको भेटघाटको मिति तय गर्ने विषयमा छलफल हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा पेस्कोभले भने, "हेरौँ। विट्कफले के प्रस्ताव लिएर आएका छन् भन्नेमा भर पर्छ।"
यसअघि, विट्कफले सेन्ट पिटर्सबर्गको ग्र्यान्ड होटल युरोपमा दिमित्रीभसँग भेटघाट गरेका थिए जहाँ स्टेनलेस स्टील र रुसी बजारबारे सम्मेलन गरिएको थियो।
रुसको सार्वभौम सम्पत्ति कोषका प्रमुख ४९ वर्षीय दिमित्रीभले गत साता वासिङ्टनको भ्रमण गरेका थिए।
सन् २०२२ मा युक्रेनमा भएको पूर्णस्तरको आक्रमणपछि अमेरिका जाने उनी सबैभन्दा वरिष्ठ रुसी अधिकारी हुन्।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रवार आफ्नो गृहनगर क्रिभी रिमा एप्रिल ४ मा रुसले गरेको क्षेप्यास्त्र आक्रमणस्थलको भ्रमणको क्रममा क्रेम्लिनमाथि युद्ध लम्ब्याएको आरोप लगाए। आक्रमणमा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको थियो।
उनले सयौँको सङ्ख्यामा चिनियाँ नागरिकहरू रुसी सेनासँग लडिरहेको आरोप पनि लगाए। युक्रेनले दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको बताएपछि यो कुरा बाहिरिएको हो।
"कम्तीमा सयौँ चिनियाँ नागरिकहरू रुसको तर्फबाट लडिरहेका छन् भन्ने हामीलाई जानकारी छ," जेलेन्स्कीले भने।
"यसको अर्थ रुसले चिनियाँहरूको जीवन प्रयोग गरेर पनि युद्धलाई लम्ब्याउन खोजिरहेको स्पष्ट छ।"
जेलेन्स्कीले नौ र सात वर्षका बालबालिकाको तस्बिर अगाडि फूल चढाए।

तस्बिर स्रोत, Ukrainian presidency
उनले पछि "जीवन र सहर बचाउन" हवाई रक्षा प्रणालीका लागि यसअघि गरेको आह्वान दोहोर्याए।
"हामीले राष्ट्रपति ट्रम्पसँग यसबारे छलफल गर्यौँ। युक्रेनले केवल मागिरहेको छैन र हामी यी थप प्रणालीहरू किन्न तयार छौँ," उनले सामाजिक सञ्जालमा लेखे।
"रुस जस्तो छिमेकी भएपछि जीवन बचाउनका लागि शक्तिशाली हतियारहरूमा मात्रै साँच्चै भर पर्न सकिन्छ।"
ट्रम्पले पहिला नै युक्रेन-रुस द्वन्द्व "२४ घण्टामा" अन्त्य गर्न सक्ने दाबी गरिसकेका छन्।
शुक्रवार उनले सन् २०२२ मा रुसले पूर्ण-स्तरको आक्रमण सुरु गर्दा यदि आफू ह्वाइट हाउसमा भएको भए यो घटना नै नहुने घोषणा गरे।
"यस्तो युद्ध कहिल्यै हुनै पर्दैनथ्यो र यदि म राष्ट्रपति भएको भए हुने पनि थिएन!!!," उनले लेखेका छन्।
उक्त आक्रमणयता रुसी र अमेरिकी अधिकारीहरूले गत फेब्रुअरीमा साउदी अरेबियामा पहिलो पटक प्रत्यक्ष वार्ता गरेका थिए। अधिकारीहरूले पूर्ण कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने बारेमा छलफल गर्न भेटघाट गर्दै आएका छन्।
अमेरिकी राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल सुरु भएदेखि नै ट्रम्पको पनि जेलेन्स्कीसँग सम्बन्ध चिसो रहेको छ। गत फेब्रुअरीमा ओभल अफिस (अमेरिकी राष्ट्रपतिको कार्यकारी कार्यालय) मा दुई जनाबीच आक्रोशपूर्ण चर्काचर्की भएको थियो।
अमेरिकाले ब्ल्याक सीमा युक्रेन र रुसबीच सीमित युद्धविराम गराउने प्रयास गर्यो। तर क्रेम्लिनले आफ्नो छिमेकीमाथि पूर्ण आक्रमण सुरु गरेयता लगाइएका प्रतिबन्धहरू हटाउन आग्रह गर्दा यो युद्धविराम रोकियो।
त्यसबेला देखि नै ट्रम्पले किएभ र मस्कोबीच युद्धविराममा सहमति हुन नसकेकोमा पुटिनसँग आफू "एकदमै रिसाएको" र "क्रोधित" भएको बताएका छन्।
यो साताको सुरुमा वासिङ्टन र मस्को कैदी आदानप्रदानमा अगाडि बढेका छन्।
सन् २०२२ को फेब्रुअरीमा युद्ध सुरु हुँदा युक्रेनको परोपकारी संस्थालाई ५१ डलर दान गरेको आरोपमा रुसी-अमेरिकी नागरिक सेनिया करेलिनालाई रुसमा १२ वर्षको जेल सजाय सुनाइएको थियो।
लस एन्जलसकी बासिन्दा रहेकी करेलिनालाई बिहीवार बिहान रिहा गरियो र सन् २०२३ मा साइप्रसमा पक्राउ परेका जर्मन-रुसी दोहोरो नागरिकता भएका आर्थर पेट्रोभसँग साटासाट गरियो।
उनीमाथि सेनासँग काम गर्ने उत्पादकहरूका लागि रुसमा अवैध रूपमा माइक्रोइलेक्ट्रोनिक्स निर्यात गरेको आरोप लगाइएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








