अमेरिकामा सिख नेताको 'हत्या गर्ने षड्यन्त्र' मा भारतको संलग्नताको आरोपबारे मोदीले के भने

    • Author, शेरिलान मोलन
    • Role, बीबीसी न्यूज, मुम्बई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राज्य अमेरिकामा एक व्यक्तिको हत्या गर्ने योजनामा भारत संलग्न रहेको भन्ने आरोपसँग सम्बन्धित प्रमाण उपलब्ध गराइए भारतले "निश्चय पनि अनुसन्धान गर्ने" बताएका छन्।

गत महिना संयुक्त राज्य अमेरिकामा एक भारतीय नागरिकविरुद्ध न्यूयोर्कमा एक सिख पृथक्तावादी नेताको हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा मुद्दा दायर गरिएको थियो।

'फाइन्यान्शल टाइम्स' पत्रिकासँग कुरा गर्दै मोदीले उक्त आरोपका कारण भारत र अमेरिकाको सम्बन्ध नबिग्रिने बताएका छन्।

उक्त घटनाबारे मोदीले पहिलो पटक सार्वजनिक टिप्पणी गरेका हुन्।

"यदि हाम्रो नागरिकले राम्रो वा नराम्रो केही गरेको छ भने हामी त्यसबारे अनुसन्धान गर्न तयार छौँ। विधिको शासनप्रति हामी प्रतिबद्ध छौँ," मोदीले भने।

हत्या गर्ने उक्त योजनाको तारोमा गुरपतवन्त सिंह पन्नुन रहेको ठानिएको छ।

उनीसँग भारत अमेरिका र क्यानडा दुवै देशको नागरिकता छ।

पन्नुन पृथक्तावादी खालिस्तान आन्दोलनका मुखर समर्थक हुन्। उक्त अभियानले भारतमा सिखहरूका लागि छुट्टै राज्यको पक्षमा वकालत गर्छ।

अमेरिकी अभियोजनकर्ताहरूको दाबीअनुसार निखिल गुप्ता नामक भारतीय नागरिकले पन्नुनको हत्या गर्न एक व्यक्तिलाई एक लाख अमेरिकी डलर दिएका थिए।

निखिलले आफूलाई भारत सरकारका एक अधिकारीले पन्नुनको हत्या गराउन निर्देशन दिएको दाबी गरेका थिए।

भारत पन्नुनलाई आतङ्ककारी मान्छ। तर उनले आफूविरुद्ध लागेको आरोपको खण्डन गर्दै आफू केवल अभियानकर्मी भएको दाबी गर्दै आएका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले सिख पृथक्तावादी नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको सम्बन्ध भएको आरोप लगाएको झन्डै दुई महिनापछि अमेरिकामा अर्का सिख नेताको हत्याको योजनाबारे खुलासा भएको हो।

गत जुन १८ मा क्यानडास्थित एउटा सिख मन्दिरबाहिर निज्जरको गोली हानी हत्या भएको थियो।

भारतले क्यानडाले लगाएको आरोपको खण्डन गरेको थियो।

भारतको सुरक्षामा खतरा पुर्‍याउने "खालिस्तानी आतङ्ककारी र अतिवादीहरू" लाई बरु क्यानडाले आश्रय दिएको भन्दै नयाँदिल्लीले प्रत्यारोप लगाएको थियो।

ओटवाले आरोप पुष्टि गर्ने ठोस प्रमाण उपलब्ध नगराएको दिल्लीले दोहोर्‍याउने गरेको छ।

उक्त प्रकरणमा दुई देशबीच उत्पन्न कूटनीतिक विवादले भारत-क्यानडा सम्बन्ध चिसिएको छ।

अमेरिकामा पनि मुद्दा परेपछि क्यानडा के भन्छ?

सरकारी प्रसारक सीबीसीलाई अन्तर्वार्ता दिँदै क्यानडाका प्रधानमन्त्री ट्रूडोले हप्तौँ लामो मौन कूटनीतिपछि बल्ल आफूले सार्वजनिक रूपमा बोलेको बताएका छन्।

"भारतलाई रोक्ने" तथा क्यानडाभित्र थप आक्रमण गर्ने विचार गरिरहेका चरहरूलाई निरुत्साहित पार्ने आफ्नो उद्देश्य भएको उनले बताए।

उनका अनुसार अमेरिकाले पनि छुट्टै आरोप लगाएपछि भारतको बोलीमा परिवर्तन आएको देखिएको छ।

"क्यानडाविरुद्ध आक्रमणहरू गरेर मात्र यो समस्या निराकरण गर्न नसकिने ज्ञान सम्भवतः आएको हुनुपर्छ," उनले भने।

पश्चिमा देशहरूमा बसोबास गर्ने सिख पृथक्तावादीहरूले राख्ने गरेको खालिस्तानको मागप्रति भारत सरकारले कडा प्रतिक्रिया दिने गरेको छ।

खालिस्तान राज्यको माग

सन् १९८० को दशकमा पन्जाब राज्यमा पृथक्तावादी खालिस्तान आन्दोलन चर्किएको थियो।

त्यस बेला धेरै हिंसात्मक गतिविधि भएको थियो र कैयौँ व्यक्तिको ज्यान पनि गएको थियो।

सरकारले बल प्रयोग गरेर उक्त आन्दोलन दमन गरेको थियो। सिखहरूका लागि छुट्टै राज्य माग गरिने आन्दोलनलाई भारतमा प्रतिबन्ध लगाइएको छ।

अहिले भारतमा त्यसबारे उठ्ने स्वर सानो छ। तर क्यानडा, अस्ट्रेलिया र यूकेमा बस्ने सिख समुदायका मानिसमाझ खालिस्तानको विषय निकै लोकप्रिय छ।

भारत-अमेरिका सम्बन्ध कस्तो होला

सिख पृथक्तावादीहरूको गैरन्यायिक हत्याका ताजा आरोपका कारण भारत र अमेरिकाको सम्बन्ध बिग्रिन सक्ने आशङ्का केही विज्ञहरूले गरेका छन्।

यद्यपि मोदीले फाइन्यान्शल टाइम्सलाई सम्बन्ध अझ "उँभो लाग्नेमा" आफू ढुक्क भएको बताएका छन्।

"यो सम्बन्धलाई सुदृढ बनाउन बलियो द्विपक्षीय सहयोग छ। त्यो परिपक्व र स्थिर सहकार्यको स्पष्ट सङ्केत हो," उनले भने।

"केही घटनालाई दुई देशको कूटनीतिक सम्बन्धसँग जोड्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन," मोदीले भने।

मोदीले "विदेशमा रहेका केही अतिवादि समूहका गतिविधि" बारे भारत चिन्तित रहेको पनि उनले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।