तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पहिचानवादीको निसानामा फेरि केपी ओली, इलाममा 'जुहारी'
इलामको उपचुनावमा पराजित भए पनि पहिचान पक्षधरहरूले आफूले पाएको मत उत्साहजनक रहेको प्रतिक्रिया जनाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गरेका छन्।
प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको तर्फबाट ९ वटा सङ्गठनले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओली आक्रोशको निसानामा परे।
इलाममा विजेता बनेको एमालेको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बन्दा पहिचान पक्षीय उम्मेदवारले तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो।
‘पहिचान विरोधी दलहरूको अघोषित सेटिङले गर्दा अपेक्षित परिणाम हासिल गर्न नसकेको’ उनीहरूको टिप्पणी छ।
“मुद्दाले हारेको छैन, हामीले हारेका छैनौँ, जनताले हारेका छैनन्,” पहिचान सहितको प्रदेश १ पुनः नामाङ्कन अभियान समितिका महासचिव रामभक्त कुरुम्बाङले भने, “प्राविधिक रूपमा हराइएको मात्रै हो, हामीले पाएको मत हेर्ने हो भने गणितीय रूपमा उहाँहरूले जिते पनि नैतिक रूपमा हामीले जितेका छौँ।”
पहिचानबारे ओलीले के भने?
उनीहरूले अध्यक्ष ओलीले आफूहरूको पहिचानको मागको गलत व्याख्या गरेको आरोप लगाए।
प्रदेशको नाम पहिचानको विषय नभएको बताउँदै ओलीले मङ्गलवार इलाममा भनेका थिए, “कुनै जाति विशेषको, कुनै व्यक्ति विशेषको, कुनै थर विशेषको आदिको पहिचानको कुरा होइन प्रदेशको नाम।”
उनले नेपाली नै सबैको साझा पहिचान भएको बताए।
“हामी धनी भयौँ भने धनी नेपाली, गरिब भयौँ भने दुनियाँले हेप्ने गरिब नेपाली, त्यही हो पहिचान। राम्रो पढ्न-लेख्न पायौँ भने विद्वान नेपाली, पढ्न पाएनौँ भने निरक्षर बुद्धु नेपाली कसले टेर्छ?” ओलीको भनाइ थियो, “त्यसैले साझा नाम राख्दा केही पनि बिग्रिँदैन, सातै वटा रङ्गका रङ्गिन सुन्दर इन्द्रेणी हौँ हामी, त्यसबाट एउटा रङ्ग अलग भयो भने त्यस्तो सुन्दर देखिँदैन जस्तो सप्तरङ्गी इन्द्रेणी देखिन्छ।”
तर किराँत राई यायोख्खा केन्द्रीय उपमहासचिव कृष्ण कुमार राईले उनको भनाइको प्रतिवाद गरे।
‘ओली महान् पहिचानवादी’
आफूहरूले एउटा जाति, एउटा भाषा, एउटा धर्म र एउटा संस्कृतिको पहिचान नखोजेको बताउँदै उनले पनि आफूहरूले सप्तरङ्गी इन्द्रेणी समाज र साझा फूलबारीको परिकल्पना गरेको बताए।
“सबै जातिहरू उत्तिकै फल्न र फुल्न पाउनुपर्छ, साँच्चैको सप्तरङ्गी इन्द्रेणी समाज आर्थिक र सांस्कृतिक समृद्धि सहितको हुनुपर्छ, हाम्रो भनाइ यत्ति मात्रै हो,” उनले भने।
आफूहरूलाई अतिवादी र जातिवादी भनेर आरोप लगाइएको र त्यसमा सत्यता नभएको उनको भनाइ थियो।
प्रदेश पुनः नामाङ्कन अभियान समितिका महासचिव रामभक्त कुरुम्बाङले त ओली पनि ‘महान् पहिचानवादी’ भएको बताए।
“तर के मात्रै फरक हो भने, उहाँ आफ्नो एकल पहिचानप्रति यति अडिग हुनुहुन्छ कि राज्यका सारा शक्ति र स्रोत दुरुपयोग गरेर आफ्नो पहिचान बचाउन लाग्नु भएको छ,” उनले भने, “त्यसैले हाम्रो भाषामा भन्दा उहाँ एकल पहिचानवादी हो।”
तीन वटै प्रमुख दलको सहमतिका आधारमा कोशी नाम राखिएको थियो।
आन्दोलन चर्किएपछि नेकपा माओवादी केन्द्रले आफ्नो निर्णय गलत भएको बताउँदै पहिचानको पक्षमा रहेको जनाएको थियो।
तर उपचुनावमा एमालेलाई साथ दिएर उसले आफ्नो चरित्र प्रस्ट पारेको पहिचान पक्षधरहरूले टिप्पणी गरेका छन्।
मतपेटिकाबाट आन्दोलनको आधार
कोशी प्रदेशको नाम परिवर्तन गराउन उनीहरू एक वर्षअघिदेखि आन्दोलनमा छन्।
त्यस क्रममा उनीहरूको मुख्य आक्रोशको निसानामा एमाले र त्यसका अध्यक्ष ओली परेका थिए।
त्यस्तो आन्दोलन भएको प्रदेशको एक उपचुनावमा एमालेले जितेको छ।
तर सोही उपचुनावमा ‘अपार माया र समर्थनका साथ अमूल्य मत दिएर शासकीय एकल गोत्रीय कोशी नामाङ्कन जनताले बहिष्कार गरेको पुष्टि गरेको’ उनीहरूको दाबी छ।
“हामीले प्राप्त गरेको जनमतले पहिचान र अधिकार प्राप्तिको आन्दोलनलाई सामूहिक राजनीतिक पुँजीमा रूपान्तरण गर्न गराउन उत्प्रेरित गरेको छ,” उनीहरूले वक्तव्यमा भनेका छन्।
मतदानबाट जनताले ‘पहिचानको राजनीतिको सुनौलो दिशातर्फ अगाडि बढ्ने अभिमत व्यक्त गरेको’ दाबी गर्दै महासचिव रामभक्त कुरुम्बाङले भने, “अब सशक्त रूपमा आन्दोलन अघि बढाउने छौँ।”
पत्रकार सम्मेलनमा उनीहरूले आन्दोलनको मितिबारे केही खुलाएनन्।
तर आन्दोलन शान्तिपूर्ण हुनेमा उनीहरूले जोड दिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।