फिफा विश्वकप २०२६: फाइनल पुग्ने लक्ष्य पछ्याउनेहरूको आश्चर्यजनक सफलताका कथाहरू

तस्बिर स्रोत, AFP via Getty Images
फिफा विश्वकपको समूह चरणको फाइनल ड्र वाशिङ्गटन डिसीमा डिसेम्बर ५ घोषणा भएको छ। तर त्यसमा विश्वको अधिकांश जनसङ्ख्याको प्रतिनिधित्व हुने छैन।
अमेरिका, क्यानडा र मेक्सिकोद्वारा आयोजित सबै खेलमा विश्वका सर्वाधिक जनसङ्ख्या भएका देशहरूमध्येका पाँच देशहरू भारत, चीन, इन्डोनेशिया, पाकिस्तान र नाइजेरिया सहभागी हुनबाट वञ्चित भएका छन्।
वास्तवमा, विश्वकप क्वालिफाइङको निम्ति २०९ देशहरूले प्रयास गरेका थिए। तीमध्ये केवल ६४ देशका निम्ति मात्र अझैँ पनि फाइनल खेलहरूसम्म पुग्ने अवसर छ। र, त्यो सङ्ख्या मार्चमा हुने प्ले-अफबाट जुन र जुलाईमा हुने प्रतियोगिताको निम्ति अन्तिम छनोट (लाइन-अप) निर्धारण हुँदा ४८ टिममा सीमित हुनेछ। त्यसो भए यदि तपाईँको देश विश्वकपमा प्रवेश नपाउँदा, तपाईँले कुन टिमलाई समर्थन गर्नु हुन्छ?
सारा संसारले एउटा अन्डरडग अर्थात् कमजोर प्रतिस्पर्धीलाई माया गर्छ – र अर्को अविश्वसनीय विरासतका पहिले छनौट भइसकेका टिमको स्तरीय चयनलाई– त्यसो भए किन यी साहसी टिममध्ये एकलाई प्रतियोगितामा तपाईँको टोलीको रूपमा छनोट नगर्ने?
देश सानो तर फुटबलमा फड्को

तस्बिर स्रोत, Getty Images
बासिन्दा १,५५,००० र क्षेत्रफल ४४४ वर्ग किलोमिटर भएको क्युरसो जनसङ्ख्या र भूभागका हिसाबले विश्वकपमा छनोट हुने सबैभन्दा सानो देश हो।
भेनेजुएलाको तटीय इलाकाबाट ६० किलोमिटर मात्र टाढा रहेको उक्त क्यारेबियन टापुका अधिकांश बासिन्दा फाइनल खेल हुने न्यू जर्सीको मेटलाइफ रङ्गशाला (क्षमता ८२,५००) मा अटाउन सक्छन्। क्युरसोका ७८ वर्षीय प्रशिक्षक डिक एडभोकाट अहिलेसम्मकै विश्वकपको फाइनलहरूमा सबैभन्दा पाको उमेरका प्रशिक्षक बन्नेछन्। उनी आठवटा विभिन्न देशको राष्ट्रिय प्रशिक्षक भइसकेका छन् तर उनले क्युरसोको छनोटलाई 'प्रशिक्षकका रूपमा आफूले कहिल्यै हासिल नगरेको सबैभन्दा पागलपन' भनेका छन्।
क्युरसो छनोट नहुँदासम्म छोटो अवधिको लागि, केप भर्ड विश्वकप छनोट हुने दोस्रो सबैभन्दा कम जनसङ्ख्या भएको देश थियो। पश्चिम अफ्रिकी तटको सानो एटलान्टिक द्वीपसमूहको केप भर्ड गत महिना एस्सवाटिनीलाई ३–० ले पराजित गर्दै पहिलो पटक छनोट भएको हो।
जितको अर्थ टोलीले आफ्नो क्वालिफाइङ समूहमा शीर्ष स्थान सुरक्षित गर्यो र २०२६ को प्रतियोगितामा महाद्वीपको शक्तिशाली क्यामरुनभन्दा माथिल्लो स्थान बनायो। हालैका वर्षहरूमा त्यहाँको राष्ट्रिय टोली फुटबलमा आफ्नो भाग्य सुधार गर्न 'डायस्पोराका' खेलाडीहरूमा बढी भर परेको छ।
आयरल्यान्डमा जन्मेका र खेल्ने रोबेर्टो "पिको" लोपेसले व्यावसायिक-नेटवर्किङ वेबसाइट लिङ्डइन् मार्फत आफ्नो पहिलो निम्तो पाए। "हामी संसारभरि छौँ। हामीसँगै हुँदा हामीले जे प्राप्त गर्न सक्छौँ त्यो ठूलो कुरा हो," उनले बीबीसीको डेस्टिनेसन न्यू जर्सी पोडकास्टलाई भने।
स्मरणीय डेब्यु

तस्बिर स्रोत, Getty Images
उज्बेकिस्तानको फुटबल क्लब बुन्योडकोरले सन् २००८ मा ब्रजिलका चर्चित अग्रपङ्क्ति खेलाडी रिभाल्डोसँग सम्झौता गर्ने घोषणा गर्नुका साथै सुपरस्टार जिकोले क्लब व्यवस्थापनको जिम्मा लिएपछि आफूलाई फुटबलको मानचित्रमा अङ्कित गर्यो।
दुबैजना छोटो समय मात्र जिम्मेवारीमा रहे तर देशमा फुटबलको विकास लामो समयसम्म रह्यो, उज्बेकिस्तानले एसियन कपमा लगातार राम्रो प्रदर्शन गरेको छ, सन् २०११ मा सेमिफाइनल र सन् २०२३ मा क्वार्टर फाइनलसम्म पुगेको छ।
यसअघिका सात पटक क्वालिफायरमा स्थान बनाउन असफल भएको उसले यस वर्ष पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको छ।
जसलाई इटालीका पूर्व सेन्टर-ब्याक र सन् २००६ को विश्व कप विजेता कप्तान फाबियो क्यानभारोले प्रशिक्षण दिने छन्।
जोर्डनका प्रशंसकहरूलाई जुन महिनामा राष्ट्रिय टोलीको ओमानमा ३-० को जितसँगै छनोट भएपछि थाहा छ कि उनीहरू पहिलो पटक फाइनलमा जाँदैछन्।
टिमका मोरक्केली प्रशिक्षक जमाल सेलामीले खेलाडीहरू र जोर्डन फुटबल सङ्घको वर्षौँदेखिको कडा परिश्रमको प्रशंसा गर्दै फाइनलमा भएको छनोट 'हामीमाथि विश्वास गर्ने सबैप्रति समर्पित' गरेका छन्। हालैका वर्षहरूमा उनीहरूको प्रगति उल्लेखनीय छ, सन् २०२३ को एसियन कपको फाइनलमा ऊ पुग्यो र आयोजक कतारसँग पराजित हुनुअघि सेमिफाइनलमा योर्गन क्लिन्सम्यानको दक्षिण कोरियालाई पराजित गर्यो।
प्रतिकूलतामाथि विजय

तस्बिर स्रोत, Getty Images
हेइटीका प्रशिक्षक ५२ वर्षीय फ्रान्सेली खेलाडी सिबास्टियाँ मिन्येले कहिल्यै त्यो देशको भ्रमण गरेका छैनन्। जारी द्वन्द्वले देशलाई सताइरहेका कारण १८ महिनाअघि नियुक्त भएयता उनले हेइटीमा पाइला टेक्न सकेका छैनन्।
हेइटीमा प्रत्येक वर्ष हजारौँको ज्यान लिइरहेको गिरोहसँग सम्बन्धित हिंसाका कारण लगभग १३ लाख मानिसहरू आन्तरिक रूपमा विस्थापित भएका छन्।
तर यसले सन् १९७४ यता पहिलो पटक देशलाई फाइनलमा पुर्याउन मिन्येलाई रोकेन।
उनीहरूले आफ्नो त्यो प्रदर्शनमा सुधार गर्ने आशा गर्नेछन्, जसले उनीहरूलाई समूह चरणका कुनै पनि खेलहरू जित्न असफल बनायो।
"मेरा खेलाडीहरू त्यस्तो देशका लागि उत्कृष्ट दूत हुने छन् जसलाई उनीहरूको सख्त आवश्यकता छ," मिन्येले समाचार एजेन्सी एएफपीसँग भने, "हेइटी सजिलो ठाउँ होइन, जहाँ मानिसहरू पीडित छन् र उत्सव मनाउने धेरै अवसरहरू छैनन्।"
आगमनमा ढिलाइ?

तस्बिर स्रोत, EPA
भयानक आन्तरिक द्वन्द्वको चपेटामा परेको अर्को देश प्रजातान्त्रिक गणतन्त्र कङ्गो पनि फाइनलमा पुग्न सक्छ।
खनिजको धनी देश ३० वर्षभन्दा बढी समयदेखि द्वन्द्वमा फसेको छ र दशकौँदेखिको लडाइँमा मृत्यु हुनेको सङ्ख्या दशौँ लाख भएको ठानिन्छ। यो एक राम्रो समाचारको सपना देखिरहेको देश हो र द लेपर्ड भनेर चिनिने राष्ट्रिय फुटबल टोलीले त्यो दिन सक्ने आशा गर्दछ।
मध्य अफ्रिकीहरूको यसै महिना महाद्वीपीय प्लेअफमा क्यामरुन र नाइजेरियालाई पराजित गर्दै सन् १९७४ पछि पहिलो पटक फाइनलमा पुग्न कङ्गो एक जित टाढा छ।
कङ्गोले आगामी मार्चमा मेक्सिकोमा हुने खेलमा जमैका वा न्यु क्यालेडोनियामध्ये कुनै एकको सामना गर्ने छ। कङ्गोका पूर्वकप्तान ग्याब्रियल जाकुआनीले बीबीसी स्पोर्ट अफ्रिकासँग भने, "यो राम्रो फाइनल ड्र हो, किनभने तालिकामा हामी बलियो टोली हौँ।"
इराक द्वन्द्व तथा साम्प्रदायिक कलहको हालसालैको इतिहास बोकेको अर्को देश जो प्ले-अफको माध्यमबाट फाइनलमा पुग्ने आशा गरेको अर्को टोली पनि हो।
थप समयको १७ औँ मिनेटमा नाटकीय पेनाल्टी प्रहारका साथ घरेलु मैदानमा संयुक्त अरब एमिरेट्स (युएई) माथि २–१ ले जित्दै टोली प्लेअफको निम्ति छनोट भएको थियो।
अबेर रातको नाटकीय परिणामले पिच र बासरा अन्तर्राष्ट्रिय रङ्गशालाको स्ट्यान्डमा हर्षोल्लासको दृश्यहरू निम्त्यायो-- विश्वकपमा इराकको एक मात्र उपस्थिति ३९ वर्ष पहिले मेक्सिकोमा समूह-चरणबाट भएको थियो।
न्यू क्यालेडोनिया पनि पहिलो पटक प्ले-अफमा प्रवेश गरेको छ जसको जनसङ्ख्या २,५०,००० मात्र छ। फाइनलमा छनोट हुन उसले जमैका र त्यसपछि कङ्गोलाई हराउनु पर्नेछ।
प्लेअफमा पुग्न उनीहरूले प्रशान्त टापुका टाहितीलाई नकआउट गर्नु परेको थियो। ४,००० किलोमिटर भन्दा बढी समुद्रले अलग गरेको, यो 'स्थानीय प्रतिद्वन्द्विता' खेलकुदमा सबैभन्दा दुर्गम प्रतियोगिता हो।
अन्त्यमा, सुरिनम सबैभन्दा तल्लो वरीयताको टोली हो जुन अझै पनि २०२६ खेलमा छनोट हुने सम्भावना जीवित छ। फिफाको वरियतामा १२३ औँ स्थानमा रहेको टोलीले बोलिभिया र माथि उल्लेखित इराकलाई उछिन्नु पर्छ।
सुरिनामका खेलाडीहरूले अन्तिम मिनेटमा गरेको गोलको उत्सव पनि मनाएनन् जसले उनीहरूलाई प्ले-अफमा पुर्यायो, किनकि सुरुमा यस्तो लाग्थ्यो कि अन्य परिणामहरूले उनीहरूलाई बाहिरै राख्नेछ।
तैपनि एक पूर्वडच उपनिवेश अनि धेरै विदेशी खेलाडीहरूमा निर्भर दक्षिण अमेरिकाको सबैभन्दा सानो उक्त देशले अझै पनि गौरवपूर्ण विश्वकप जित्ने अवसर पाउन सक्छ।
विश्वकप २०२६ अहिलेसम्मकै ठूलो पङ्तिकासाथ आफ्नो २२ पूर्ववर्ती प्रतियोगिताको तुलनामा धेरै फरक देखिने छ।
कैयौँ आलोचकहरू यसले अनमेल खेलहरू र कमजोर प्रतिस्पर्धा निम्त्याउन सक्ने बताउँछन्।
जबकि अरू कतिपयले सन् १९३० मा जम्मा १३ टोली सम्मिलित प्रथम प्रतियोगिताको दाँजोमा त्यसपछि बढ्दो खेलस्पर्धाले उत्पन्न गरेको शानदार फेरबदल र सनसनीपूर्ण नाटकीय पक्षतर्फ औँल्याउँछन्।
फिफाले प्रतियोगिताको आकार र महत्त्वाकाङ्क्षा विस्तार जारी राख्ने सम्भावना देखिन्छ। किन कि उसले पहिले नै सन् २०३० को फाइनलमा ६४ टोलीहरूले प्रतिस्पर्धा गर्ने प्रस्तावमा छलफल गरिसकेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








