उत्पादन कम भए पनि किसानले रैथाने जातका बिउ जोगाइराख्नुका कारण

तस्बिर स्रोत, Bimala Chaudhari
- Author, विमला चौधरी
- Reporting from, नेपालगञ्ज
रैथाने बिउ बिजन प्रयोग गरेर खेती गर्दै आएका बाँके र बर्दियाका किसानहरूले उत्पादन कम हुने भए पनि स्वास्थ्यवर्धक हुने भएकाले त्यस्ता बिउ बिजनको संरक्षण गर्ने गरेको बताएका छन्।
त्यस्ता उत्पादन स्वादिलो हुनुका साथै तिनमा प्रचुर पोषक तत्त्वसमेत पाइने उनीहरू बताउँछन्।
बाँकेको कोहलपुर नगरपालिका– २ मुक्ति नगरकी ६८ बर्सिया बसदैया थारुलाई बजारमा पाइने आकर्षक देखिने तरकारीको स्वाद मन पर्दैन।
उनले आफ्नो करेसाबारीमा रैथाने जातका तरकारी रोप्दै आएकी छन्।
उनी भन्छिन्, ''विकासे तरकारी मिठो हुँदैन, स्थानीय नै मिठो र रसिलो हुन्छ।"
धान, मकै तथा अन्य तरकारी पनि अहिलेसम्म रैथाने नै उपभोग गर्दै आएको बताउँदै उनी भन्छिन्, ''रैथाने जातका तरकारी खाएपछि रोग लाग्दैन भन्ने सुनेर सिमी, बोडी, लौका, भ्यान्टा, धनियाँ र लसुनका बिउ जोगाएर राखेकी छु।''
रैथाने जातका अन्न तथा तरकारी रासायनिक मल र विषादी प्रयोग नगरी उत्पादन गर्न सकिने सोही ठाउँका अर्का किसान चन्द्रबहादुर जीसी बताउँछन्।
कालिका ताजा तरकारी कृषक समूहका अध्यक्ष समेत रहेका जीसीले आफैँले उपभोग गर्ने भएकाले रैथाने जातकै अन्नबाली र तरकारी रोप्ने गरेको बताउँछन्।
उनी भन्छन्, 'मैले सधैँ रैथाने बिउ प्रयोग गर्ने गरेको छु, विदेशी वा हाइब्रिड कहिल्यै प्रयोग गर्दिनँ।''
घरैमा गाई भैँसी पाल्ने भएकाले गोबर मल प्रशस्त रहेको बताउने जीसीले खेतबारीमा रासायनिक मल र विषादी पनि प्रयोग नगर्ने गरेको बताए।
रैथाने बिउ जोगाउने तरिका

तस्बिर स्रोत, Bimala Chaudhari
अधिकांश किसानहरूले धेरै उत्पादनको लोभमा हाइब्रिड बिउ प्रयोग गर्ने गरेको पाइन्छ।
पहिले आफैँले उत्पादन गरेका बिउ प्रयोग गर्ने किसानहरू अहिले महँगो मूल्यमा 'एग्रोभेट'हरूबाट किन्न बाध्य छन्।
यद्यपि रैथाने बिउका तुलनामा बजारमा किनिएका बिउ प्रयोग गर्दा नउम्रने समस्या देखा पर्ने किसानहरूको अनुभव छ।
बाँकेको बैजनाथ गाउँपालिका –१ गाभरकी सुनकेशरी थारु अहिलेसम्म सबै थरीका रैथाने बिउ घरमै भण्डारण गर्दै आएको बताउँछिन्।
उनी भन्छिन्, ''एग्रोभेटबाट कुनै पनि बिउ ल्याउनु परेको छैन, लहरे तरकारीहरू तथा आलु, पिँडालु, धान, गहुँ, तोरी, मुसुरो आदिको बिउ घरमै छ।'' घरमै जोगाएर राखिएका बिउमा अहिलेसम्म नउम्रने समस्या नदेखिएको उनले बताइन्।
लौका, कुभिन्डो, फर्सी र काँक्राको बिउ गोबरमा मुछेर घरका भित्ता अथवा काठमा टाँसेर राख्दा वर्ष दिनसम्म किराबाट सुरक्षित राख्न सकिने उनको अनुभव छ। त्यसैगरी स्थानीय आलु (थारु आलु) र ठूलो घुइयाँको बिउ पनि परम्परागत रूपमा सुरक्षित तरिकाले भण्डारण गर्दै आएको सुनकेशरी बताउँछिन्।
''गत वर्ष थारु आलु र घुइयाँ परालको दुईवटा पोकाभित्र राखेर गोठमा झुन्ड्याइ दिएकी थिएँ। रोप्ने बेलासम्म बिउ सुरक्षित रह्यो र रोपेपछि मज्जाले उम्रियो।''
बिउ संरक्षण गर्दाका समस्या
कोहलपुर– २ आनन्द नगरका कृषक सुरेशकुमार चौधरी केही लहरे तरकारीसहित सुर्खेत लोकल तोरीको बिउ तीन पुस्तादेखि घरमै जोगाउँदै आएको बताउँछन्।
पहिले माटोको घर छँदा अँध्यारो कोठामा बिउ भण्डारण गर्ने गरिए पनि अहिले सिमेन्टका पक्की घर निर्माण भएकाले बिउ जोगाउन समस्या परेको उनले बताए।
"आजभोलि टिनका ड्रम र प्लास्टिकका डब्बाहरूमा बिउसँगै निमको पात राख्ने गर्छु। अहिले सम्म त्यसरी राखिएका बिउमा घुन वा किरा लागेको छैन," चौधरीले भने।
घरमै बिउ भण्डारण गर्ने बानीले बजारमा बेलाबखत देखिने बिउ अभावको समस्या टार्न सकिने उनी बताउँछन्।
बाँकेमा हाल रैथाने जातका धानमध्ये अनदी, कालानमक र नेपालमै विकास गरेर बनाइएका उन्नत जातका राधा चार तथा रामधान खेती हुँदै आएको देखिन्छ।
व्यावसायिक बन्दै रैथाने तरकारी खेती

तस्बिर स्रोत, Bimala Chaudhari
कतिपय किसानहरूका अनुसार आजकल उपभोक्ताहरू पनि विषादीरहित तरकारी खोज्दै किसानका घरसम्मै पुग्ने गरेका छन्।
बर्दिया मैना पोखरकी विष्णुमाया थारु केही वर्षदेखि व्यावसायिक रूपमै रैथाने तरकारी खेती गर्दै आएको बताउँछिन्।
उनले उत्पादन गरेका तरकारीमध्ये केही घरबाटै खपत हुने गरेको छ भने बाँकी नेपालगन्ज लगेर बिक्री गर्ने गरेको उनी बताउँछिन्।
नेपालगन्जको धम्बोझीस्थित सडक पेटीमा तरकारी बेच्दै गरेको भेटिएकी विष्णुमायाले आफूसँग लोकल सिमी, भ्यान्टा, कुभिण्डो, थारु आलु र पाकेको फर्सी भएको बताइन्।
उनले भनिन्, "तरकारी बेच्न थालेको करिब ८ वर्ष भयो, लोकल तरकारीवाली भनेर धेरै जना मसँग तरकारी किन्न आउँछन्।''
तीन कट्ठा जमिनमा मात्र तरकारी खेती गर्दै आएकाले रैथाने तरकारीको माग पुर्याउन नसकिरहेको विष्णुमाया बताउँछिन्।
उनीसँगै बाँके बैजनाथ र बर्दियाका थुप्रै महिला नेपालगन्जका सडक पेटीमा स्वयंले उत्पादन गरेका रैथाने तरकारी बिक्री गर्दै आएका देखिन्छन्।
रैथाने बिउ लोप हुँदै गए पनि कोहलपुर–२ मुक्ति नगरका चार सय घरधुरीमध्ये हाल ८० घरधुरीले कुनै न कुनै रैथाने जातका बिउ जोगाएर राखेको बताइन्छ।
रैथाने बिउ नजोगाएको खण्डमा उन्नत जातका बिउको पनि अभाव हुने स्थानीय किसान पुरमल बस्नेतको बुझाइ छ।
उनी भन्छन्, ''रैथाने बिउको अभावमा कुनै बिउ पनि जोगाउन सकिँदैन। जति उन्नत जातको बिउ विकास गरिए पनि त्यो रैथानेकै 'जीन' हो । उन्नत जातका बिउ विकास गर्नका निम्ति पनि सबै किसिमका रैथाने बिउ संरक्षण गर्नु अति आवश्यक छ।''
बस्नेतले रैथाने तरकारी र अन्नका बिउसँगै वर्षौँदेखि रैथाने प्रजातिका पुत्का मौरी, भमरालगायतका किरा प्रजातिको पनि संरक्षण गर्दै आएका छन्।
बदलिँदो मौसमका निम्ति उपयुक्त

तस्बिर स्रोत, Bimala Chaudhari
बदलिँदो मौसमका कारण नेपालका कतिपय स्थानमा राम्ररी पानी नपर्ने र कतै डुबान निम्तिने गरी पानी पर्ने लगायतका समस्याहरू देखिने गरेका छन्।
रैथाने बालीमा त्यस्ता परिस्थितिसँग जुध्न सक्ने गुण विद्यमान रहने राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र नेपालकी वरिष्ठ बिउ वैज्ञानिक दिपा सिंह श्रेष्ठ बताउँछिन्।
''नेपालजस्तो अनिश्चित मौसमी प्रभावसँग जुधिरहनुपर्ने देशका लागि स्थानीय जातका बिउ बिजनको प्रयोग एकमात्र प्रभावकारी समाधान हो,'' उनले भनिन्।
''रैथाने बालीहरू ठिकठिकैको हेरचाह तथा थोरै मलखाद पाउँदा पनि लहलहाउँदो हुनुका साथै कठोर वातावरणमा पनि पुरै मासिँदैनन् भने रोग र किराको प्रभाव पनि सहन सक्छन्। रैथाने उत्पादन पोषणयुक्त पनि हुन्छन्।''
पृथ्वीको तापक्रम दिनानुदिन बढ्दै गएको भनिएका बेला कतिपय बिउ बिजनले काम नगर्ने गरेको अध्ययनहरूले देखाएकाले कृषि प्रणाली सुधार गर्नका लागि रैथाने बिउ जोगाउनुपर्ने अवस्था आएको कतिपय विज्ञहरू सुझाउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








